सिद्धान्त अघि लगाएर साहित्य हिँड्दैन

तपाईंको उपन्यास ‘सेतो धरती’ ले भर्खर मदन पुरस्कार प्राप्त गर्‍यो । कस्तो महसुस गर्नुभएको छ ?
यो विजय मेरो मात्र होइन, समग्र युवा पुस्ता र नेपाली साहित्यको विजय हो । यो विजय सारा बालविधवाहरूको पनि हो किनभने उहाँहरूको जीवनका पाइलाले लेखेको यात्रालाई मैले त टुक्राटुक्रामा टिपेको मात्र हुँ । मत यसको निमित्त मात्र हुँ ।
‘सेतो धरती’ त कुनै रिर्पोटिङ वा फिचरजस्तो छ, उपन्यासजस्तो छैन भन्नेहरू पनि छन् नि ।
ए, हो र ? मैले त पहिलोपटक सुन्दै छु । रिर्पोटिङ वा फिचरजस्तो भएको भए कुनै पत्रिकाका सम्पादकले रिर्पाटरको जागिर खान बोलाउन बेर छैन अब, हा हा हा… †
‘सेतो धरती’ तपाईंको वास्तविक लेखाइ हो कि कसैको जीवनमाथि गरिएको सतही कल्पना ?
‘सेतो धरती’ देवघाटमा बसेर बालकविधवाहरूको जीवन अध्ययन गरेर रचिएको उपन्यास हो । ती नदीझैँ सुसाउँदै बगेका आमाहरूको इम्प्रेसनलाई मैले धेरै यथार्थमा थोरै कल्पना मिसेर तयार गरेको हुँ । तर, त्यो कल्पना सत्यलाई नै देखाउन प्रयोग गरेको छु । जीवनदर्शन, मनोविश्लेषण र कला यस उपन्यासका ढुकढुकी हुन् । जसरी मानवजीवन अनेक थोक मिसिएर बनेको हुन्छ, उपन्यास पनि त्यस्तै हो । फरक यत्ति छ जीवन भोगिन्छ तर उपन्यासमा त्यही जीवन भोगाइ पढिन्छ ।
नेपाली भाषाको एउटा सर्वश्रेष्ठ उपन्यास कुन हो ? किन ?
नेपालीमा राम्रा उपन्यास दुई दर्जनभन्दा बढी नै छन् तर एउटाको मात्र नाम लिनुपर्दा ‘सुम्निमा’ भन्छु । यो उपन्यासले बोकेको गहन जीवनदर्शन, मनोविज्ञान र मनोविश्लेषण, पूर्वीय मिथकको विशिष्ट प्रयोग, कला पक्ष, विषय तथा भाषाशैली सबै दृष्टिकोणले मलाई ‘सुम्निमा’ नेपाली भाषामा लेखिएकामध्ये सर्वोत्कृष्ट उपन्यास लाग्छ ।
तपाईं त फुलटाइम लेखक हो क्यारे † एउटा उपन्यास सफल हुँदैमा फुलटाइम लेखक भएर बाँच्न सकिन्छ ?
औसतमा हिसाब गर्दा चैबीस घन्टामा एकदुई घन्टा त लेख्तिनँ होला केको फुलटाइम लेखक हुनु ? सायद म आठ/दस प्रतिशत मात्र लेखक हुँ । बाँकी नब्बे प्रतिशत त अरू केके थोक हुनुपर्छ । त्यति भएपछि बल्ल जीवन हुन्छ । सोच्नु त दीपकजी तपाईं कति प्रतिशत पत्रकार ?
तपाईंलाई कुनबेला पुरुषत्व प्राप्तिको आभाष हुन्छ ?
तपाईंले पुरुष हुनुको भावका बारेमा कुरा नगरी पुरुषार्थ अर्थात् पराक्रम भन्न खोज्नुभएको हो भने आजसम्म मैले त्यस्तो केही पुरुषार्थ गर्नसकेको छैन । पुरुष हुनुकै भाव भन्न खोज्नुभएको हो भने चारपाँच वर्षको हुँदा जब मेरो र मेरा केटी साथीहरूको पिसाब फेर्ने अंग फरक देखेँ, बाआमाले उनीहरूलाई छोरी र मलाई छोरा भनेर बोलाउनुभएको सुनेँ, उनीहरूको कपाल दुई चुल्ठी बाटिदिएर मेरो कपालचाहिँ तँ छोरा होस् भनेर काटियो आदि घटनाहरूको महसुसले म छोरो हुँ भन्ने कुराको प्रथम आभाष भयो । पछि किशोर हुँदै गएपछि जब शारीरिक र मानसिक रूपमा म विकसित हुँदै गएँ तब मलाई आफू पुरुष भएको आभाष भयो ।
तपाईंको कथा ‘हिट’ हुनुमा आफ्नो व्यक्तिगत भोगाइ कत्तिको जिम्मेवार छ ?
जिम्मेवार त अवश्य छ । मेरो मात्र होइन, सबै लेखकको आफ्नो जीवन भोगाइको प्रभाव आफ्ना रचनामा आएको हुन्छ । पात्रको बहाना बनाएर कतै न कतै लेखकले आफ्नो जीवन भोगाइ र अनुभूति लेख्छ । मैले पनि लेखेको छु । तर, म आफ्नो जीवनलाई भन्दा अरूकै जीवनलाई आख्यानमा लेख्न रुचाउँछु किनभने मेरा लागि म रहस्य होइन, अरूको जीवन मलाई रहस्यपूर्ण लाग्छ । त्यसमा पनि म महिला जातिका बारेमा लेख्न रुचाउँछु किनभने म पुरुष महिलाहरू मेरा लागि रहस्य हुन् । मलाई रहस्य लेख्न मनपर्छ । अनि, मलाई सामान्य, विपन्न, दु:खी, शक्ति, सम्पत्ति र सभ्यताको आवरण नभएका मान्छेको कथा लेख्न मन पर्छ । किनभने तिनलाई पढ्दा सक्कली जीवन पढेजस्तै लाग्छ । विश्वको महान् कृति पढ्दाभन्दा तिनलाई पढ्दा कता हो कता आनन्द लाग्छ । ती पात्रले नै मलाई कथा लेख्न झक्झक्याउँछन् ।
‘सेतो धरती’ मा तपाईंले विधवा महिलाप्रति असाध्यै प्रेम व्यक्त गर्नुभएको छ । उपन्यासमा जस्तै कुनै सुन्दरी बालबिधवाले तपाईंसँग असाध्यै प्रेम गरिन् र तपाईंसँग विवाह गर्न चाहिन् भने तपाईंको रेस्पोन्स कस्तो हुनेछ ?
अहिले त बालबिधवा नै हुँदैनन् । हुने भएको भए, मन मिले त्योजस्तो जीवनको सुन्दर पक्ष मेरो जीवनमा सायदै अरू हुने थियो ।
लेखाइमा अभिव्यक्त गरिने सबै कुरामा काव्यात्मक सहभागितालाई कति स्वीकार गर्नुहुन्छ ?
साहित्यलेखन चाहे जुनसुकै विधाको होऊन्, त्यसको वीज भनेको काव्य नै हो । काव्यात्मक अभिव्यक्ति नभएका कथा, उपन्यास, निबन्ध रुखा हुन्छन् । हरियाली नभएको र फूल नफुलेको बगैँचाजस्तो ।
कसका लागि लेख्नुहुन्छ ?
पाठकका लागि, जीवनका लागि । पाठक र जीवन नभए त लेखकै हुन सकिँदैन ।
कथाका पात्रहरूलाई बोधगम्य बनाउन कत्तिको जरुरी ठान्नुहुन्छ ?
पात्रहरू, जसले कथालाई डोर्‍याउँदै एउटा टुंगोमा पुर्‍याउँछन् उनीहरू नै बोधगम्य भएनन् भने त कथा नै बोधगम्य हुँदैन । कथाकारले कथामा पात्रको चरित्रलाई नै बुझाउन त लेख्ने हो ।
तपाईंलाई असाध्यै मनपर्ने कथाकर, जुन कथाकार आफैँ हुन पाएको भए भन्ने लाग्छ ?
मैले आफू हिँड्ने साहित्यको बाटो आफैँ बनाउनु छ । त्यसकारण मन पर्ने कथाकारका कथा पढ्दा सोच्छु, योभन्दा विलकुल फरक शैलीमा मैले लेख्नुपर्छ । आफ्नो भौतिक अनुहार अरूको भन्दा फरक भएजस्तै मेरो लेखनशैलीको अनुहार पनि फरक हुनुपर्छ भन्ने लाग्छ । त्यसकारण मलाई मन पर्ने कथाकारजस्तो हुन मन छैन ।
अधिकांश कथाकार घटना मात्र प्रस्तुत गर्छन् । कतिपयचाहिँ घटनाबाट टाढा भएर सिद्धान्तमात्र फलाक्छन् । साहित्यमा सिद्धान्त र आख्यानको सन्तुलन कसरी तय गर्ने ?
मेरो विचारमा सामान्यतया तीन प्रकारले आख्यान लेखिन्छ । घटनाप्रधान, अनुभवप्रधान र अनुभूतिप्रधान । घटनाप्रधान हुनु भनेको समाचारको विकसित रूप मात्र हो, एक किसिमको रिपोर्ताज । अनुभवप्रधान हुनु भनेको अनुभूतिको कच्चा रूप हो, नौनी घिउजस्तो, जुन खारिएको हुँदैन । अनुभूतिप्रधान हुनु भनेको खारिएको जीवनअनुभव, जो कोमल रूपले जीवनदर्शन बनेर नजानिँदो गरेर पात्रको भोगाइबाट आएको हुन्छ । अनुभूति जीवनलाई निचोरेर, पकाएर निकालिएको त्यो बाफ हो, जो जति धेरै समय राख्यो त्यति ताजा र मूल्यवान् हुँदै जान्छ, उच्चस्तरको रक्सीजस्तै । अनुभूतिको गहन अभिव्यक्ति त प्रेमजस्तै कोमल र मदिराजस्तै लाग्ने हुन्छ । सिद्धान्त मात्र भएको त कथा नै भएन । सिद्धान्त भन्ने कुरा जीवनजगत्लाई हेरेर बनाइएको कठोर नियम हो । साहित्यले त जहिले पनि सिद्धान्तभन्दा अगाडि बढेर कुद्छ पहाडलाई पछाडि छाडेर नदीहरू अगाडि बगेझैँ, सिद्धान्तलाई अघि लगाएर साहित्य हिँड्दैन । आख्यान त कोमल हुन्छ पानीजस्तो तर शक्तिशाली । कथामा जीवन लेखेर कहिल्यै नजाने प्राण भर्नसके त्यो कालजयी हुन्छ ।
तपार्इंको उपस्थितिले नेपाली साहित्यलाई फाइदा के/घाटा के ?
मैले केही गतिलो लेख्न सकेँ भने यो कुराको मूल्यांकन पाठकले र भोलि इतिहासले गर्नेछ ।
यहाँ कस्तो साहित्य लेखियो भन्दा पनि कसले लेख्यो भन्नेमा बढी चासो राखिन्छ । यस्तो किन हुन्छ ?
यो संसारकै रोग हो । सुरुमा फ्याँकिएका लेखकहरू पछि हीरा बनेर आएका उदाहरण विश्वसाहित्यमा प्रशस्त छन् । पहिले हीरा ठानिएकाहरू पछि कीरा पनि भएका छन् । ढिलोचाँडो मूल्यांकन त हुन्छ । तर, ढिलो मूल्यांकन हुँदा लेखकको जीवन घर्किसकेको पनि हुन्छ । यति छोटो मान्छेको जीवनमा उसको प्रतिभाको मूल्यांकन ढिलो हुँदा विचरा लेखकको के हाल होला । कस्तो दुखद् कुरा ।
लेखक बजारअनुसार चल्नुपर्छ कि आफैँ बजार क्रिएट गर्नुपर्छ ?
दुवैलाई सन्तुलन गर्नुपर्छ । अति प्रतिभावान् लेखकले भने बजार आपैँm क्रिएट गर्छन् ।
आफ्ना उपन्यास र कथाहरूको लामो आयुप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
त्यही विश्वासले त लेखिरहेछु । सकेसम्म त कालजयी होऊन् । नसके कमसेकम म जिउँदै छँदा मैले मेरा उपन्यास र कथाहरूको किरिया बस्न नपरोस् ।
कथामा आवेग जरुरी हुन्छ कि विवेक ?
मेरो सवालमा भने म आवेगले लेख्छु र विवेकले सच्याउँछु ।
पछिल्लो समय पढेकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको कथासंग्रह कुन हो ?
झुम्पा लाहरीको कथासंग्रह ‘इन्टरप्रेटेसन अफ मालाडिज’ ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया