रंग खुइलिँदै गएको रंगशाला

देशको स्वस्थ जनशक्ति उत्पादनको पर्याय मानिनुपर्ने दशरथ रंगशाला कुनै बेला सरकारी भिजिलान्ते अर्थात् मण्डले उत्पादन केन्द्र थियो, राजाको पञ्चायत यतैबाट थामिन्थ्यो । भर्खरै दिवंगत भएका छोटे राजा शरद्चन्द्र शाहको हालीमुहाली चल्थ्यो यहाँ । यो एक रहस्यमय शक्तिकेन्द्र थियो । पञ्चायतको समाप्तिपछि, राष्ट्रिय खेलकुद परिषद् शरद्चन्द्र शाहबाट त मुक्त भयो तर शरद्चन्द्र शाह प्रवृत्तिबाट मुक्त भएन । सत्तासीन दलले शाहको लिगेसी थामेका छन् । यसलाई विशुद्ध खेलको प्रतिष्ठान बन्न दिइएको छैन । शक्तिका उन्मादीहरूले अझै पनि यसलाई आफ्ना लठैत उत्पादन गर्ने केन्द्र नै बनाइरहेका छन् । अहिले पनि भूतले तर्साउँछ त्यहाँ– कुव्यवस्थापक, स्वार्थलम्पट, भ्रष्टाचारी भूतले । खै अरू भूत त छन् जस्तो लाग्दैन, एउटा डरलाग्दो भूत त्यहाँ छँदै छ, आफ्ना मान्छे भर्ती गर्ने भूत †

सधैँ बनेपा–काठमान्डु–पनौती लेखिएको इन्जिन गन्हाउने बसबाट काठमान्डुतिर ओहोरदोहोर गरिरहने मेरो निम्ति काठमान्डु एक यान्त्रिक सहर थियो । यहाँका हरेक गल्ली र साँझहरू मजस्तो आउटसाइडरका लागि मायावी हुन्छन् । कुनै साँझहरू किंवदन्तीजस्ता पनि हुन्छन् । हो, दशरथ रंगशालाअघि एउटा रेस्टुराँमा कुनै लेखकसँग मात्तिनेगरी भट्टीगमन गरेपछि मलाई त्यो साँझ त्यस्तै कुनै किंवदन्तीले छोपेभैँm लागेको थियो । किनभने, त्यस साँझ म ढुन्मुनिँदै दशरथ रंगशालाभित्र पसेको थिएँ । एउटा सुनसान रंगशाला । फुस्रो र धमिलिएको आकाश । एउटा फलैँचामा बसेर म कुनै भुक्तभोगीबाट रंगशालाको इतिहास सुन्दै थिएँ । यहाँको मधुरो प्रकाशमुनि म रंगशालाको अग्लो स्टेजमा फुटबलरहरूको प्रतीक्षामा चाहिँ थिइनँ ।
दशरथ रंगशालाको त्यो भव्य रूप देखेर मैले कहिल्यै जिब्रो टोकेको थिइनँ । थुप्रैपटक त्यस अगाडिको बाटो आहोरदोहोर गरिरहने मजस्तो मान्छेलाई त्यहाँको भव्यताले नलठ्याउनु ठिकै हो । यो नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाभित्र पस्दा कुनै खेलकुदप्रेमी वा सुदूर गाउँको मान्छे भावुक हुनुचाहिँ स्वाभाविक हो । तर, अहिलेको यो भव्य रंगशालाले इतिहासको गर्भमा अलौकिक सूचना लुकाएर राखेको छ भन्ने थाहा पाउँदा भने मन रोमाञ्चित हुन्छ ।
२०१३ सालमा रंगशालाको खाका तयार हुनुअघि यो ठाउँ मसानघाट थियो । यहाँ कुपोन्डोलको बाग्मती पुलनजिकै बस्ने जोगी र काठमाडौंका पोडेहरूको लास जलाइन्थ्यो । उसबेला भूतले तर्साउने डरले साँझ परेपछि मान्छेहरू रंगशालाको बाटो हिँड्न निकै डराउँथे । अहिलेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल र रंगशालामा रात परेपछि कोही खेलिरहेजस्तो आवाज सुनिन्थ्यो । के अहिलेको यो साँझ पनि मलाई कुनै अभौतिक भूतले तर्साउला ? अहँ † रात गाढा हुँदा पनि त्यस्तो केही भएन । ०११ सालसम्मै यहाँ भूतको बास छ भनी विश्वास गरिन्थ्यो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म रंगशाला वरिपरि पुग्न सबै डराउँथे । यस्तै, हाल फुटबल मैदान भएको स्थान पहिले पोखरी थियो । पोखरीमा आफूतिर तान्ने केही अदृश्य शक्ति छ भन्ने सोच व्यापक थियो । रंगशालाको उत्तर प्यारापिटतर्फ पहिले ठूलो बाँसको झ्याङमा नाग भएको र त्यो नाग निकै डरलाग्दो हुन्थ्यो भन्ने जनविश्वास थियो । त्यहाँको कभर्ड हलभित्र राति १२ बजे अनौठो एकहोरो किसिमको आवाज आउँथ्यो । कोही ब्याडमिन्टन वा फुटबल खेलिरहेजस्तो आवाज गुन्जिरहेको हुन्थ्यो र त्यो आवाज निकै चर्को हुन्थ्यो ।
०००
०१३ सालमा राजा महेन्द्रले राज्य सञ्चालन–सुरु गरेबाटै लेखिन्छ दशरथ रंगशालाको कथा । उनको राज्याभिषेकको अवसरमा कुस्ती, ब्याडमिन्टन, फुटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गरियो । उसैबेला उपयुक्त ठाउँको अभाव महसुस गरी ‘सानो टुँडिखेल’लाई नै आधुनिक रंगशालाको स्वरूप दिइने हुकुम जारी भयो । यो निर्माणकार्यमा तत्कालीन प्रहरी प्रमुख नरशमशेर जबराको उल्लेखनीय पहल थियो । स्वदेशका र भारतबाट समेत मजदुर झिकाई द्रूत गतिले निर्माण अगि बढ्न थाल्यो । श्रमिकले रातदिन पसिना बगाए । र, अन्तत: तयार भयो– कच्ची रंगशाला । त्यसपछि करिब ९ वर्ष माटो मात्रै सम्याइएको रंगशालाको लमतन्न फाँट बेवारिसे बन्यो । शर्मा एन्ड एसोसिएट दिल्लीले डिजाइन गरेको रंगशालासम्बन्धी पहिलो सम्झौता चीन सरकारसँग सिमेन्ट र छड लिने गरी भएको थियो । किरण शमशेरले रंगशालाको निर्माणको जिम्मा पाए र पोखरी सम्याउन थाले । रंगशालाको पूर्वतिर सेनाको सानो ब्यारेक थियो र डाँडो पनि । उत्तरतिर बाँसको ठूलो झ्याङ । दक्षिणतर्फको भागचाहिँ खुल्ला थियो । घाँसे मैदान तयार पारिएको थिएन । पहिलो फुटबल खेल ६० मिनेट मात्रैको थियो । प्रतियोगिताको दिन धुलो उड्ने डरले सधैँ पानी छर्किने गरिन्थ्यो । राज्याभिषेक कपमा नेपालमै पहिलोपल्ट ‘फ्लड लाइट’को प्रयोग भएको थियो । बिजुली अड्डाबाट लाइट झिकाएर बत्तीमा फुटबल म्याच खेलाइएको थियो ।
महेन्द्रको हुकुमबाट प्राप्त जग्गामा निर्माण सुरु गरिएको रंगशालाको ०२८ सालमा पूर्व र उत्तरतिर ५–५ लाइनको प्यारापिट तयार पारियो । २०३१ सालमा भने पुन: चीन सरकारसँग सम्झौता गरी रंगशाला तयारी अवस्थामा ल्याइयो । तर, त्यतिबेला यो रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको थिएन । २०३५ सालदेखि भने रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास थालियो । कुल ३१ लाखको बजेटमा २०३७ सालमा रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्‍यो ।
०२८ साल माघ १७ गते राजा महेन्द्रको चितवनमा निधन भएपछि जेठा छोरा वीरेन्द्रलाई नेपालको नयाँ राजा घोषणा गरियो । राज्याभिषेक २०३१ सालमा हुने निर्णय भएपछि रंगशाला निर्माण कार्यलाई झन् जोडतोडका साथ सुरु गरियो । चीन सरकारसँग रंगशाला निर्माणका लागि पुन: सम्झौता भयो । छड र फलामका डन्डीहरू चीनबाट भारतको कोलकाता बन्दरगाहको बाटो हुँदै नेपाल भित्रिए ।
दशरथ रंगशालाले ०४४ सालमा अत्यन्त दर्दनाक चोट बेहोर्‍यो । यही साल फागुन २९ गते आएको ठूलो हुरीबतासका कारण ७३ जना दर्शकले रंगशालामै ज्यान गुमाए । त्यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल भइरहेको थियो । जनकपुर चुरोट कारखाना र बंगलादेश मुक्तियोद्धाबीचको खेल सञ्चालन भइरहँदा अचानक आएको आँधीका कारण भागाभाग भयो । रंगशालाका सबै ढोका नखोलिएको हुँदा भागाभागमा किचिएर एकै ठाउँमा त्यति धेरै दर्शक दिवंगत भएको त्यो घटना विश्व फुटबलका शीर्ष १० दुर्घटनामध्ये पर्छ ।
त्यतिबेलासम्म मैदान पश्चिम दक्षिण र उत्तरतिरको प्यारापिट अगाडि नांगो काँडे तारले घेरिने गरिन्थ्यो । तर, ४४ सालको दर्दनाक ‘रंगशाला काण्ड’पछि काँडे तारबाट मैदान घेर्न छोडियो । यही घटनाका कारण तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले र सदस्य–सचिव शरदचन्द्र शाहले पनि राजीनामा दिएका थिए ।
त्रिपुरेश्वरको यस बहुउद्देश्यीय रंगशालाको इतिहास खेलकुदसँग मात्रै जोडिएको छैन, यसले त राजनीति र संस्कृतिका अनेक आयाम पनि आफूभित्र समेटेको छ । यसले प्रत्यक्ष देखेको र भोगेको छ– यहाँ कसरी विभिन्न राजनीतिक व्यक्तित्वका बहुचर्चित शव ल्याएर भावपूर्ण अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने गरिन्छ । कसरी मानिसहरूले ‘नेपाली राजनीतिमा धूमकेतुसरी उदाएर धूमकेतुसरह नै विलुप्त भएका’ मदन भण्डारी र जीवराज आश्रितदेखि लिएर लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मलाई अन्तिमपटक चिरनिद्रामा सुतिरहेको अश्रुपूर्ण नयनले कतिकति बेर हेरिबसेका थिए । नाम यसले रंगशाला पाएको छ, यस्ता अभूतपूर्व शोकमा डुबेर चढाइने श्रद्धाञ्जलीका बेला यसको नाम शोकशालाझैँ लाग्छ । शोकलाई कुनै उल्लासको रंगमा घोलेर परिभाषित गर्न सकिँदैन भन्ने नबुझेको राजनीतिक वृत्तले रंगशालामै शोकको बाढी लगाइरहन्छ बेलाबेला ।
०००
लाग्छ, खेलाडीको घर भनेकै रंगशाला हो । तर, नेपालको अस्तव्यस्त रंगशालबाट त्यो अपेक्षा गर्न सकिन्न । आफ्नो खेल जीवनको आधाभन्दा बढी समय आफ्नै राष्ट्रको रंगशालामा बिताउने खेलाडी नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाबाट डिप्रेस्ड छन् ।
भुँडी घटाउनेदेखि घाम ताप्नेसम्म रंगशालामै आइपुग्छन् । रंगशाला पछिल्लोपटक बैँसोन्मत्त नवजोडीहरूको ‘डेटिङ स्पट’ र नजरतृष्णाको समाधिस्थल पनि बनेको छ । खेलको रंग यसले मेटाइदिएको छ र रंगशालाको मैदानलाई काम वासनाको बहनाले उत्तेजनाको डुंगा बहाउने नदी बनाइदिएको छ । अब रंगशाला र टुँडिखेलमा केही फरक देखिँदैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभाग यसप्रति उति गम्भीर नभएकाले रंगशालामा लापरबाही बढेको तर्क परिषद्का एकजना सदस्यको छ । रंगशाला केही लागुऔषध दुव्र्यसनीको समेत सुरक्षित थलो बन्ने गरेको गुनासो स्थानीयवासी गर्छन् । केही लागुऔषध प्रयोगकर्तासमेत रंगशाला पस्ने र यहीँ दिन बिताउने गर्छन् ।
०००
भिडभाडका दिन रंगशाला कुनै पनि बेला भत्कन सक्छ । यहाँ विषेशगरी फुटबलका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छन् । खेलकुदबाहेक मनोरञ्जन, राजनीतिक सभासम्मेलन अनि अन्य विविध कार्यक्रम पनि यही रंगशालामा आयोजना हुन्छ । अन्तर्राष्ट्रिय वेबसाइट गुगलमा उल्लेख गरिएअनुसार दशरथ रंगशालाको दर्शक क्षमता २५ हजार छ । पछिल्लोपटक गरिएको अनुसन्धानले भने रंगशालाको दर्शक क्षमता १८ हजार मात्र रहेको देखाएको छ । रंगशालाको दर्शक क्षमता मापन नगरिएको ६ वर्षभन्दा बढी भइसकेको छ । कति दर्शक थेग्न सक्छ त रंगशालाले, यस सम्बन्धमा पनि कुनै अध्ययन नै गरिएको छैन वर्षौंदेखि । आयोजक र प्रायोजकलाई दर्शकको भिडले फाइदै हुन्छ, त्यसैले दर्शकको संख्या नघटोस् भन्नेमा उनीहरू बढी नै सचेत हुन्छन् । व्यवस्थापनको त्रुटिका कारण रंगशालामा मच्चिने साधारण झडप र कुटपिटका घटनाभन्दा धेरै भयंकर दुर्घटना हुनसक्छ । तर, हजाराँैको संख्याका दर्शकको भारलाई रंगशालाले थेग्न सक्छ कि सक्दैन ? लाग्छ, यसबारेमा सोच्ने मानिस यस भूखण्डमा जन्मिसकेको छैन ।
दर्शक क्षमता मात्रै होइन, रंगशालामा प्रयोग भएका बिम, आर्क, प्लेटलगायतको पछिल्लो अवस्थाबारे पनि मूल्यांकन गरिएको छैन, तिनको पछिल्लो अवस्थाबारे कसैलाई पत्तो छैन । रंगशालाको प्यारापिट चकिर्एको छ, भित्ताहरू फुटेका छन्, पर्खाल भत्किएको छ । कति दर्शक अटाउन सक्छन् भनेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छैन, हचुवाकै भरमा दर्शकलाई रंगशालामा प्रवेश दिने गरिएको छ । क्षमताभन्दा बढी दर्शक रंगशालामा जम्मा हुँदा रंगशालाको प्यारापिटसँगै दर्शकको ज्यान पनि धरापमा रहिरहनेछ । त्यस्तो खतरनाक स्थितिको जिम्मेवारी कसले लिने ?
०००
रंगशाला बाहिर निस्किन्छु । सामुन्ने देखिन्छ–पसल, वल्र्ड ट्रेड सेन्टर, रेस्टुराँ, होटल । बाहिर त निकै गुलजार छ । रमिता हेर्ने, किनमेल गर्ने, आवत–जावत गर्ने, त्यहाँ देखिन्छ अर्कै संसार । रंगशालाबाहिरको बूढो स्लिम रूखका हाँगाहरूमा बसेर कागहरू कराइरहेका छन् । कागको ‘गीत’ झर्कोलाग्दो छ र छ ‘एब्स्ट्रयाक्ट’, शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन : प्याज’ जस्तै । बाहिरको धमिलिएको फुस्रो आकाशजस्तै रंगशालाको इमेज पनि खिइँदै र धमिलो हुँदै छ । चारैतिर भिडभाडको आवाजसँगै रंगशालाको तस्बिर पनि फनफनी घुमेझैँ लाग्छ । रंगशाला मेरो आँखाबाट ओझेल पर्दै जान्छ । शून्य रंगशालालाई छाडेर बाहिरको भिडमा बेपत्ता हुन्छु …।

प्रतिक्रिया