किताब : संसार चियाउने आँखा

मलाई बाल्यकालमा एक्लोपनको अनुभूतिले साह्रै सताउँथ्यो । बुबा मेडिकल डाक्टर हुनुहुन्थ्यो । सायद प्रतिबन्धित नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भएर होला, त्यसबेलाको पञ्चायती सरकारले नेपालका दुर्गम क्षेत्रमा सरुवा गरिरहन्थ्यो । ती ठाउँमा स्कुल टाढा हुन्थे र हस्पिटलको क्वार्टरबाट झन्डै दुई घन्टा हिँड्दा मात्रै पुगिन्थ्यो । सानो छँदा म अत्यन्त दुब्लो–पातलो थिएँ र बारम्बर बिरामी भइरहन्थँे । त्यसैले दुई घन्टाको बाटो हिँडेर स्कुल आऊ–जाऊ गर्न मलाई सम्भव थिएन । फलस्वरूप मैले चार कक्षामा मात्र स्कुल प्रवेश गर्नसकेँ, त्यसअघि आमाले मलाई घरमै पढाउनुहुन्थ्यो । स्कुल नजाने हुनाले साथीभाइ भएनन् । त्यसबाहेक मेरा दिदी–बहिनी वा दाजुुभाइ पनि थिएनन् । स्कुले साथी र दाजु–भाइ, दिदीबहिनी नभएर एक्लिएको मेरो जीवन साह्रै पट्यारलाग्दो थियो । त्यस अवस्थामा पुस्तकहरू नै मेरा साथीसंगी बन्न पुगे । पुस्तकहरू नै मेरा निम्ति दाजुभाइ, दिदीबहिनी थिए । एक्लोपना हटाउन म तिनीहरूकै संगत गर्न थालेँ ।
हाम्रो घर पुस्तकहरूले भरिएको थियो । बुबालाई दर्शनमा रुचि थियो भने आमालाई अंग्रेजी उपन्यासमा । मेरा निम्ति बुबाले बेलायतकी प्रसिद्ध बालसाहित्यको लेखिका एनिड ब्लाइटनका पुस्तक मगाइरहनुहुन्थ्यो । ती थुप्रै पढँे । घरमा रामायण, महाभारत र पुराणका कथाहरू पनि थुप्रै थिए । ती पनि पढ्दै गएँ । त्यसबेलादेखि मेरो पढ्ने बानी बस्यो । म अक्षरहरूमा रमाउन थालेँ ।
पुस्तकहरूले मेरो चेतन मस्तिष्कलाई मात्र नभएर मेरो अवचेतनलाई र त्यस अवचेतनबाट उम्रिने दिवास्वप्नहरूलाई समेत प्रभाव पारेका हुन्जस्तो लाग्छ । सात–आठ कक्षामा पुगुन्जेल म एनिड ब्लाइटन छाडेर आमाले पढ्ने जेम्स हेडली चेज तथा अगाथा क्रिस्टीका जासुसी उपन्यास पढ्ने भइसकेको थिएँ । तीबाट प्रभावित भई म आफूलाई मनमनै जासुस बनाउँथे र काल्पनिक रहस्यहरूको काल्पनिक समाधान खोज्थेँ । नौ–दस कक्षातिर पुगेपछि भने अध्ययनमा पुस्तकले मन तान्न थाले । बुबाले पढ्ने विवेकानन्द, रजनीश र जे कृष्णमूर्तिका किताब पढ्न थालेँ । कृष्णमूर्तिलाई बुझ्न अलि गाह्रो थियो तर रजनीशका किताब खुब चाख मानेर पढ्थेँ ।
मलाई सानो छँदा थुप्रै कलात्मक विधाहरूमा रुचि थियो । गीत गाउनु र बाजा बजाउन निकै मनपथ्र्यो अनि चित्र कोर्न र अभिनय गर्न पनि । तर, मैले चार कक्षादेखि पढ्न थालेको शनिश्चरे झापाको गाउँको स्कुलमा यी सबै विधा सिकाउने प्रावधान थिएन । न संगीतको कक्षा थियो न चित्रकलाको । वर्षमा एकपल्ट नाटक त हुन्थ्यो तर सरहरूलाई मेरो अभिनय क्षमतामा शंका भएकाले नाटकमा कहिल्यै खेल्न पाइनँ । नाटक, चित्रकला र संगीतमार्फत आफूलाई खोज्न नपाएपछि म पुन: पुस्तकहरूतिरै फर्कें । देवकोटा र माधव घिमिरेका कविता पढेर प्रभावति भई आफैँ कविता लेख्न खोजेँ । उपन्यास पनि लेख्न रहर थियो तर त्यसबेला मेरो लामा कथानक लेख्ने क्षमता थिएन । एउटा वामपन्थी ढाँचाको नाटक पनि लेखेँ । केही साथीहरूसँग मिलेर स्कुल बन्द भएपछि खाली कोठामा अभ्यास पनि गरियो । तर, पञ्चायत कालको जगजगी बढेको त्यस समयमा उक्त नाटक प्रदर्शन गर्ने कुनै उपाय थिएन, बरु हेडसरले त्यस्तो नाटक लेखेकोमा निक्कै हप्काउनुसमेत भयो । पछि गएर उक्त नाटकको पन्डुलिपि नै हरायो ।
दस कक्षा पढ्दा परमहंस योगानन्दको ‘अटो वायोग्राफी अफ अ योगी’ भन्ने पुस्तक पढेँ । त्यस पुस्तकले यति प्रभाव पार्‍यो कि एकपल्ट त जोगी नै हुने निर्णयसमेत गरेँ । एसएलसी पास गरेर झापाबाट काठमाडौं आई अमृत साइन्स क्याम्पसमा पढ्न थाल्दा पनि म कक्षा छाडी–छाडी पशुपति गई जोगीहरूसँग संगत गरिरहन्थेँ । तीन महिनाजति त पशुपतिका घाटमै बसेँ । जोगीको जीवन मेरा लागि उपयुक्त रहेनछ भनेर थाहा पाई फर्केपछि पनि धेरै समयसम्म ती अनुभवले मलाई पछ्याइरहे । कीर्तिपुरमा एमए पढुन्जेलसम्म पनि जोगीजस्तै हुन खोज्थेँ, कहिले लामो कपाल राख्थँे भने कहिले टाउको मुडेर चिन्डे पार्थें । तर, यी सबै क्रियाकलापले मलाई आध्यात्मिक मुक्तिको नजिक पुर्‍याएनन्, बरु मेरा आफन्त, साथीसंगी र प्रेमिकालाई भ्रमित मात्र तुल्याएँ । अहिले आएर लाग्छ, सायद कपाल पालेर लामो पार्ने वा मुडेर चिन्डे हुनेजस्ता गतिविधिले नै गर्दा मलाई मेरी प्रेमिकालाई फकाउन मलाई झन्डै एक वर्ष समय लाग्यो ।
एमए पास गरेलगत्तै त्रिविको केन्द्रीय अंग्रेजी विभागमा पढ्न थालेपछि भने म अध्यात्मको सट्टा राजनीतिक र सांस्कृतिक सिद्धान्तमा रम्दै गएँ । राजनीशको सट्टा कार्लमाक्र्स तथा योगानन्दको सट्टा एडवार्ड साइद र जुडिथ बटलरका पुस्तक पढ्न थालँे । गायत्री स्पिवाक, फेडरिक जेमसन तथा जुलिया क्रिस्टेवाकका सैद्धान्तिक पुस्तक पनि पढेँ । मलाई लाग्यो– आध्यात्मिक मुक्ति इतिहास र राजनीतिको धरातलभन्दा ‘बाहिर’ तर ‘माथि’ हुँदैन । समसामयिक संसारमा ‘मुुक्ति’लाई अध्यात्मसँग मात्र जोड््न सकिँदैन । जबसम्म मानिस आर्थिक र राजनीतिक रूपले मुक्त हँदैन, तबसम्म अध्यात्मिक मुक्तिका कुरा अप्राप्य हावादारी सपनाका रूपमा मात्र सीमित रहन्छन् ।
दर्शन तथा सिद्धान्तबाहेक मलाई मनपर्ने अर्को मुख्य विधा हो– उपन्यास । मलाई यथार्थवादी तथा प्रयोगदाबी दुवै किसिमका उपन्यास मन पर्छन् । यथार्थवादी उपन्यासमध्ये मन परेका पुस्तक हुन्– फ्योदो र दोस्तोबस्कीका ‘क्राइम एन्ड पनिसमेन्ट’ र ‘ब्रदर्स करामजोव’, लियो टाल्सटयको ‘वार एन्ड पिस’ तथा एमिल जोलाका ‘नाना’ । चाल्र्स डिकेन्स, मिखाइल सोलोखोब तथा अर्नेस्ट मिलर हेमिङ्वे पनि मलाई मन पर्ने लेखक हुन् । प्रयोगवादी उपन्यासको कोटामा मलाई सबैभन्दा मन पर्ने लेखक हुन् आयरल्यान्डका जेम्स जोयस । उनको ‘युलैसिस’ मलाई सबैभन्दा मन परेको पुस्तक हो । पढ्न साह्रै गाह्रो तर पढिसकेपछि त्यसको प्रभाव पछिसम्म परिरहने । त्यस्तै, गरेर थोमस पिन्चनको ‘ग्राविटी रेन्वो’ र सलमन रुस्दीको ‘मिडनाइट्स चिल्ड्रेन’ पनि मलाई मन परेका प्रयोगवादी उपन्यास हुन् । नेपालीमा पनि राम्रा उपन्यास लेखिएका छन् । यथार्थवादी धार समातेर लेखिएका रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ तथा नारायण ढकालको ‘प्रेतकल्प’ मन परेका उपन्यास हुन् । प्रयोगात्मक धारमा लेखिएका कृष्ण धरावासीको ‘शरणार्थी’ र ‘राधा’ कृष्ण अविरलको ‘रक्तकुण्ड’ र युग पाठकको ‘उर्गेनको घोडा’ पनि मलाई मन परे । यसबाहेक अमर न्यौपानेको ‘सेतो धरती’ र बुद्धिसागर चपाईंको ‘कर्नाली ब्लुज’लगायत अन्य थुप्रै नेपाली लेखकका रचना मन पर्छन् ।
पुस्तकले मेरा जीवनको क्षितिजलाई फराकिलो बनाउन मद्दत गरेका छन् । पुस्तकको संसारमा नछिरेको भए मैले जीवन र जगत्का थुप्रै रंगहरू अनुभव गर्नसक्ने थिइनँ । तिनले मलाई आफूले अनुभव गर्न नसकेका अनौठा संसारमा पुर्‍याएका छन्, आफूले नसोचेका विचारसँग जम्काभेट गराएका छन् । संस्कृति, समाज तथा आफ्नै जीवनका अनुभूतिलाई समेत नयाँ ढंगले हेर्न, बुझ्न सम्भव बनाएका छन् ।

प्रतिक्रिया