१० लाख रुपियाँ विवादले काम अवरुद्ध

राजविराज, ३ असोज । सप्तरीको लालपट्टीस्थित नमुना स्वास्थ्यचौकी नाममा मात्र सीमित भएको छ । स्वास्थ्य सेवा विभागको नमुना स्वास्थ्य गाउँ कार्यक्रमअन्तर्गत यहाँको उपस्वास्थ्यचौकीलाई अपग्रेड गरी नमुना स्वास्थ्यचौकी बनाइएको हो ।

विभागले अपग्रेडसँगै स्तरोन्नतिका लागि रकम, कर्मचारीको थप दरबन्दी तथा नि:शुल्क औषधिसमेत व्यवस्था गरेको छ । अहेवको दरबन्दी भएको ठाउँमा सिनियर अहेव, दुई अहेव, एक ग्रामीण स्वास्थ्य कार्यकर्ता र एक कार्यालय सहयोगीको व्यवस्था तथा ३५ प्रकारका नि:शुल्क औषधि रहने व्यवस्था गरेको छ ।
विभागले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत
स्तरोन्नतिका लागि उपलब्ध गराएको १० लाख रुपियाँका कारण स्वास्थ्यचौकीमा थप समस्या आएको स्थानीयवासी तथा जग्गादाता परिवारका ताराप्रसाद यादवले बताए । रकम आउनासाथ आफूखुसी खर्च गर्ने क्रम बढेको र त्यसै विषयमा एकआपसमा विवाद भई काम अघि बढ्न नसकेको उनले बताए । ‘१० लाखका कारण विवाद सुरु भएपछि पाउँदै आएको सुविधासमेत प्रभावित भयो,’ यादवले भने, ‘जसरी हुन्छ १० लाख सिध्याउने खेल हुँदै छ ।’
प्राप्त जानकारीअनुसार १० लाख रुपियाँमध्ये स्वास्थ्य संस्था प्रवद्र्धन र सुदृढीकरण, विद्यालयस्तरीय कार्यक्रम सञ्चालन तथा असहाय अपांगमैत्री कार्यक्रम सञ्चालन र सामान खरिदका लागि स्थानीय गैरसरकारी संस्था येट (युवा सशक्तीकरण संघ) नेपालको नाममा चार लाख रुपियाँ निकालिएको छ तर रकमअनुसारको काम भएको छैन । ‘चार लाखमध्ये गाउँकै मानिस सदरमुकामस्थित एक होटलमा लगेर तीनदिने अन्तरक्रिया भयो, त्यसबाहेक अन्य कुनै पनि काम भएको छैन,’ स्वास्थ्यचौकीकै एक कर्मचारीले भने ।
यसैगरी औषधि खरिदका नाममा स्वास्थ्यचौकीकै अहेव रामाशीष यादवले दुई लाख रुपियाँ लिए । औषधि खरिद गरेको बिल जनस्वास्थ्य कार्यालयलाई बुझाए पनि औषधि भने नआएको सिनियर अहेव आनन्दलाल यादवले बताए । सिनियर अहेव यादव हालै सरुवा भई नमुना स्वास्थ्यचौकीमा आएका हुन् ।
अर्कोतर्फ स्वास्थ्यचौकीले अत्यावश्यक औषधिसमेत नदिएको गाउँलेको गुनासो छ । ‘११ बजे बल्ल खुल्ने गरेको स्वास्थ्यचौकीमा सरकारले नि:शुल्क भनेका कतिपय औषधि नै छैनन्,’ स्थानीय साहिदिन मन्सुरीले भन्छिन्, ‘उपस्वास्थ्यचौकीको बोर्ड फेरेर नमुना स्वास्थ्यचौकीको बोर्ड हाल्नेबाहेक अन्य कुनै काम फेरिएको छैन ।’ महेश्वरीदेवी पण्डित र सवुत्रीदेवी खंगको पनि गुनासो उस्तै छ, ‘औषधि उपचार नै नपाउने नमुना स्वास्थ्यचौकीको के काम ?’
यस विषयमा वरिष्ठ जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहताले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत दिने सम्पूर्ण औषधि र सुविधा स्वास्थ्यचौकीलाई उपलब्ध गराएको दाबी गर्दै स्थानीयवासीको उजुरी आएपछि निर्देशिका र समितिको निर्णयअनुसार मात्र रकम खर्च गर्न आफूले निर्देशन दिएको बताए ।

प्रतिक्रिया