एमाओवादी नेतामाथि छानबिन हुनेमा शंका

काठमाडौ, ७ असोज । अख्तियारका पूर्वअधिकारी र कानुन व्यवसायीले नक्कली लडाकुको नाममा भएको भ्रष्टाचार छानबिन हुनेमा आशंका व्यक्त गरेका छन् । कर्मचारीहरूबाट सञ्चालन हुँदै आएको पदाधिकारीविहीन अख्तियारले हाई प्रोफाइल भएका राजनीतिज्ञमाथि अहिलेसम्म छानबिन नगरेको उनीहरूको जिकिर छ ।

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र कानुन व्यवसायीले भ्रष्टाचारको आरोप लागेको एनेकपा माओवादीका तीन प्रमुख नेतामाथि छानबिन हुनेमा आशंका व्यक्त गरे । ‘अख्तियारसँग जुनसुकै व्यक्तिमाथि भ्रष्टाचार गरेको आशंका भए छानबिन गर्ने क्षमता छ तर त्यसका लागि इच्छाशक्ति र दृढता चाहिन्छ,’ पूर्वप्रमुख आयुक्त उपाध्यायले भने, ‘त्यो ताकत पदाधिकारी नभएपछि त्यसै कम भएर जान्छ ।’ विस्तृत शान्तिसम्झौतापछि शिविरमा रहेका माओवादी लडाकुका नाममा चार अर्बभन्दा बढी रकम राज्यकोषबाट एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्थायी समिति सदस्य कृष्णबहादुर महराले दुरुपयोग गरेको भन्दै शुक्रबार एमालेको युवक संगठन ‘युवासँग नेपाल’ ले अख्तियारमा उजुरी दर्ता गराएको छ । अख्तियारले उक्त उजुरीमा तत्काल अनुसन्धान थाल्नुपर्ने पूर्वआयुक्त उपाध्यायले बताए । उनले भने, ‘यस्तो संवेदनशील उजुरीमा जति ढिलो गर्‍यो त्यति नै प्रमाण नष्ट हुने संभावना रहन्छ ।’
यसैगरी कानुन व्यवसायीले पनि वर्तमान अख्तियारको संयन्त्रबाट एमाओवादी नेतृत्वमाथि भ्रष्टाचारको छानबिन हुनेमा आशंका गरेका छन् । ‘अख्तियार सचिव भगवती काफ्लेको एक साताअघिको अभिव्यक्तिले नै छानबिनमा शंका जन्माएको छ,’ संविधानविद् डा. भीर्माजुन आचार्यले भने, ‘कतै न कतै अख्तियार एमाओवादीको प्रभावमा परेको देखिन्छ । त्यसले पनि स्वतन्त्र छानबिन हुनेमा आशंका ल्याएको छ । अघिल्लो आइतबार अख्तियार सचिव भगवती काफ्लेले माओवादी लडाकुका नाममा भएको भ्रष्टाचारमा एमाओवादीले नै छानबिन गरेकाले तत्काल आफूहरूले छानबिन प्रक्रिया नथाल्ने बताएका थिए । ‘जुनसुकै व्यक्तिले राज्यकोष दुरुपयोग गरेको देखिएमा छानबिन र कारबाही गर्ने अधिकार मसँग छ भन्ने सचिव काफ्लेले नै पार्टीको छानबिनपछि मात्र छानबिन गर्ने बताएपछि कसरी स्वतन्त्र छानबिन हुन सक्ला ? नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्काले आशंका व्यक्त गर्दै भने । त्यसैगरी अधिवक्ता तथा पूर्वसभासद् एकराज भण्डारीले उजुरी परेपछि जस्तोसुकै हालतमा भए पनि छानबिन प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
के भन्छन् पूर्वपदाधिकारी र कानुन व्यवसायी

अख्तियारमा उजुरी परेपछि अरूले अनुसन्धान गरेपछि मात्र हामी अनुसन्धान गर्छौं भन्नुहँुदैन । फेरि एमाओवादीले आफ्नो आन्तरिक छानबिन गरेको होला, त्यसमा संवैधानिक निकाय अख्तियारले पर्खिनुपर्ने हँुदैन । छानबिन गर्ने अख्तियारका जिम्मेवार कर्मचारीबाटै दुईथरी अभिव्यक्ति सार्वजनिक भएका छन् । सचिवले पछि गर्ने र प्रवक्ताले तत्काल छानबिन गर्ने अभियव्यक्ति दिएका छन् । यसबाट पनि जनमानसमा आशंका उत्पन्न हुन्छ । अख्तियारको छानबिन र मुद्दामा पब्लिक ओपनियन पनि महत्त्वपूर्ण हुन्छ । उजुरी परेपछि जुनसुकै तहको व्यक्ति भए पनि त्यसलाई छानबिन गर्ने क्षमता अख्तियारसँग छ तर त्यसका लागि इच्छाशक्ति र दृढता चाहिन्छ । यसमा धेरै अनुसन्धान गर्नुपर्नेजस्तो पनि मलाई लाग्दैन । भ्रष्टाचारका मुद्दामा छानबिन गर्न जति ढिलो हुन्छ त्यति नै प्रमाण नष्ट हुने संभावना रहन्छ । यसमा अन्य दल र सरकार प्रमुखका हैसियतमा प्रधानमन्त्रीले पनि सहयोग गर्नुपर्छ ।
सूर्यनाथ उपाध्याय
पूर्वप्रमुख आयुक्त (अख्तियार)

अख्तियार संवैधानिक निकाय हो यसले को ठूलो को सानो छुटयाउनुहँुदैन । सचिवको अभिव्यक्तिबाट उजुरी परेका तीन एमाओवादी नेतृत्वमाथि छानबिन होला भन्नेमा मलाई आशंका लागेको छ । किनभने अख्तियारले संवैधानिक हैसियतमा काम गरेन भने त्यो समस्या आउन सक्छ । अन्य बेला जनुसुकै राज्यकोष दुरुपयोग गर्ने व्यक्तिलाई भ्रष्टाचार गरेको आशंका भए छानबिन र मुद्दा चलाउने हैसियत मसँग छ भन्ने सचिवले यतिबेला किन एमाओवादीको छानबिनलाई पर्खिरहेका छन् । एमाओवादीको छानबिनलाई आफ्नो छानबिन प्रतिवेदन बनाउने हो भने के को छानबिन ? यदि उजुरी पर्दासमेत छानबिन गर्न सक्दैनन् भने उनको कार्यकाल सकिनुभन्दा अघि नै पद छाड्नुपर्छ अन्यथा उनीमाथि पनि कारबाही हुनुपर्छ ।
प्रेमबहादुर खड्का
बार अध्यक्ष

भ्रष्टाचार मुद्दामा अरूले छानबिन गरेपछि मात्र छानबिन गर्छु भन्न मिल्दैन । अख्तियार त संवैधानिक निकाय हो, यसको आफ्नो काम, कर्तव्य र जिम्मेवारी छ । त्यो जिम्मेवारीबाट विचलन भई एमाओवादी पार्टीले छानबिन गरेपछि मात्र छानबिन गर्छु भन्नु दु:खद् कुरा हो । यतिबेला उनको अभिव्यक्तिले यति ठूलो र गम्भीर मुद्दामा कतै छानबिन नै नगर भनी क्लिन चिट त दिँदैनन् ? भन्ने आशंका जन्मेको छ । सचिवको कार्यकाल अब एक महिना पनि नभएको मैले बुझेको छु । एमाओवादी नेतामाथि चार अर्बभन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै उजुरी परेपछि अख्तियारले संवेदनशील भएर हेर्नुपर्छ । संवेदनशीलतालाई नहेरी बस्ने हो भने प्रमाण लोप हुने संभावना रहन्छ ।
डा. भीमार्जुन आचार्य
संविधानविद्

अख्तियार संवैधानिक निकाय हो, कुनै पार्टीको भ्रातृसंगठन होइन । जुनसुकै व्यक्तिका नाममा उजुरी परे पनि छानबिन गर्नुपर्छ । त्यसको सत्यतथ्य जनतालाई दिनुपर्छ । यो अख्तियारको कर्तव्य पनि हो । जब प्रश्न उठिसकेपछि उहाँहरूप्रति छानबिन हुनुपर्छ । अहिले छानबिन नभए पनि पछि छानबिन अवश्य हुन्छ । पछि छानबिन गर्दा पनि भएका प्रमाण नष्ट हुने संभावना म देख्दिन किनभने ज–जसका नाममा भ्रष्टाचार भएको आशंका गरिएको छ उनीहरूसँग जुनबेला पनि तथ्य बुझ्न सकिन्छ ।
एकराज भण्डारी
अधिवक्ता तथा पूर्वसभासद्

प्रतिक्रिया