बहालवाला मन्त्रीले टाउकाको मोल तोके

पेसावर : पाकिस्तानका एक बहालवाला मन्त्रीले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको बेइज्जत गर्न फिल्म बनाउने व्यक्तिको टाउकाको मोल तोकेका छन् । पाकिस्तानी रेलमन्त्री गुलाम अहमद बिलोरले पेसावरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फिल्म बनाउनेको हत्या गर्नेलाई एक लाख डलर पुरस्कार दिने घोषणा गरेका हुन् । ‘यो पवित्र अभियानमा मेरो साथ दिन म तालिबान र अलकायदाका मेरा बन्दुहरूलाई आह्वान गर्दछु । राम्रो कामका लागि उनीहरूले सबैसँग हातेमालो गर्नुपर्छ । अल्लाहको कृपा पाएर त्यसको (फिल्म बनाउनेको) जसले हत्या गर्छ, उसलाई म एक लाख अमेरिकी डलर इनाम दिने घोषणा गर्छु ।’ फिल्मका निर्माताको खोजी गरी हत्या गर्न उनले अलकायदा र तालिबानलाई आह्वानसमेत गरेका छन् ।
‘इनोसेन्स अफ मुस्लिम्स’ फिल्ले धर्मगुरु मोहम्मदको मानमर्दन गरेको भन्दै मुसलमानबहुल राष्ट्रमा सुरु भएको अमेरिकाविरोधी प्रदर्शन अझै रोकिएको छैन । फिल्ममा इस्लामको चर्को आलोचना गर्नुका साथै मोहम्मदलाई जाली, स्त्रीलम्पट र बौलाहका रूपमा चित्रण गरिएको छ । अमेरिकाको चरमपन्थी क्रिस्चियनको एउटा समुदायले फिल्म निर्माण गरेको हो । अमेरिकी सरकारले फिल्मसँग अमेरिकी राज्यको कुनै सरोकार नरहेको बताए पनि यसले प्रदर्शनकारीलाई शान्त पार्न सकेको छैन । बहालवाला मन्त्रीले टाउकाको मोल तोकेको विषय विवादमा पर्ने देखेपछि पाकिस्तानी प्रधानमन्त्रीले रेलमन्त्रीको भनाइ नितान्त व्यक्तिगत रहेको बताएका छन् । प्रधानमन्त्रीका प्रवक्ताले आइतबार सञ्चारमाध्यमसमक्ष यस्तो बताएका हुन् ।
कडा मिजासका रेलमन्त्री बिलोर पाकिस्तानको पस्तुन आदिवासी समुदायका मानिस हुन् । उनको अवामी नेसनल पार्टीले उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शासन सम्हाल्दै आएको छ । अवामी नेसनल पार्टी सत्तारुढ पाकिस्तानी पिपल्स पार्टीको मुख्य साझेदार दल हो । फिल्मसम्बन्धी विवादकै कारण केही साताअघि आक्रोशित प्रदर्शनकारीले लिबियाको दोस्रो ठूलो सहर बेन्गाजीस्थित अमेरिकी कन्सुलेट कार्यालयमा आक्रमण गर्दा अमेरिकी राजदूतसहित अन्य तीन अमेरिकी कूटनीतिज्ञको मृत्यु भएको थियो । त्यसलगत्तै अरबभरि अमेरिकाविरोधी प्रदर्शन फैलिएको थियो । पाकिस्तान, यमन, इजिप्ट, बंगलादेश, मोरक्को, सिरिया, इराक, इरान, अफगानिस्तान, टर्की, पाकिस्तान, बहराइन, भारत प्रशासित कास्मिरलगायत स्थानमा अझै पनि अमेरिकाविरोधी प्रदर्शन रोकिएको छैन । (एजेन्सी)

प्रतिक्रिया