एपिएफलाई महिला भलिबल उपाधि

पोखरा, ४ असोज । कास्कीको लामाचौरमा बुधबार सम्पन्न राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । चिरप्रतिद्वन्द्वी नेपाल पुलिसलाई सोझो सेटमा पराजित गरी एपिएफले महिला भलिबलमा राष्ट्रियस्तरको पहिलो उपाधि जितेको हो ।
एपिएफले पोखरामा उपाधि मात्र जितेन, १२ दिनअघि काठमाडांैमा सम्पन्न एनभिए राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिससँग भएको पराजयको समेत बदला लियो । पछिल्ला चार फाइनल भिडन्तमा नेपाल पुलिसको यो पहिलो हार हो । ढोरपाटन कप, छैटाँै राष्ट्रिय खेलकुद र एनभिए कपका रूपमा नेपाल पुलिसले लगातार तीन उपाधि जितेको थियो । यीमध्ये एनभिए कपमा पुलिस र एपिएफले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
१२ दिनअघि भएको फाइनलमा ३–२ को सेटमा पराजित भएको एपिएफले लामाचौरको मैदानमा भएको फाइनलमा पुलिसलाई २५–१६, २५–२२, र २५–१४ ले निराश बनायो । उपाधीसगै विजेता टिमले ५० हजार नगद हात पार्‍यो । उपविजेतामा चित्त बुझाएको पुलिसले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
तेस्रो स्थानको लागि भएको खेलमा केही वर्षअघिसम्म महिला भलिबलमा अब्बल रहेको ज्ञानुबाबा आवासीय उच्च मावि पोखरालाई पराजित गर्दै न्यु डायमन्ड स्पोटर््स क्लब विजयी भयो । एपिएफकी नेविका चौधरी बेस्ट प्लेयर अफ द टुर्नामेन्ट भइन् । प्रतियोगिताको बेस्ट स्पाइकरमा न्यु डायमन्डकी रमिला तण्डुकार, बेस्ट लिफ्टरमा एपिएफकी विनिता बुढाथोकी, बेस्ट क्विकरमा न्यु डायमन्डकी ललिता नाथ, बेस्ट डिफेन्समा एपिएफकी ज्योति चौधरी, बेस्ट सर्भिसमा पुलिसकी चूडा खड्का र बेस्ट ब्लकरमा एपिएफकै उषा विष्ट घोषित भए ।
पुलिसका प्रशिक्षक सुदेश रिमालले खेलको सुरुदेखि नै आफ्ना खेलाडीहरूबीच तालमेल मिल्न नसकेका कारण अनुभवका बाबजुद एपिएफसँग पराजित हुनुपरेको बताए । निता शाहको कप्तानीमा मैदानमा उत्रिएको पुलिसबाट शाहसहित कोपिला उप्रेती र चूडा खड्का गरी तीन राष्ट्रिय टिमका खेलाडीले खेलेका थिए । एपिएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले आफूहरूले पुरुष भलिबलमा पनि पुलिसलाई लामाचौरको मैदानमा ३ वर्षअघि पराजित गरेको बताउँदै महिलाको खेलमा पनि पराजित गरेकोमा खुसी व्यक्त गरे । उनले आफूहरूसँग दुईजनाबाहेक सबै जुनियर खेलाडी भएको बताए ।
निमा श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिएको एपिएफका श्रेष्ठसहित विनिता बुढासँग खेलमा सहभागी खेलाडी हुन् । पोखरा लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हरितालिका तिजको अवसर पारी आयोजित यस प्रतियोगितामा सात टोली सहभागी थिए ।

प्रतिक्रिया