ट्रान्सफर्मर प्रकरणमा श्रेष्ठलाई सफाइ

काठमाडौं : ०६४ सालपछि नेपाल विद्युत् प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मर गुणस्तरहीन पाइएपछि उक्त प्रकरणमा मुछिएका प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले सफाइ पाएका छन् ।
गत शुक्रबार श्रेष्ठको नामसमेत छानबिन प्रतिवेदनमा परेपछि सोही दिन उनलाई स्पष्टीकरण सोधिएको थियो । प्राधिकरण सञ्चालक समितिको शुक्रबारको बैठकले स्पष्टीकरण चित्तबुझ्दो भएको भन्दै श्रेष्ठलाई सफाइ दिएको हो । बैठकले प्रतिवेदनले गुणस्तरहीन ट्रान्सफर्मर पठाउने सबै कम्पनीसँग आर्थिक कारोबार रोक्का गर्ने तथा उनीहरूसँग भएको सम्झौताअनुसार अघि बढ्ने निर्णय पनि गरेको छ ।
गुणस्तरहीन ट्रान्सफर्मर आयातमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न सञ्चालक समिति सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले श्रेष्ठसहित ३० भन्दा बढी कर्मचारी संलग्न भएको प्रतिवेदन दिएको थियो । प्राधिकरण वितरण तथा ग्राहक पश्चिमका महाप्रबन्धक हुँदा भएको ट्रान्सफर्मर प्रकरणमा उनी संलग्न भएको प्रतिवेदनले देखाएको थियो ।
ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका अन्यलाई स्पष्टीकरणलगायत कारबाही प्रक्रिया थाल्न समितिले श्रेष्ठलाई निर्देशन दिएको छ । सम्झौताअनुसार सबै ट्रान्सफर्मर प्रतिस्थापनका लागि समेत बैठकले बाटो खुला गरेको छ । ट्रान्सफर्मर आयात गरेका चीनको हुवेई कम्पनी र अर्को सप्लायर्स जेके कम्पनीले दुई हजार ट्रान्सफर्मर प्रतिस्थापन गर्ने भन्दै प्राधिकरणमा निवेदन दिएका थिए ।
प्रतिवेदनमा विभिन्न कम्पनीबाट ल्याइएका ट्रान्सफर्मर निरीक्षणमा गएका कर्मचारीलाई दोषी तथा त्यो फाइल मूल्यांकन, सदरलगायत गर्नेलाई अप्रत्यक्ष दोषी देखाइएको छ । प्रतिवेदनअनुसार पूर्वकार्यकारी निर्देशकहरू टीकाराम विसी, दीपेन्द्रनाथ शर्मा, रामेश्वर यादव र डा. जीवेन्द्र झा तथा पूर्वमहाप्रबन्धकहरू दीपक उपाध्याय र युगोलकिशोर शाहलगायत दोषी देखिएका छन् ।
चैत २५ गते प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन गर्न बनेको समितिले ०६४ सालयता ल्याइएका ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको थियो । (सौस)

प्रतिक्रिया