गाडी भाडा बढाउन व्यवसायीको दबाब

काठमाडौं, ७ असोज । नेपाल आयल निगमले पछिल्लोपटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले सवारीसाधनको भाडा बढाउन दबाब सुरु गरेका छन् । पेट्रोलियमको मूल्य वृद्धिपछि व्यवसायीले सार्वजनिक सवारीको १५ प्रतिशत भाडा बढाउन सरकारलाई दबाब दिन सुरु गरेका हुन् ।
पेट्रोलियम मूल्य वृद्धिपछि सवारी भाडा बढाउनुपर्ने आधार प्रस्तुत गर्दै व्यवसायीले भाडा वृद्धिका लागि दबाब दिएको सरकारी स्रोतले जनायो । उनीहरूले वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्य तत्त्वलाई समेत आधार मानेर वाषिर्क रूपमा समायोजन हुनुपर्ने जिकिर गर्दै १५ प्रतिशत भाडा बढाउन दबाब दिएको स्रोतको भनाइ छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपूर्व आफुहरूसँग कुनै छलफल नगरेको भन्दै यस्तो दबाब दिएको यातायात व्यवस्था विभागका एक अधिकारीले बताए ।
वैज्ञानिक भाडामा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत लुब्रिकेन्टको मूल्यवृद्धि, मुद्रास्फीति तथा श्रमिकको पारिश्रमिकलाई भाडा वृद्धिको आधार मानिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यी सबै कुरामा मूल्य वृद्धि भएको भन्दै भाडा बढाउन दबाब सुरु गरेको हो । उनीहरूले पेट्रोलियममा प्रतिलिटर पाँच रुपियाँभन्दा बढीे मूल्य बढेमा वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने माग राखेका छन् । सरकारले समेत सो विषयमा यसअघि नै समहति गरेकाले सोही आधारमा व्यवसायीले प्रस्तुत गरेको बुझिएको छ । आयल निगमले पछिल्लोपटक पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ र डिजेलमा चार रुपियाँ मूल्य बढाएको हो ।
बढेको मूल्यपछि सार्वजनिक सवारीका साधन सञ्चालन गर्न कठिन हुनै व्यवसायीको तर्क छ । उनीहरूले अहिले पेट्रोलियमसँगै अन्य पार्टपुर्जामा समेत उच्च मूल्य वृद्धि भएको जनाउँदै आएका छन् । महासंघका पूर्वअध्यक्ष दिनेश भण्डारीले अहिलेको मूल्य वृद्धिअनुसार भाडा बढाउनुको विकल्प नरहेको बताए । उनले सरकारसँग यसअघि नै यो विषयमा सहमति भइसकेको जनाए ।
सार्वजनिक सवारीमध्ये ट्याक्सीले पेट्रोल तथा बस, ट्रकलगायतले डिजेल प्रयोग गर्छन् । वैज्ञानिक भाडादरअनुसार इन्धन मूल्यवृद्धिको ५ प्रतिशत र सवारीसाधनको पार्टपुर्जा, लुब्रिकेन्ट्स, टायर, च्यासिसलगायत आधारमा १५ प्रतिशत वृद्धि हुने व्यवसायीको दाबी छ । सरकारसँगको यसअघिकै सहमतिअनुसार भाडा बढाउन माग गरिएको व्यवसायीले जनाएका छन् । उनीहरूले मूल्यवृद्धिलाई आधार बनाएर वैज्ञानिक मापदण्डअनुसार भाडा समायोजन गर्दा १५ प्रतिशतसम्म मूल्य बढाउनु पर्ने माग गरेको जनाएको छ ।
इन्धनमा कर छुट दिने, सुविधा घटाउने उपाय हुँदाहुँदै एकतर्फी पेट्रोलियमको मूल्य बढाइएकाले भाडा बढाउनुको विकल्प नरहेको महासंघले जनाएको छ । तर, सरकारले भने अहिले सर्वसाधारणलाई राहत र सहुलियत दिनुपर्जे तथा चाडपर्व सुरु भइसकेकाले दशैँअघि भाडा बढाउन नसकिने जनाउँदै आएको विभागका अधिकारीले जनाए । विगतमा व्यवसायीकै दबाबमा निर्णय हुने गरेको भए पनि यसपटक भने विभागले अहिल नै भाडा बढाउन सकारात्मक नरहेको बुझिएको छ । वैज्ञानिक भाडा समायोजन समितिको सिफारिसमा मन्त्रालयले भाडा वृद्धिको स्वीकृति दिने र विभागले कार्यान्वयन गर्ने व्यवस्था छ । राजाधानीमा यसअघि नै वृद्धि भएको भाडा दरअनुसार न्यूनतम १४ रुपियाँ भाडादर लागू भएको छ । तर, सरकारी अनुगमन कम हुने र त्यो पनि प्रभावकारी नहुने भएकाले अधिकांश रुटमा यात्रुले तोकिएभन्दा बढी भाडा तिर्न बाध्य छन् ।

प्रतिक्रिया