चार दलको निर्णयलाई मात्रै मान्न सकिदैन

धनकुटा, ७ असोज । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यवहादुर थापाले प्रमुख चार दलका शीर्ष नेताहरुको सहमतिले मात्रै मुलुकले निकास नपाउने बताएका छन् ।
गृह जिल्ला धनकुटामा आज पत्रकारहरुसगँ कुरा गर्दै उनले भने, ‘चार दलको सहमतिलाई सबैको सहमति मान्न सकिदैन ।’ सबै दललाई विश्वासमा लिएर सहमति गर्नु पर्ने उनको सुझाव छ ।
उनले सबै दललाई सम्मिलित गराएर हुने निर्णयलाई मात्रै मान्न सकिने अन्यथा नमान्ने बताए । उनले सहमतिका लागि साना राजनीतिक दलहरुको पनि आ–आफनै हैसियत भएकाले निर्णय प्रक्रियामा सहभागी बनाउनु पर्ने माग गरे ।
‘दलहरु एकतावद्ध भएर अघि वढ्न अनिवार्य छ,’ उनले भने, ‘अब साना दलहरुलाई वेवास्ता गरेर चार दलले राजतीनिक सहमति गरे उनीहरुका लागि ठूलो खतरा हुन्छ ।’
चौतर्फी रुपमा सहमतीय सरकारको माग भईरहेको भन्दै अध्यक्ष थापाले एमाओवादीले निकास दिने भन्दा पनि छड्केर हिड्न थालेको आरोप लगाए । उनले भने, ‘निकास नदिएर एमाओवादी छड्केर हिड्न पाउँदैन ।’
एमाओवादीले भन्नकै लागि र जनता झुक्काउन मात्रै सहमति भन्ने गरेको तर सार्थक सहमतिमा जान नचाहेको अध्यक्ष थापाको आरोप थियो ।
उनले विवादित विषयमा सहमति जुटे एक साताका लागि मात्रै संविधानसभा पुनःस्थापना गर्न सकिने बताएका छन् । उनले भने, ‘ईमान्दारिताका साथ समझदारी भए जनतालाई साक्षी राखेर नयाँ संविधान जारी गर्न पुनःस्थापनामा जान सकिन्छ ।’

प्रतिक्रिया