प्रहरीद्वारा घुस फिर्ता

बाग्लुङ, ५ असोज । जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत प्रहरीले यौन प्रकरणमा लिएको ४० हजार घुस फिर्ता गरेको छ । बाग्लुङ बजारको समुन्द्र होटलबाट एक जोडीलाई पक्राउ गरी छाड्ने क्रममा घुस लिएको रहस्य खुलासा भएपछि प्रहरीले रातारात रकम फिर्ता गरेको हो ।
सुरुमा सिआइडीले घुस लिएको बताइए पनि अनुसन्धानका क्रममा तत्कालीन प्रमुख इन्स्पेक्टर शिवराज ढुंगानाले रकम लिएको पाइएपछि फिर्ता गरिएको प्रहरीले बताएको छ । घुस प्रकरणमा ढुंगानाको संलग्नता देखिएपछि उनलाई विभागीय कारबाहीका लागि अञ्चल प्रहरी कार्यालयमा तानिएको छ ।
बाग्लुङ तंग्राम–७ का रामु भन्ने धनप्रसाद कँडेल र सोही गाविसकी एक युवतीलाई अवैध यौन क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । तर, पक्राउ गरेलगत्तै कँडेल तत्काल जापान जान लागेकाले समस्या हुने भन्दै छाडिदिन भनेपछि कँडेलका परिवार र आफन्तले प्रहरीलाई ४० हजार रुपियाँ घुस दिएका थिए । पैसा नदिए सार्वजनिक मुद्दा लगाएर तत्काल जापानको यात्रा रोकिदिने चेतावनी दिएपछि दिएको पैसा प्रहरीले फिर्ता गरेको कँडेलका आफन्त यमकान्त कँडेलले बताए ।
घुस लिएको समाचार सार्वजनिक भएपछि प्रहरीले इन्स्पेक्टर बद्री श्रेष्ठको संयोजकत्वमा सई शैलेन्द्र खड्का र असई बद्री शर्मा सदस्य रहेको छानबिन टोली गठन गरेको थियो । टोलीले घुस लिएको देखिएको प्रतिवेदन बुझाएपछि ढुंगानालाई विभागीय कारबाहीका लागि भन्दै अञ्चल प्रहरी कार्यालयले तानेको डिएसपी कृष्ण सिवाकोटीले बताए । ‘घुस प्रकरणमा संलग्न ढुंगानालाई थप अनुसन्धान गरी नसियत दिनेसम्मको कारबाही हुन्छ,’ उनले भने, ‘त्यसभन्दा माथिको कारबाही अञ्चल प्रहरी कार्यालयबाटै हुन्छ ।’
अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपानेले ढुंगानाले पैसा लिएको पुष्टि भइसकेको बताए । ‘घटनामा संलग्नलाई विभागीय कारबाहीका लागि कार्यालय मातहतमा तानेका छौँ,’ उनले भने, ‘अपराधको गाम्भीर्यता हेरेर आवश्यक कारबाही गर्छौं ।’
डिएसपी सिवाकोटी बिदामा राजधानी गएको र निमित्त प्रमुखको जिम्मेवारी ढुंगानाले सम्हालेका बेला घटना भएको थियो । कँडेलका अनुसार केटीलाई नबिल बैंकमा खाता खोलेर ५० हजार रुपियाँ दिइएको छ । अस्पतालमा चेकजाँच गर्दा सम्पर्क नभएको पुष्टि हुँदासमेत महिला अधिकारकर्मीको पहल र दबाबमा कँडेलले एक लाख रुपियाँ खर्च गरेका थिए । त्योमध्ये ५० हजार रुपियाँ युवतीलाई, ४० हजार रुपियाँ प्रहरीलाई र १० हजार रुपियाँ अन्यमा खर्च गरेको बताइएको छ ।

प्रतिक्रिया