सहमतिका नाममा सत्ता लम्वाउने षड्यन्त्र

काठमाडौं, ३ असोज । विपक्षी दल नेपाली कांग्रेसले संविधानका विवादित बिषयमा सहमति खोज्ने बहानामा एकीकृत माओवादीले सत्ता लम्वाउन खोजेको आरोप लगाएको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगंजमा आज बसेको पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले एमाओवादी र मधेसी मोर्चा सहमतिका नाममा सत्ता लम्वाउने रणनीतिमा लागेको निष्कर्ष निकालेको हो । बैठकले नयाँ निर्वाचनमा जानुको विकल्प नरहेको पनि जनाएको छ ।
यस अघि एमालेले पनि सहमतिका नाममा एकीकृत माओवादी र मधेसी मोर्चा सत्ता लम्वाउने षड्यन्त्रमा लागेको ठहर गरेको थियो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै नेता रामशरण महतले कांग्रेसले नयाँ निर्वाचनमा जाने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘संविधानका विवादित बिषयमा सहमति गर्ने बहानामा एकीकृत माओवादी सत्ता लम्वाउन लागेको निष्कर्ष निकालेका छौं ।’
मुलुकलाई गतिरोधबाट उम्कन नदिने एमाओवादी र मधेसी मोर्चाको षड्यन्त्र विरुद्ध सक्रिय हुने निर्णय पनि कांग्रेसले गरेको छ ।
संघीयताका विषयमा एमाओवादीले नै सहमति पटक पटक उलंघन गर्ने गरेको भन्दै कांग्रेसले विवादित विषयमा सहमति खोज्न एमाओवादी र मधेसी मोर्चाले नचाहेको आरोप लगाएको छ ।
मधेसी मोर्चा सहित तीन दलका शिर्ष नेताहरुकाबीच संविधानका विवादित बिषयमा सहमति नभए नयाँ निर्वाचनमा जाने सहमति गरिसकेका छन् ।
दलहरुका बीचमा विशेष गरेर संघीयता र नयाँ सरकारका बारेमा सहमति जुट्न सकेका छैनन् ।

प्रतिक्रिया