तृणमुल मन्त्रीलाई राजीनामा दिन निर्देशन

कोलकाता : भारतको खुद्रा व्यापारमा विदेशी पुँजी खुला गर्ने निर्णय केन्द्र सरकारले फिर्ता नलिएपछि सत्तारूढ संयुक्त प्रगतिशील गठबन्धनको प्रभावशाली घटक तृणमुल कांग्रेसका तर्फबाट केन्द्र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले शुक्रबार राजीनामा गर्ने भएका छन् । निर्णय फिर्ता लिन तृणमुल कांग्रेसले केन्द्र सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटमको सुनुवाइ नभएपछि तृणमुल कंग्रेस अध्यक्ष ममता बनर्जीले आºना मन्त्रीलाई शुक्रबार राजीनामा गर्न निर्देशन दिएकी छन् । बुधबार उनले सत्तारूढ संयुक्त प्रगतिशील गठबन्धनको सरकारलाई दिँदै आएको सहयोग फिर्ता गर्ने घोषणा  गरेकी थिइन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाउ पत्रमार्फत शुक्रबारै राष्ट्रपतिसमक्ष बुझाइने पनि उनले बताएकी छन् । बिहीबार संवाददातासँग उनले भनिन्, ‘यस (सरकारबाट बाहिरिने) विषयमा हामीले निर्णय गरिसकेका छौँ । हाम्रा मन्त्रीले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा बुझाउनेछन् । राष्ट्रपतिसमक्ष भेटघाटको समय मिलाउने प्रयास पनि गरिरहेका छौँ ।’ दलका सबै मन्त्री राजधानी नयाँदिल्लीतर्फ हिँडिसकेको जनाउँदै उनले राजीनामाको निर्णयमा पुनरावलोकन नहुने प्रस्ट पारेकी छन् ।
के तपाईं पनि दिल्ली जाँदै हुनुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘तपाईं नै भन्नुस्, म दिल्ली किन जाने ? सय करोड कमाउनका लागि ? विज्ञापनका लागि ? कि राजनीतिक मोलमोलाइका लागि ? यस्ता कुरामा मलाई विश्वास छैन ।’ पश्चिम बंगालकी मुख्यमन्त्रीसमेत रहेकी बनर्जीको दलले खुद्रा व्यापारमा विदेशी पुँजी निवेशको विरोध गर्दै आएको छ ।
तपाईंले उठाएको मुद्दामा अन्य पार्टीलाई समेत सहमत गराउन छलफल गर्दै हुनुुहुन्छ कि भनी सोध्दा उनले भनिन्, ‘बाटोमा हिँड्न थालेपछि बाटो आफैँ पथप्रदर्शक बन्छ । सबै
(दल)सँग हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । त्यसैले यो मुद्धामा सबै एक भएको देख्नुहुनेछ ।’ विदेशी लगानी खुला गर्ने सरकारको निर्णय जनविरोधी भएको आरोपसमेत उनले लगाइन् । ‘विदेशी लगानी पाउने लालसामा देश बेच्न पाइन्छ ? हामी जनतामा विश्वास गर्छौं । देश र जनताले यो विषयमा फैसला गर्नेछन् ।’
केन्द्र सरकार अविचलित
तृणमुल कंग्रेसले समर्थन फिर्ता लिए पनि केन्द्र सरकारलाई कुनै फरक नपर्ने जनाउ दिइएको छ । नयाँ मित्र (दल)लाई सरकारमा सामेल गर्न कुनै अप्ठ्यारो नहुने भन्दै केन्द्र सरकारका वित्तमन्त्री पी चिदम्बरमले तृणमुल कंग्रेस बाहिरिए सरकारको स्थायित्वमा कुनै आँच नआउने दाबी गरेका छन् । ‘हिजो पनि हामीसँग पर्याप्त मित्र थिए, आज पनि छन् । यस्तो अवस्थामा हाम्रो स्थिरताबारे कसैले आशंका नगरे हुन्छ,’ उनले भने । सूचना तथा प्रसारणमन्त्री अम्बिका सोनीले ५ सय ४५ सदस्य लोकसभामा ३ सय सांसद सरकारको पक्षमा रहेको दाबी गरेकी छन् ।(एजेन्सी)

प्रतिक्रिया