हेडेनले छाडे सक्रिय क्रिकेट

ब्रिस्बेन : एक सिजन बिग व्यास लिग क्रिकेट खेलेका पूर्वभेट्रान अस्ट्ेरलियाली ओपनर म्याथ्यु हेडेनले सबै ‘फम्र्याट’ का क्रिकेटबाट बिहीबार सन्न्यासको घोषणा गरेका छन् । उनले यो सन्न्यासबारे गत वर्षको ग्रीष्मकालीन सत्रमै बलियो संकेत दिइसकेका थिए ।
‘मलाई लाग्दैन, म अर्को वर्ष पनि खेलिरहनेछु…. मेरा लागि सक्रिय क्रिकेट अब यत्ति नै हो,’ हेडेनले गत डिसेम्बरमा भनेका थिए, ‘मेरो जीवनमा धेरै कुरा भएका छन् तर हामी कसैले घडीको सुई पछाडि फर्काउन सक्दैनौँ । सर्वप्रथम त म तीन केटाकेटीको पिता हुँ र मैले पिचभन्दा बाहिर आएर गर्नुपर्ने धेरै कुरा छन् ।’ सक्रिय खेलाडी जीवन छोडेपछि ४१ वर्षीय हेडेन बिबिएलको बोर्ड सदस्य र त्यसपछि त्यसको आर्थिक साझेदार बन्न इच्छुक छन् । बिबिएल पहिलोपटक २०११–०१२ को सत्रमा सुरु भएको हो र यसले भारतको ग्ल्यामरस आइपिएलजस्तै अस्ट्ेरलियामा राम्रो परिणाम देखाउने सम्भावना तीव्र छ ।
हेडेनले १०३ टेस्टमा ३० शतकसहित ८ हजार ६२५ रन बनाएका थिए । उनले १६१ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच पनि खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेपछि उनी आइपिएलमा चेन्नाई सुपरकिङ्सको तर्फबाट खेलेका थिए । (एजेन्सी)

प्रतिक्रिया