मेसिन पूजा गर्न विद्युत् बन्द

जाजरकोट : विद्युत् आपूर्ति बन्द गरेर मेसिन पूजा गर्दा आमनागरिक विद्युतीय सेवाबाट वञ्चित भएका छन् । मेसिन पूजा गर्न सोमबार बिहान सात बजेदेखि दिनभर जाजरकोट खलंगाको विद्युत् आपूर्ति बन्द गरिएको थियो । विश्वकर्मा पूजाको दिन विद्युत्गृहमा रहेका मेसिनको पूजा गर्ने भन्दै साङट/रिसाङ लघु जलविद्युत् आयोजनाले विद्युत् आपुर्ति बन्द गरेको हो ।

आयोजनाले अघिल्लो दिन नै सार्वजनिक सूचना जारी गरी विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको थियो । दिनभरि विद्युत् सेवा अवरुद्ध भएपछि तिजको रौनक छाएको सदरमुकामको जनजीवन प्रभावित बनेको थियो । त्यसैगरी जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका काममा समेत बाधा पुगेको थियो ।
पटक–पटक आयोजनाको नहर वर्षाले बगाउँदा विद्युत् अवरुद्धको समस्या झेल्दै आएका सेवाग्राही अनावश्यक विद्युत् आपूर्ति बन्द भएपछि थप प्रभावित भएका छन् । विद्युत् आपूर्ति बन्दपछि जिल्लामा रहेका दुईवटा सामुदायिक रेडियो र स्थानीय सञ्चारकर्मीलाई पनि समस्या उत्पन्न भएको थियो ।
विद्युत्, हुलाक, स्वास्थ्य, टेलिकमजस्ता कार्यालयले कुनै पनि बहानामा तोकिएका समयमा सेवा अवरुद्ध गर्न नपाइने नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष जनक केसी बताउँछन् । उपभोक्ताको हितलाई ख्याल नगरी विद्युत् सेवा बन्द गर्न नहुने उनको भनाइ छ । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले भने विद्युत् सेवा बन्द नगर्न भनिए पनि कर्मचारीले अटेर गरेको जानकारी दिए । (सौस)

प्रतिक्रिया