दलहरू सत्तामा अल्झिँदा सहमति टाढिँदै

काठमाडौं, ७ असोज । चुनावी सरकारको नेतृत्वमा ‘बार्गेनिङ’ हुंदा सरकार र नयाँ चुनावी प्रक्रियाका विषयमा राजनीतिक दलहरूबीच छिटो सहमति नहुने अवस्था उत्पन्न भएको छ । दलहरूबीच संविधानसभाको नयाँ चुनावमा जाने र त्यसका लागि सहमतीय सरकार गठन गर्ने सहमति भए पनि एमाओवादी र कांग्रेसले सरकारको नेतृत्व एकअर्कालाई नछाड्ने बताएपछि चाँडै सहमति नहुने स्पष्ट संकेत देखिएको हो ।
एमाओवादीले राष्ट्रपति कांग्रेसतर्फका भएकाले राजनीतिक गोलचक्करबाट मुक्त हुन र राजनीतिक सन्तुलन मिलाउन पनि सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने दाबी नछाड्ने बताएको छ । सरकारको नेतृत्व आफूहरूले नपाए कांग्रेस नेतृत्वलाई अस्वीकार गर्ने एमाओवादीले जनाएको छ । सरकारको नेतृत्व र चुनावी कार्यक्रमका विषयमा आइतबार छलफल गर्ने भन्दै शुक्रबारको चार दल बैठक टुंगिएको थियो ।
एमाओवादीले शनिबार गर्दै आएको नियमित पत्रकार सम्मेलनमा पार्टीप्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरूले सरकारको नेतृत्व दाबी गर्नैपर्ने अवस्था आएको बताएर नेतृत्वको अडान नछाड्ने संकेत गरेका छन् । कांग्रेस नेताहरूले एमाओवादीले सरकारको नेतृत्व दाबी गरेर चुनाव नगराउन चाहेको बताएका छन् ।
‘हामी सरकारको नेतृत्वमा सहमति जुटाउने प्रयासमा छौँ तर हाम्रो पार्टीले सरकारको नेतृत्व दाबी गर्नैपर्ने अवस्था आएको छ,’ प्रवक्ता सापकोटाले भने, ‘कांग्रेसकै राष्ट्रपति र प्रधानमन्त्रीको स्थिति उत्पन्न गराएर सत्ताको गोलचक्करमा मुलुकलाई पार्ने कोसिस भइरहेको छ त्यो हामीलाई मान्य छैन ।’
कांग्रेसबाहेक अन्य दलको नेतृत्वमा भने लचिलो हुने संकेत उनले गरे । कांग्रेसले भने एमाओवादी चुनाव नगराउने पक्षमा नभएकाले कांग्रेस नेतृत्वलाई अस्वीकार गरेको बताएको छ । ‘उसले कांग्रेसको नेतृत्वमा सरकार बन्न नदिन हिजो संविधानसभा विघटन गराएको थियो,’ कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सौर्यसँग भने, ‘कांग्रेस नेतृत्वमा सरकार भए चुनाव हुन्छ भनेर उसले यसलाई अस्वीकार गर्दै आएको छ ।’
कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि राजनीतिक भेटघाट पनि थालेको छ । शनिबार नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको टोलीसँग सभापति सुशील कोइरालाले आफ्नै निवासमा भेटवार्ता गरेका थिए । एमाओवादीबाहेक विघटित संविधानसभाभित्रका अन्य दलको समर्थन प्राप्त गर्न कांग्रेसले चारदलीय बैठकबाट मात्रै नभई वैद्य नेतृत्वको माओवादीलगायत संसद्मा भएका अन्य दलहरूसमेतको सहमतिमा निकासमा पुग्नुपर्ने प्रस्ताव शुक्रबार बसेको चार दल बैठकमा राखेको थियो । शनिबार कांग्रेस सभापति कोइरालालाई भेट्न पुगेका नेकपा–माओवादीका अध्यक्ष वैद्यले आफूहरूलाई बाहिर राखेर गरिएको सहमति र चुनावको अर्थ नहुने बताएका थिए ।
‘नेकपा–माओवादीलाई बाहिर राखेर कसरी चुनाव सम्भव हुन्छ ?’ कांग्रेस प्रवक्ता बडूले भने, ‘वैद्यजीले नेतृत्व गरेको माओवादी, उपेन्द्र यादवले नेतृत्व गरेको फोरम र अन्य पार्टीको पनि सरोकारको विषय हो । उनीहरूको पनि सहमति चाहिन्छ ।’ चार दल बैठकमै एमालेबाट अबको सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने प्रस्ताव आएपछि कांग्रेस अन्य दलको समर्थन जुटाउने गृहकार्यमा लागेको हो ।
सरकारको नेतृत्व दाबी गरे पनि कांग्रेस र एमाओवादी दुवैले उम्मेदवार अगाडि सारेका छैनन् । कांग्रेसले आफूले नेतृत्व पाउने विषयमा दलहरूबीच सहमति हुनासाथ तत्काल उम्मेदवार अघि सार्ने बताएको छ भने एमाओवादीले छलफल प्रारम्भिक चरणमै रहेकाले भट्टराई नेतृत्वको सरकारलाई नै निरन्तरता दिने वा अध्यक्ष पुष्पकमल दाहाललाई उम्मेदवार बनाउने भन्ने विषय विचाराधीन रहेको जनाएको छ । ‘पार्टीले प्रचण्डलाई नेतृत्वमा पठाउने वा अहिलेकै सरकारलाई निरन्तरता दिने भन्ने विषयमा टुंगोमा पुगिएको छैन, यो उतिबेलै टुंगो लाग्छ,’ प्रवक्ता सापकोटाले भने, ‘छलफल प्रारम्भिक चरणमै भएकाले अहिले यस विषयमा भन्न सकिँदैन ।’
कांग्रेसले पनि आफूले नेतृत्व पाउने टुंगो भएपछि मात्रै उम्मेदवार अघि सार्ने बताएको छ । कांग्रेसभित्र वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानान्त्रीका आकांक्षी छन् । ‘दलहरूबीच जुन दिन कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति हुन्छ, त्यही दिन कांग्रेसले प्रधानमन्त्रीको नाम दिन्छ,’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सौर्यसँग भने, ‘अहिले नै प्रधानमन्त्रीको नाम लिएर तरंग ल्याउनु जरुरी छैन ।’

माओवादीलाई सहभागी गराउन कोइराला सकारात्मक

काठमाडौं : राजनीतिक निकासका लागि प्रमुख दलहरूबीच हुने बैठकमा नेकपा–माओवादीलाई सहभागी गराउन कांग्रेस सभापति सुशील कोइराला सकारात्मक देखिएका छन् ।
महाराजगन्जस्थित कोइराला निवासमा शनिबार भएको माओवादी अध्यक्ष मोहन वैद्यसँगको भेटमा सभापति कोइरालाले प्रमुख दलको बैठकमा माओवादीलाई सहभागी गराउन आफूहरू सकारात्मक रहेको जवाफ दिएका हुन् । कोइरालासँगको भेटमा चार दल बैठकको निर्णयले मात्र राष्ट्रिय सहमति हुन नसक्ने भएकाले आफूहरूले सबै दल र पक्षलाई सहभागी गराउन आग्रह गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
भुसालका अनुसार कांग्रेस सभापति कोइरालाले वर्तमान संवैधानिक संकट समाधानका लागि सबै दल एकजुट भएर जानुको विकल्प नरहेको बताएका थिए । अब डाकिने बैठकमा माओवादीलाई पनि सहभागी गराउनुपर्छ भनेर आफूले शुक्रबारको चार पक्षको बैठकमा धारणा राखेको जानकारी पनि कोइरालाले दिएका थिए । भेटमा कांग्रेसबाट सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, प्रवक्ता दिलेन्द्र बडु र नेकपा–माओवादी अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा र प्रवक्ता भुसाल सहभागी थिए । (सौस)

प्रतिक्रिया