पूर्व राजाको विरोधप्रति नेपाल असहमत

काठमाडौं, ५ असोज । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति असहमति जनाएका छन् ।
गणेशमान सिंह स्मृति केन्द्र टोखाले आज काठमाडौंमा गरेको स्मृति सभामा उनले नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको टिप्पणी गरे । ‘नेपालका लागि सबै नागरिक बराबर छन्,’ उनले भने, ‘पूर्वराजाको भ्रमणलाई पनि कसैले विरोध गर्नु हुँदैन ।’
पूर्व राजा शाहलाई जिल्ला प्रवेशमा रोक लगाएर विभिन्न स्थानमा विरोध भईरहेका समयमा एमाले नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।
नेता नेपालले राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म अन्य विषयमा सहमति हुन नसक्ने प्रष्ट पारे । बाबुराम भट्टराई नेतृत्वको सरकारको सहज वहिर्गमन पछि राष्ट्रिय सहमतिको सरकार गठन नै आफूहरुको पहिलो सर्त रहेको उनको भनाई छ ।
उनले सत्ता कव्जाको मानसिकता वोकेर हिँडिरहेको एमाओवादी यही अवस्थामा सरकार छाड्ने मनस्थितिमा नरहेको दाबी पनि गरे ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा रहेका विवादित विषयलाई जनमतसंग्रहबाट टुंग्याउनु पर्ने सुझाव दिए । सिंहले फेरि निर्वाचनबाट बन्ने संविधानसभाले संविधानका विवादित विषयमा सहमति जुटाउन नसक्ने जनाए ।
उनले विवादित विषयमा जनमत संग्रह उपयुक्त विकल्प रहेको बताए । सिंहले सहमति विना सरकारले नयाँ निर्वाचनको घोषणा गरेकै कारण देश संवैधानिक संकटमा फसेको आरोप पनि लगाए ।

प्रतिक्रिया