टेरीद्वारा सन्न्यासको घोषणा

लन्डन, ९ असोज । इंग्ल्यान्डका भेट्रान फुटबलर जोन टेरीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । इंग्ल्यान्ड फुटबल संघले राष्ट्रिय टोलीमा आफूलाई अयोग्य देखेपछि सन्न्यासको निर्णय लिएको घरेलु क्लब चेल्सीका यी ३१ वर्षीय डिफेन्डरको भनाइ छ ।
रंगभेद गरेको आरोपमा पछिल्लो समय कारबाही प्रक्रिया सामना गरिरहेका टेरीले सोमबारदेखि आफ्नो व्यक्तिगत रक्षात्मक सुनुवाइ सुरु गर्ने बताइएको छ । उनलाई इंग्ल्यान्ड फुटबल टिमका पूर्वकप्तान रियो फर्डिनान्डका भाइ क्विन्सपार्क रेन्जर्स (क्युपिआर) का एन्टोन फर्डिनान्डलाई गत अक्टोबरमा खेलका क्रममा रंगभेद गरेको आरोप लगाइएको छ । ‘दुव्र्यवहार गर्ने शब्द वा आचरण नदेखाएको’ दाबीसहित टेरीले आफ्नो रक्षा गर्नेछन् । अदालतले टेरीलाई सफाइ दिइसकेको छ तर इंग्ल्यान्ड फुटबल संघको छानबिन समिति (प्यानल) ले भने उनले फर्डिनान्डविरुद्ध रंगभेदी व्यवहार गरेको भन्दै यस विषयमा टेरीलाई व्यक्तिगत सुनुवाइको अवसर दिएको थियो । अदालतले सफाइ दिए पनि फुटबलको आफ्नो दायरा हुने जिकिर गर्दै इंग्ल्यान्ड फुटबल संघले आफ्नो पनि कारबाही प्रक्रिया सुरु गरेको हो । आरोपका बीच उक्त फुटबल संघले राष्ट्रिय टिममा टेरीलाई कायम राखेको थियो ।
‘इंग्ल्यान्ड फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा मेरो स्थान अयोग्य बनाएको मैले महसुस गरेँ,’ विज्ञप्ति जारी गर्दै टेरीले भनेका छन्, ‘इंग्ल्यान्डलाई प्रतिनिधित्व गर्नु र कप्तान गर्नु मेरो बच्चा बेलाको सपना थियो र यी सबै सपना पूरा हुनु वास्तवमै मेरो ठूलो सम्मान हो भन्ने ठान्छु । मैले जहिले पनि आफूसँग भएको सबै दिएँ तर यतिबेला यो निर्णय गरिरहँदा मेरो मुटु टुक्रिएको छ । प्रशिक्षक रोयका साथ इंग्ल्यान्ड टिमले भविष्यमा सफलता हात पारोस् भन्ने मेरो कामना छ ।’
विवादका बीच अन्तर्राष्ट्रिय फुटबलबाट टाढिँदाटाढिँदै टेरीले आफूलाई वर्तमान स्थितिसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘मैले राष्ट्रिय टिमबाट ७८ पटक खेल्दा मलाई विश्वास गर्दै टोलीमा समावेश गर्ने सबै प्रशिक्षकहरूप्रति म आभारी छु । खेल्दा प्राप्त भएको सम्पूर्ण उपलब्धि र सम्मान साथीहरूसँगै साझेदार हुन पाउँदा निकै आनन्द महसुस भयो । मेरो अन्तर्राष्ट्रिय करियरमा सहयोग गर्ने अन्य सबै पक्ष, समर्थक, परिवारलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिन चाहन्छु,’ विज्ञप्तिमा लेखिएको छ ।
सन् २००३ मा सर्विया एन्ड मन्टेनेग्रोविरुद्ध डेब्यु गर्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका टेरीले पोल्यान्डविरुद्ध विश्वकप छनोटमा राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । उनी दुईपटक इंग्ल्यान्डको कप्तान भएका थिए । रंगभेदको विषयमा इंग्ल्यान्ड फुटबल संघले टेरीविरुद्ध उक्त निर्णय लिएपछि यसै वर्षको फेब्रुअरीमा तत्कालीन राष्ट्रिय प्रशिक्षक फाबिओ कापेलोले पदबाट राजीनामा दिएका थिए । अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए पनि उनी व्यावसायिक फुटबलमा भने कायम रहनेछन् । उनी हाल इंग्लिस क्लब चेल्सीको कप्तान छन् । ‘म अब चेल्सीका लागि मात्र केन्द्रित हुनेछु र घरेलु र युरोपियन उपलब्धिका लागि प्रयास गर्नेछु । क्लब फुटबलमा मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको अपेक्षा गर्छु ।’
यता इंग्ल्यान्ड फुटबल टिमका प्रशिक्षक रोय हडसनले टेरीको अन्तर्राष्ट्रिय सन्न्यास स्विकार्नुपर्ने स्थिति भएको तर त्यो निकै दु:खद् भएको बताएका छन् । ‘म इंग्ल्यान्ड टिमको प्रशिक्षक भएयता टेरीले टिमप्रति देखाएको प्रतिबद्धतामा म उनीप्रति निकै आभारी छु ।
फुटबल संघले जारी गरेको विज्ञप्तिमा हडसनको भनाइ छ, ‘तर यति लामो समय अन्तर्राष्ट्रिय फुटबल खेलेको र अपवादपूर्ण क्षमता भएको खेलाडीलाई गुमाउनुपर्दा मलाई निकै दु:ख लागेको छ,’ उनले टेरीसँगको सम्बन्ध निकै सुमधूर भएको पनि अनुभव बाँडे । ‘मेरो कार्यकालमा टेरीसँग सम्बन्ध जहिले पनि सुमधूर रहयो,’ हडसनले भनेका छन् । रंगभेदमा टेरी दोषी ठहरिए गत वर्ष लिभरपुलका लुइस सआरेजले जस्तै टेरीले पनि केही खेलको प्रतिबन्ध सजाय पाउन सक्ने बताइएको छ । यता चेल्सीका सहायक प्रशिक्षक रे विलकिन्सले आसन्न विश्वकपका लागि भइरहेको छनोटमा टेरीको अनुपस्थिति इंग्ल्यान्डका लागि ठूलो नोक्सानी हुन सक्ने विलकिन्सले बताएका छन् । एजेन्सी

प्रतिक्रिया