पूर्व राजाको भ्रमणमा अबरोध गर्नु हुँदैन

पोखरा, ५ असोज । कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले धार्मिक भ्रमणमा निस्केका पूर्व राजालाई घुमफिरमा अवरोध गर्नु गलत रहेको वताएका छन् ।
धार्मिक भ्रमणका नाममा पूर्व राजा सक्रिय हुन खोजेको भन्दै राजनीतिक दलहरुले बिरोध गरेर जिल्ला बन्द गर्दै आएका बेला केसीले सो कार्यको विरोध गरेका हुन् ।
प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले लोकतन्त्रमा सवैलाई हिडडुल गर्ने स्वतन्त्रता रहेको बताए । ‘संविधान र कानून भित्र रहेर सबैले आफ्ना गतिविधि गर्नु पर्छ,’ उनले भने, ‘पूर्व राजाले पनि लोकतन्त्रको उपयोग गर्न पाउनु पर्छ ।’
नागरिकका रुपमा पूर्व राजाले भ्रमण गर्दा कांग्रेसलाई कुनै आपत्ती नरहेको नेता केसीको भनाई छ । पूर्व राजा शाहको भ्रमणलाई बिथोल्न कांग्रेसका विभिन्न जिल्लाका नेताहरुले लागेको प्रति असन्तुष्टि जनाउँदै नेता केसीले गलत प्रबृतिको पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले भने, ‘लोकतान्त्रिक पद्धतिलाई कांग्रेस र उसका शुभेच्छुकहरुले अनुसरण गर्नु पर्छ ।’
‘को कहाँ जान्छ त्यो अन्य दलको चासोको बिषय होला तर कांग्रेसलाई यसको कुनै मतलब छैन,’ उनले भने ।
एकीकृत माओवादीले रोपेको जातीय राज्यको विषबृक्ष जनमत संग्रहबाट टुङ्गाउनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया