गुणस्तरहीन मासु निर्यात

विराटनगर : विराटनगर भन्सार कार्यालयले कारबाही गरेको सिमेक्स फुड प्रालिले निर्यात गर्ने लाखाँ मूल्य बराबरका भैँसी तथा राँगाको मासु (सुकुटी) जाँच नगराई निर्यात गर्ने गरेको छ । सुनसरीको नरसिंह गाविसमा सञ्चालित सो उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा खाद्य प्रविधि विभागबाट मासु निर्यातका लागि अनुमति मागेको तर अनुमति नपाए पनि अवैधरूपमा मासुको निर्यात गरिरहेको बताइएको छ ।

उद्योगले विगत दुई/तीन वर्षदेखि मासुको निर्यात गर्दै आएको छ । साथै उद्योगले सुनसरीको नरसिंह गाविसका ग्रामीण क्षेत्रमा फैलाएको प्रदूषणसमेतले त्यहाँका जनता समस्या परेका छन् । नेपालबाट पशुपक्षी एवं कृषिजन्य वस्तु निर्यात एवं आयात गर्दा खाद्य ऐनअन्तर्गत प्रयोगशाला जाँच अनिवार्य रहेको छ । भैँसी तथा राँगाको मासु प्याक गरी कन्टेनरमा लैजाने बहानामा जडीबुटी (सतुवा) समेत अवैधरूपमा लैजान लागेको अवस्थामा विराटनगर भन्सार कार्यालयले त्यसलाई जफत गरी ४६ लाख ४१ हजार जरिबानासमेत गरेको छ । विगतदेखि मासुको स्थानमा जडीबुटी निकासी गरे पनि राष्ट्रिय अनुसन्धानको सूचनाको आधारमा सो फुड प्रालिको एनएल ५९८१ नं को भारतीय कन्टेनर जाँच गर्दा भैँसीको सुकुटीसहित चार हजार एक सय ८ किलोग्राम सतुवा फेला परेको थियो ।
चिनियाँ लगानीको सो उद्योगले मासुको ठाउँमा जडीबुटी निर्यात गर्न लाग्दा भन्सारले ४१ हजार ८० डलर बराबरको जडीबुटी र १० हजार नौ सय डलर बराबरको मासु जफत गरेको भन्सार प्रमुख विनोदबहादुर कुँवरले बताए । (सौस)

प्रतिक्रिया