न्याम्सका रेक्टर र डिन मन्त्री रिझाउन तल्लीन

काठमाडौं, ४ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कार्यकारी परिषद्का दुई सदस्य बुधबार परिषद् बैठक छाडेर स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोसँग गफिन पुगे । वीर अस्पताल सुधार र कर्मचारी हकहितका विषयमा छलफल गर्न डाकिएको बैठक छाडेर उनीहरू न्याम्सको उपकुलपति फेर्नका लागि दबाब दिन भन्दै मन्त्री महतोकहाँ गफिन पुगेका हुन् ।
परिषद्का सदस्य रहेका न्याम्सका रेक्टर डा. श्रीकृष्ण गिरी र डिन सीताराम चौधरी बुधबार ११ बजेका लागि डाकिएको बैठकमा नगएर मन्त्रीकहाँ पुगेका थिए । उनीहरू बैठकको समयमा मन्त्रीकक्षमा गफ गरेर बसिरहेका थिए । दुवैजनाले बैठकमा अनुपस्थित रहनेबारे न्याम्समा जानकारी गराएका थिएनन् । पाँच सदस्यीय परिषद्का अर्का सदस्य तथा वीर अस्पतालका निर्देशक डा. बुलन्द थापा पनि परिषद् बैठक सुरु हुने समयमा खबर नै नगरी अस्पतालबाट बाहिरिएका थिए । बैठकबारे १ असोजमा नै न्याम्सले सबै पदाधिकारीलाई जानकारी गराइएको भए पनि तीन सदस्य अनुपस्थित भएपछि बैठक स्थगित भयो । परिषद्मा न्याम्सका पदाधिकारी सदस्य रहने व्यवस्था छ । बैठकमा अनुपस्थित हुने भए सदस्यले पहिला नै खबर गर्नुपर्ने हुन्छ ।
बैठकमा अस्पताल सुधारका लागि प्रतिष्ठानको युनियन, संघ, संगठनले उठाएका माग र कर्मचारी हकहितका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा छलफलको कार्यक्रम थियो । आफ्ना मागका विषयमा परिषद् बैठकमा छलफल हुने भएपछि न्याम्सका युनियन, संघसंगठनका पदाधिकारी पनि न्याम्स कार्यालयमा छलफलको विषयमा उठेका कुरा सोध्न पुगेका थिए । तर, बैठक स्थगनपछि उनीहरू माग लिएर स्वास्थ्यमन्त्री महतोलाई भेट्न गएका थिए ।
बैठकमा पदाधिकारी अनुपस्थित भएपछि अस्पतालका समस्या समाधानको माग लिएर अस्पतालका कर्मचारीहरू स्वास्थ्यमन्त्री महतोलाई भेट्न १२ बजे स्वास्थ्य मन्त्रालयमा पुगेका बेला परिषद्का सदस्यद्वय डा. गिरी र चौधरी मन्त्रीसँग गफिरहेको देखेपछि उनीहरू छक्क परे । तत्काल कर्मचारीले डा. गिरीलाई बैठकमा किन अनुपस्थित भनेर जिज्ञासा राख्दा डा. गिरीले आफू बैठकमा गएको तर सबै अनुस्थित भएकाले फर्किएको बताएका थिए । त्यति बेलासम्म डा. चौधरी भने त्यहाँबाट निस्किसकेका थिए । कर्मचारीका अनुसार
डा. गिरी बैठकमा आएका थिएनन् ।
मन्त्रालय स्रोतका अनुसार डा. गिरी र चौधरी दुवैजना न्याम्सका उपकुलपतिले राम्रोसँग काम गर्न नसकेकाले कसरी फेर्ने भन्ने विषयमा मन्त्रीसमक्ष छलफल गरिरहेका थिए । छलफलमा उनीहरूले उपकुलपतिलाई प्रतिष्ठानको सभाको एक चौथाइ सदस्यबाट हस्ताक्षर गरी हटाउन सक्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । प्रतिष्ठान सभामा २४ सदस्य रहने व्यवस्था छ । सभाका सदस्यमध्ये एक चौथाइको हस्ताक्षरपछि सहकुलपति मन्त्री महतोले उनलाई हटाउन छानबिन समिति बनाई समितिको सिफारिसका आधारमा हटाउन सक्ने व्यवस्था छ ।
परिषद्का अध्यक्ष तथा न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलले तीन सदस्य अनुपस्थित भएपछि बैठक स्थगित भएको बताए । उनले बैठकमा परिषद्का सदस्य–सचिव तथा न्याम्सका रजिस्ट्रार डा. मुकुन्द पन्थी र आफू मात्र उपस्थित भएकाले बैठक स्थगन गर्नुपरेको जानकारी दिए । उपकुलपति पोखरेलका अनुुसार बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारी संघसंगठनबीच गत ५ र २२ भदौमा भएका सहमतिका विषयमा छलफल गर्ने र समस्या समाधान गर्ने एजेन्डा तय भएको थियो ।
बैठकका विषयमा डा. गिरीले सौर्यसँग आफू साढे ११ बजे बैठकमा गएको तर कोही पनि नआएकाले मन्त्रालयको मिटिङमा गएको बताए । ‘यो नियमित चल्ने बैठक हो’ उनले भने, ‘बैठकमा सहभागी हुन म समयमै न्याम्समा पुगेको थिएँ तर कोही पनि नभएपछि फर्किएँ ।’
उनले साढे ११ बजे न्याम्समा पुगेको बताए पनि मन्त्रालय स्रोतका अनुसार उनी ११ बजेदेखि नै मन्त्रालयमा थिए ।

प्रतिक्रिया