प्याकेजमा सहमति खोजिने

काठमाडौं, ६ असोज । प्रमुख चार दलले सहमतीय सरकार गठन र नयाँ चुुनावसम्बन्धी सबै प्रक्रियामा प्याकेजमा सहमति जुटाउने भएका छन् ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरू सम्मिलित बैठकमा शुक्रबार नयाँ चुनावका संवैधानिक र कानुनी प्रक्रिया तथा सहमतीय सरकार गठनबारे प्याकेजमा सहमति खोज्ने समझदारी भएको हो । नयाँबानेश्वरस्थित माओवादी लडाकुको रेखदेख, पुन:स्थापना तथा समायोजनसम्बन्धी विशेष समिति सचिवालयमा बैठक बसेको थियो । बुधबार शीर्ष नेताहरूको बैठकले संविधानसभा पुन:स्थापनाको विकल्प अन्त्य गरी संविधानसभाको नयाँ चुनावमा जाने सहमति गरेको थियो । बैठकपछि नेताहरूले चुनावका लागि संवैधानिक तथा कानुनी प्रबन्ध तथा सहमतिको सरकार गठनका विषयमा शुक्रबार छलफल गर्ने बताएका थिए ।
शुक्रबारको बैठकमा एमाओवादी र मधेसी मोर्चाले नयाँ सरकार गठनअघि चुनावी प्रक्रियासम्बन्धी सहमति गर्नुपर्ने र कांग्रेस, एमालेले पहिले सहमतीय सरकार गठन गरी त्यसैमार्फत सबै कानुनी प्रबन्ध तथा चुनावको तयारी र घोषणा गर्नुपर्ने अडान राखेका थिए । ‘चुनावका लागि सहमतिको सरकार गठन र चुनावका सबै प्रक्रियामा सहमति गर्नुपर्छ भन्ने भयो,’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘सहमतिको सरकार र चुनावी प्रक्रियाका विषयमा प्याकेजमा सहमति गर्ने समझदारी भएको छ ।’
एमाओवादी अहिलेको सरकारले नै चुनाव घोषणा गरी त्यसपछि मात्रै चुनावसम्बन्धी अरू प्रक्रिया निर्धारण गर्नुपर्ने पक्षमा देखिएको थियो । प्रक्रियाका विषयमा पहिले सहमति कि सरकार गठन भन्नेमा दुई पक्षबीच मतभेद देखिएको थियो । तर, चुनावी सरकार र प्रक्रियालाई प्याकेजमा सहमति खोज्ने र त्यसका लागि आइतबार शीर्ष नेताको बैठक बस्ने नेताहरूले जनाएका छन् ।
‘संविधान संशोधन गर्नुपर्‍यो, चुनाव क्षेत्र निर्धारण गर्नुपर्‍यो र चुनावसम्बन्धी अरू प्रक्रिया निर्धारण गर्नुपर्‍यो,’ बैठकपछि एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘सरकार गठनसहित चुनाव तयारीका सबै प्रक्रियामा प्याकेजमा सहमति खोज्ने सहमति भएको छ ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई र कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि बैठक केही बेर बसेर टुंगिएको थियो । कांग्रेस, एमालेले सहमतीय सरकार गठनपछि मात्र चुनाव घोषणा गर्ने बटमलाइन अघि सारेका छन् भने एमाओवादी र मधेसी मोर्चाले अहिलेको सरकारबाटै चुनाव घोषणा गर्ने तयारी गरेका छन् । एमाओवादीले आºनो नेतृत्वमा सरकार गठन नभए गैरराजनीतिक नेतृत्वको चुनावी सरकारको अवधारणासमेत अगाडि सारेको छ भने उसले कांग्रेस नेतृत्वमा चुनावी सरकार अस्वीकार गरेको छ ।

कांग्रेस नेतृत्वमा सरकार : एमाले
प्रमुख चार दलको बैठकमा एमालेले कांग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने अनौपचारिक प्रस्ताव राखेको स्रोतले बताएको छ । ‘पहिले एकपटक सहमति पनि भएको हो हामी कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकारात्मक छौँ,’ एमालेका एक नेताले सौर्यसँग भने, ‘सरकारमा हाम्रो पहिलो दाबी हुनेछैन ।’ कांग्रेसले पनि भट्टराई सरकारको नेतृत्वमा चुनावमा जान नसकिने निष्कर्ष निकाल्दै नयाँ सरकारको नेतृत्व पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले कांग्रेस नेतृत्वको सरकार गठनका लागि अन्य दलसँग संवाद केन्द्रित गर्ने पनि निर्णय गरेको छ ।

‘सहमतीय सरकारपछि मात्र चुनाव घोषणा’

काठमाडौं : एमालेले नयाँ चुनाव घोषणाका लागि सहमतीय सरकार गठन पहिलो आवश्यकता भएको ठहर गरेको छ ।
संविधानसभाको नयाँ चुनावमा जाने चार दलबीचको सहमतिपछि छलफल गर्न शुक्रबार बल्खुस्थित पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले सहमतीय सरकार गठनपछि मात्र नयाँ चुनाव घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले नयाँ सरकारको नेतृत्वका लागि एमाओवादीलाई छाडेर खुला रहने निर्णयसमेत गरेको छ ।
‘नयाँ चुनावमा जानुपहिले सहमतिको सरकार गठन गर्नुपर्छ र पार्टीले त्यसैतर्फ पहल केन्द्रित गर्ने निर्णय गरेको छ,’ सचिव विष्णु पौडेलले सौर्यसँग भने, ‘चुनाव गर्न सहमतिको सरकार आवश्यक पर्ने भएकाले चुनावसम्बन्धी सबै काम सरकार गठनपछि मात्रै अगाडि बढाउनुपर्छ ।’
एमाओवादीको नेतृत्वमा अबको सरकार हुँदैन भनिसकेको उल्लेख गर्दै सचिव पौडेलले अन्य दलको नेतृत्वका विषयमा भने आफूहरू खुला रहेको बताए । एमाओवादी नेतृत्वको सरकारले नै संविधान बन्न नदिई संविधानसभा विघटन गराएको र त्यसको नैतिक दायित्व पनि स्वीकार नगरेकाले नयाँ बन्ने चुनावी सरकारको नेतृत्व एमाओवादीलाई दिन नसकिने एमालेको निष्कर्ष छ ।
सरकारको नेतृत्वमा पहिलो दाबी एमालेले प्रस्तुत नगर्ने भएको छ । ‘चुनाव घोषणाअघि सहमतिको सरकार गठन गर्नुपर्छ र चुनावका लागि अन्य संवैधानिक तथा कानुनी प्रबन्ध गर्नुपर्छ भन्ने हाम्रो मुख्य कुरा हो,’ सचिव पौडेलले भने, ‘सरकारमा हाम्रो पहिलो दाबी हुनेछैन ।’
एमाओवादीले भनेजस्तो गैरराजनीतिक नेतृत्वको सरकारका विषयमा भने एमालेले निर्णय लिएको छैन । ‘त्यति पर पुगेर हामीले छलफल गरेका छैनौँ सरकारको नेतृत्व राजनीतिक दलले नै गर्ने हो र राजनीतिक सहमतिमा राष्ट्रिय संकट समाधान गर्ने हो,’ पौडेलले भने । (सौस)

 

प्रतिक्रिया