संविधानसभाबाटै नयाँ संविधान आउँछः प्रधानमन्त्री

काठमाडौं, ५ असोज । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाबाटै नयाँ संविधान जारी गर्ने दोहराएका छन् । उनले संविधानसभाको नयाँ निर्वाचन गरेर संविधान जारी गर्न आफू लागेको बताए ।
सिंहदरबारस्थित शान्ति मन्त्रालयमा ३१ औं अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संबिधानसभाबाटै नयाँ संविधान जारी नहुँदा सम्म मुलुकमा राजनीतिक स्थिरता नहुने बताए । उनले भने, ‘संविधानसभाबाटै नयाँ संविधान घोषणा गर्नु पर्छ ।’
उनले मुलुकमा राजनीति स्थिरिता नभएसम्म शान्ति प्रक्रियाले पनि पूर्णता नपाउने उल्लेख गरे ।
दलहरुका बीच देखिएको बिबादमा सहमति गरेर संबिधानसभाबाटै नयाँ संबिधान बनाउने तर्फ मुलुक अगाडि बढ्ने उनको भनाई छ । उनले दलहरुबीच छिट्टै नयाँ निर्वाचनको प्रक्रियाका बिषयमा सहमति हुने बिश्वास व्यक्त गरे ।
उनले मुलुकमा जारी राजनीतिक संकट अन्त्य भएपछि आर्थिक समृद्धी तर्फ अगाडि बढ्न सहज हुने बताए ।
प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियाको मुख्य पाटो समायोजनको कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरे । उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोग गठनका निम्ती अध्यादेश राष्ट्रपति समक्ष पठाईसकेको बताए ।

प्रतिक्रिया