‘अमेरिकाको फौजी नीति चीनविरुद्ध छैन’

बेइजिङ : अमेरिकी प्रतिरक्षामन्त्री लियोन पनेटाले एसिया–प्रशान्त क्षेत्रमा अमेरिकाले अवलम्बन गरेको नयाँ सैन्यनीति चीनविरुद्ध लक्षित नरहेको बताएका छन् । चीनलाई घेराबन्दीमा पार्ने सुनियोजित षड्यन्त्रअन्तर्गत अमेरिकाले ताइबान, भियतनाम, फिलिपिन्स, जापान, भारतलगायत चीनसँग सुमधुर सम्बन्ध नभएका एसियाली मुलुकसँग सैन्य निकटता कायम गर्न खोजेको आशंका सर्वत्र गरिएका बेला प्रतिरक्षामन्त्री पनेटाले बुधबार यस्तो धारणा राखेका हुन् ।
चिनियाँ सेनाका जवानलाई सम्बोधन गर्दै पनेटाले जापानमा नयाँ रार्डर प्रणाली स्थाना गर्ने अमेरिकी अग्रसरतालाई चीनविरोधी कदमका रूपमा नबुझ्न आग्रह गरे । चिनियाँ विश्लेषकले भने जापानमा अमेरिकी सैनिक र पानीजहाजको संख्या बढाउने तथा क्षेप्यास्त्र प्रतिरक्षाप्रणाली विस्तार गर्ने अमेरिकको पछिल्लो नीति चीनलाई कमजोर पार्ने बृहत्तर रणनीतिअन्तर्गतको कदम बताउँदै आएका छन् ।
स्मरण रहोस्, चीन र जापानबीचको सम्बन्ध अहिले तनावपूर्ण छ । ‘इस्ट चाइना सी’ का कतिपय टापुको स्वामित्वबारे दुई देशबीच विवाद चर्किंदै जाँदा यसले मुठभेडको अवस्था सिर्जना हुने आशंका व्यक्त गर्न थालिएको छ । दुई देशबीच मुठभेड भए एसियाको आफ्नो दरिलो साझेदार जापानका तर्फबाट लड्न अमेरिकाले जापानमा सैन्य उपस्थिति बढाउन खोजेको आरोप चिनियाँ सञ्चारमाध्यमले लगाइरहेका बेला अमेरिकी प्रतिरक्षामन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।
‘एसिया–प्रशान्त क्षेत्रमा पुन: सन्तुलनको हाम्रो प्रयास चीनलाई सीमित गर्ने ध्ययेको उपज होइन । चीनलाई ‘इन्गेज्ड’ राख्दै प्रशान्त क्षेत्रमा उसको भूमिका प्रवद्र्धन गर्न यसो गरिएको हो । प्रशान्त क्षेत्रका दुई शक्ति (अमेरिका र चीन)बीचको सम्बन्धको नयाँ मोडेल विकास गर्न यसो गरिएको हो,’ उनले भने । दुई देशका सेनाबीच विश्वासको वातावरण निर्माण गर्ने काम अझै पूरा नभएको जिकिर पनेटाले गरेका छन् । ‘विगत ४० वर्षदेखि हामी यही प्रयास गरिरहेका छौँ । तर, यात्रा अझै सकिएको छैन,’ उनले भने ।
यसै वर्ष अमेरिकाले नयाँ एसिया–प्यासिफिक नीति सार्वजनिक गरेको थियो । अफगान युद्धबाट हात झिक्न लागेको अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा सैन्य क्षमता केन्द्रित गर्ने घोषणा गरेको थियो । युद्धपोत, समुद्री बेडा, क्रुज मिसाइलजस्ता नौसैनिक पूर्वाधारको ठूलो हिस्सा प्रशान्त महासागरमा केन्द्रित गर्ने घोषणा अमेरिकाले गरेको थियो ।
अमेरिकाले एसियामा सैन्य सक्रियता बढाउन थालेपछि जवाफमा चीनले पनि शस्त्रागारमा रहेका परमाणुरहित क्षेप्यास्त्रको क्षमता प्रवद्र्धन गर्ने तयारी गरेका थियो । जेठको मध्यतिर अमेरिकी प्रतिरक्षामन्त्री लियोन पनेटाले कुल नौसैनिक क्षमताको करिब ६० प्रतिशत सामर्थ एसिया–प्रशन्त क्षेत्रमा तैनाथ गर्ने घोषणा गरेका थिए । लगत्तै चिनियाँ जनमुक्ति सेनाको सेकेन्ड आर्टिलरी फोर्सका कमान्डर तान बिहोङले चिनियाँ सेनाका तर्फबाट यस्तो घोषणा गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया