बुटवल, ८ असोज । गण्डकी नदीमा आएको बाढीले कटान तीव्र पारेपछि नवलपरासीका ६ गाविस डुबानको खतरामा परेका छन् । गण्डकी नदी धारै परिवर्तन गरी बस्तीतिर सोझिएपछि नर्सही, कुडिया, पक्लिहवा, गुठी प्रसौनी तथा वैदौली र सूर्यपुरा गाविसका सर्वसाधारण ५ दिनदेखि त्रस्त छन् ।
गण्डकी नदीमा आएको बाढीले नदीकिनारको एक सय ६३ मिटर क्षेत्रफलको बाँधमध्ये आधाभन्दा बढी कटान गरिसकेको छ । गत बुधबारदेखि नदीमा झन्डै तीन लाख क्युसेकभन्दा बढीको बहावमा पानी बगिरहेको छ । बाढीले किनारका दुईवटा स्पार (१० र ११ नम्बरका) बगाएको छ । नदीले कटान तीव्र बनाएपछि अब बस्ती र नदीबीचको दूरी करिब ५ मिटरभन्दा कम हँुदै गएको प्राविधिकहरूले बताएका छन् । आइतबारदेखि सयौँ गाउँले नदीकिनारमा भेला भएर कटान रोक्न प्रयास गरिरहेका छन् । कतिले नदीकिनारमा कटान रोक्न कामना गर्दै पूजाआजा गर्ने त कतिले बालुवा भरेका बोरा र किनारका कलिला रूख काटेर नदीको भेललाई रोक्ने पहल गरिरहेका छन् । उनीहरूको प्रयासमा नेपाली सेना, सशस्त्र प्रहरी, दंगा नियन्त्रण प्रहरी, नेपाल प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूले साथ दिइरहेका छन् ।
भारतले गण्डकी नदीको पानी दुईतिर ठूलाठूला बाँध बाँधेर भारतमा लगेको छ । त्यसका अलावा गण्डकी नदी नियन्त्रण र सम्भावित बाढीको क्षति रोक्न लामो बाँध निर्माण गरिएको छ । त्यो क्षेत्र नेपालसँग सिमाना जोडिएको भारतको उत्तरप्रदेशअन्तर्गत पर्छ । त्यही बाँधको अधिकांश क्षेत्रफल (बी ग्यापको ठोक्कर नं. ११ र १२) नदीमा हालै आएको बाढीले कटान गरिसकेको छ । अब बाँकी रहेको पाँच मिटर क्षेत्रफल पनि कटान भए नदी सिधै बस्तीतिरै सोझिन्छ । आपत्कालीन अवस्था घोषणा गरी नियन्त्रणको काम सुरु गरिएको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी गराए । उनले सम्झौताअनुसार नदीको कटान रोक्न भारतलाई तत्काल पहल गर्न आग्रह गरिएको बताए ।
जल उत्पन्न प्रकोप, स्थानीय प्रशासन, सुरक्षा अधिकारी, स्थानीय राजनीतिक दलका नेता–कार्यकर्ता आइतबार बिहानैदेखि घटनास्थलमा छन् । कतिपय गाउँले नदी बस्तीमै पस्ने डरले तीन दिनदेखि गाउँ छाडेका छन् । उनीहरूमध्ये नर्सही र कुडिया गाविसका केही बासिन्दाले लालाबाला र झिटीझाम्टासहित बस्ती छाडेका हुन् । नदी बस्तीमा पस्ने डर र त्रासले स्थानीयहरू नदीकिनारमा जुटेर हारगुहार गर्न लागेका हुन् । सरकारले आपत्कालीन अवस्थामै उद्धार र प्रकोप नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको गाउँलेहरूको गुनासो छ । गाउँलेहरूले नदीले कटान तीव्र पार्दा पनि सम्बन्धित निकायले उद्धारको कुनै पनि प्रभावकारी कदम नचालेको भन्दै आक्रोश पोखेका छन् । नदीमा अघिल्लो दिनको तुलनामा पानीको बहाव घटे पनि किनारको बलौटे माटो पानीमा खसिरहेको छ । किनारका सिमेन्ट गरेका पुराना स्पर र बाँधहरू भत्किने क्रम जारी छ ।
नदीकिनारको बाँध मर्मतसम्भार र बाढी नियन्त्रणका लागि तारजालीलगायतका सामग्री भारतले उपलब्ध गराउनुपर्नेमा केही बोरा र नगण्य तारजालीबाहेक अरू सामग्री उपलब्ध नगराएको मर्मतको कामको ठेक्का लिएका एक ठेकेदार हबि मियाले बताए । पर्याप्त ढुंगा, तारजाली र बोरा पाएमा कटान रोक्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया