गल्ती सुधार्न सकिन्छ


‘ए लंगडो’ समर आफ्नो साथीलाई जिस्काउँछ । ऊ सधैँ यसरी नै जिस्काउँछ ।
साथी वैशाखीको सहारामा उभिन्छ ।
‘के हेर्‍या ?’ समर गाली गर्छ ।
कक्षाका अन्य साथीहरूसित ऊ हाँस्तै भन्छ– ‘आपुइ, मलाई त डर लाग्यो ।’
साथी रुन्चे स्वरमा भन्छ—‘हेर समर । म तिमीसित झगडा गर्न चाहन्नँ ।’
‘चाहे पनि के गर्न सक्छस् ?’ उल्टै समर पो झगडा गर्न सुरिन्छ ।
‘मेरो नाम सुमित हो, लंगडो हैन ।’ सुमित भन्छ– ‘मेरो नामले बोलाउन सक्तैनौ तिमी ?’
‘आपुइ गल्ती भयो, क्षमा देऊ ।’ जिस्काउँदै उसले सुमितको वैशाखी ढलाइदिन्छ । सुमित पनि ढल्छ । भुइँमा पछारिन्छ ।
अन्य साथीहरू पनि हाँसिरहन्छन् ।
बिस्तारै वैशाखी समातेर उठ्दै सुमित भन्छ–‘हेर समर ।’
नजिक आएर समर भन्छ– ‘हेरेँ । के देखाउँछस्, ल भन् ?’
‘हामी एउटै कक्षामा पढ्ने साथी हौँ ।’ सुमित सम्झाउन खोज्छ ।
‘त्यही त नराम्रो छ नि ।’ समर भने अझै निहुँ खोज्दै छ– ‘तँ लंगडो पनि मसँग पढ्छस् ।’
सुमित अब दिक्क मान्छ– ‘मैले यो कुरा सरहरूलाई भनिदिएँ भने ? तिमी साथी भएकाले म चुप भएँ । तिमीले गरेका कुरा अझसम्म भनिदिएको छैन ।’
‘खुप ठूलो काम गरिस् ।’ यति भनेर समर अघि बढ्छ ।
अन्य साथीहरू भन्छन्– ‘भो, जान देऊ यसलाई ।’
राति समर खाना खानेबित्तिकै सुत्छ ।
ऊ सपना देख्न पुग्छ ।
सपनामा ऊ अन्धो हुन्छ ।
ऊ छामछाम छुमछुम गरेर अगाडि बढ्दै छ ।
एक ठाउँमा अल्झिएर ऊ लड्छ—‘ऐया †’
त्यहाँ उसकै एक साथीले खुट्टा तेस्र्याएको रहेछ ।
त्यसमा अल्झिएर ऊ लड्न पुगेको रहेछ ।
त्यसै बेला साथीहरूको स्वर सुनिन्छ– ‘ए अन्धे †’
‘ए हिँड्न जान्दैनस् कि क्याहो † ’ अन्य थुप्रै साथीको स्वर ।
साथीहरू बेसरी हाँसेको स्वर सुनिन्छ ।
समर रुँदै भन्छ– ‘झन् त आफू देख्दिनँ ।’
‘त के भयो ?’ साथीहरू जिस्काउँदै भन्छन्– ‘हेर्लास्, तँ अन्धाले ।’
साथीहरू बेसरी जिस्काउँछन्– ‘ए अन्धा † ए अन्धा †’
समर बिलौना गर्न थाल्छ– ‘मेरो नाउँ समर हो । समर भनिदेऊ बिन्ती ।’
साथीहरू भने कराउन थाल्छन्—‘ए अन्धा † ए अन्धा †’
समर आत्तिन्छ —‘हे भगवान् ‘मलाई हेर्न सक्ने बनाइदेऊ ।’
सपनाबाट आत्तिएर समर बिउँझन्छ ।
खाटमै बसेर ऊ कराइरहन्छ– ‘मलाई देख्ने बनाइदेऊ ।’
‘के भो ? के भो ?’ मम्मी बत्ती बाल्नुहुन्छ ।
समरलाई समुसुम्याउँदै भन्नुहुन्छ– ‘हेर पसिनै पसिना । समर ‘ ए समर †’
समर समालिन्छ– ‘मम्मी † म…मलाई साथीहरूले अन्धा भनेर जिस्काए ।’
‘सपना देखेछौ ।’ मम्मीले पसिना पुछिदिनुहुन्छ ।
समर झल्याँस्स सुमितलाई सम्झन्छ । एकछिन दु:खी हुन्छ र भन्छ– ‘मैले गल्ती गरेछु मम्मी । कस्तो नराम्रो गल्ती गरेछु ।’
मम्मी छक्क पर्नुहुन्छ– ‘के गल्ती गरेछौ ?’
‘सधैँ सुमितलाई लंगडो भनेर जिस्काउँछु ।’ समरले नमीठो मान्दै भन्छ ।
‘धत्, त्यसरी जिस्काउनुहुन्छ बिचरालाई ।’ मम्मीले हलुका रूपमा हप्काउनुहुन्छ ।
‘हो मम्मी । उसलाई मनमा कति दु:ख भयो होला । हगि ? मलाई सपनामा त यस्तो चोट पुग्यो ।’
‘हो, आफूलाई जस्तो दु:ख हुन्छ, अर्कालाई त्यस्तै हुने कुरा सम्झनुपर्छ ।’ मम्मी सम्झाउनुहुन्छ ।
‘अब के गर्ने मम्मी ?’
‘भोलि नै गएर माफी माग । अनि साथीसाथी मिल्नुपर्छ ।’
‘हो, त्यसै गर्छु अब ।’ समर अब खुसी हुन्छ ।
‘अनि उसलाई सधैँ माया गर ।’ मम्मी अझ भन्नुहुन्छ ।
‘हुन्छ, मम्मी हुन्छ । म त्यसै गर्छु ।’
स्कुलमा पुग्नेबित्तिकै समरले सुमितसित माफी माग्छ । सुमित पनि हाँस्छ । त्यसै दिनदेखि ऊ सुमितसित मिलेर बस्छ । स्कुलमा मिलेरै पढ्छ, खेल्छ ।
ऊ सुमितलाई सहयोग पनि गर्छ ।

प्रतिक्रिया