महिला हिंसाविरुद्धको पर्व तिज

रामेछापकी १४ वर्षे सुन्तली तामाङकी आमा दिलीमाया तामाङ न्यायका लागि भौँतारिएकी छन् । आमाको जाहेरी दर्खास्तमा उनको छोरीको बलात्कार गरी हत्या गर्ने १९ वर्षे श्याम राउत हो भन्ने किटानी छ । यसरी अपराधीलाई कारबाही गरिपाउँm भन्ने पीडित पक्षलाई धम्की दिन थालेपछि उनीहरूले मजदुरी गरी कमाएको घरबास रामेछापको भित्री गाउँ सैँपुबाट उठीबास भई सिन्धुली आएर बसेका छन् । उता, जनकपुर बस्ने भारत माइती भएकी रिनादेवीलाई कुटपिट गरी मट्टितेल खन्याएर सासू र श्रीमान्ले जलाउन खोजेका कारण ती पीडित महिलाले जिल्ला प्रहरी कार्यालय जनकपुरमा जाहेरी दिएकी छन् । उनको शरीर आगोले पोलेको हुँदा माइती पक्षकाले दरभंगा लगी उपचार गरी मुद्दा हालेका छन् । धनुषा प्रहरीले पनि सहजै किटानी जाहेरी दर्ता गरेको थिएन ।
त्यस्तै, ललितपुर हरिसिद्धिकी माध्यमिक विद्यालयमा अध्यनरत १४ वर्षे एक किशोरीलाई छिमेकीका ४४ वर्षे राजु महर्जनले ६ महिनादेखि बलात्कार गर्दै आएका रहेछन् । हरिसिद्धिकै आमा समूह, महिला विकास अधिकृत र प्रमुख जिल्ला अधिकारीको पहलमा मात्र तीे किशोरीमाथि भएको यौनजन्य हिंसाको घटना बाहिर आउन सक्यो । यो घट्नामा पनि प्रहरीले जाहेरी लिन नमानेको विषय छापामा आएको छ । केही महिनाअघि गीता ढकाल जसले जिउज्यानको सुरक्षा माग गर्दै एक वर्षअघिदेखि विभिन्न सरोकारवाला निकायमा उजुरी गरे पनि सबैले हल्कारूपमा लिए र चासो लिएनन् । फलस्वरूप उनले अकालमै ज्यान गुमाउनुपर्‍यो । राष्ट्र र जनताको सुरक्षा गर्ने शपथ खाएर प्रहरीको डिआइजीसम्म बनेका आफ्नै श्रीमान्बाट वीभत्स तबरबाट मारिनुपरेका यस्ता घटनाले आमनेपाली महिलाको पारिवारिक अवस्था उदांगिएको छ । नेपाली महिला हाम्रो समाजमा कतिसम्म हिंसा र अत्याचार सहेर बाँचिरहेका छन् भन्ने यी माथिका घटनाले पुष्टि गर्छ ।
हालसालै दाइजोको निहुँमा यातना दिई हत्या गरिएकी कुशादेवी–४, काभ्रेकी सीता भण्डारीले परिवारका सदस्यको ज्यादती भोग्दै आएकी थिइन् रे । उनी जेठ २९ गते कुशादेवीकै मेडिकलमा जँचाएर औषधि खाएकी मानिस एक्कासी जेठ ३० गतेबाट हराएको कुरा परिवारबाट आयो । जबकि जेठ ३० गते कुशादेवीमा नै देखिएकी सीता भण्डारीको लास धुलिखेलको शान्तिवनमा असार २ गते भेटियो । उनको विवाह २०६६ साथ माघ २४ गते दारिबोटका रोशन थापासँग भएको थियो । परिवारका सदस्य जेठानी र सासूको पनि अत्याचारपूर्ण व्यवहारबाट उनी प्रताडित थिइन् । यी सबै परिवारका सदस्यले हत्या गरी धुलिखेलको शान्तिवनमा उनको शव फालेर विषसेवन गरी आत्महत्या गरेजस्तो नाटक रचेका छन् । प्रहरीमा उजुरीसमेत दर्ता गर्न कठिन भएको माइती पक्ष बताउँछन् । स्थानीय ग्रामीण महिलाको समूहको दबाबमा मात्र किटानी जाहेरी दर्ता गर्न सम्भव भएको विषय माइती पक्ष बताउँछन् । ती परिवारका दोषीहरू छुटाउन फेरि पनि भिसेरा जाँच गर्ने/गराउने प्रयासमा सरकारी वकिल र प्रशासन मिलेमतो गर्दै छन् भनी माइती पक्ष सहयोगका लागि महिला सघंसंस्थाको सहयोगको अपेक्षा गरिरहेका छन् ।
नेपाली महिला हाम्रो समाजमा कतिसम्म हिंसा र अत्याचार सहेर बाँचिरहेका छन् भन्ने यी माथिका घटनाले पुष्टि गर्छ । यी प्रतिनिधि घटनाबाट पाठ सिक्दै महिला हिंसाविरुद्ध आममहिला एकजुट हुनैपर्छ । अहिले पनि धेरै बालिका र महिला विभिन्न हिंसा, हत्या, बलात्कारका शिकार भइरहेका छन् । कतिपय छोरी हिंसा र कुटपिटका कारण घर जान नमान्दानमान्दै पनि बाबुआमा वा उनका माइतीले घर जान कर लगाउँछन् । जुनसुकै हालतमा पनि विवाह गरेर दिएको पतिको घर जानैपर्छ । जति दु:ख दिने बदमास भए पनि पतिको दीर्घायुको कामना गर्नैपर्छ भन्ने अभिभावक हामीकहाँ प्रशस्त छन् । एउटी विवाहित छोरी माइती बसेर साध्य हुँदैन । तसर्थ, जस्तोसुकै अवस्था भए पनि आफ्ना श्रीमान्को घर जानुपर्ने बाध्यता हामी चेलिबेटीसामु छ । आफ्नो खुट्टामा उभिनसक्ने भएर महिलाले एक्लै पनि बस्नसक्ने वातावरण अनुकूल नहुँदा परिवारका बुहारीहरूको ज्यान गएको छ । लगातार महिला एक र अनेक निहँुमा मारिएका घट्ना बाहिर आएका छन् । यस परिवेशमा घरेलु हिंसाका घटना पनि वृद्धि भएका छन् । दाइजोको निहुँमा होस् अथवा काम लगाइदिने झुटो आश्वासनमा होस् वा बोक्सीका नाममा होस् महिलाहरू हिंसाका शिकार भएका छन् र कतिले ज्यान गुमाएका छन् । बलात्कारका घटना सधैँजसो बढिरहेका छन् ।
महिलाले तिजमा आफूलाई घरपरिवारका सासू, श्रीमान्, नन्द, आमाजू जसलाई अन्य दिनमा केही भन्न सकिन्न, तिजका दिनमा गीतका माध्यमबाट उनीहरूले गरेका व्यवहारअनुसार गुनासो र गाली गर्ने गर्छन् । जेजस्ता परिस्थितिमा भएका विभिन्न वर्गका महिलाले आआफ्नो गच्छेअनुसारको लुगा र गरगहना लगाएर तिज मनाउन सुरु भएको छ । सहरवासी महिला तडकभडकसाथ एक महिनाअघिदेखि तिजका नाममा भोजभतेर गर्न व्यस्त छन् । सहरवासी र फुर्सद भएका महिलाका लागि गुनासोभन्दा पनि आफ्ना साथीसंगिनी भेटघाट र खानपिन अनि रमाइलो गर्ने अवसर भएको छ । देशमा व्याप्त अराजकता र दण्डहीनताले गर्दा दिनहँु गम्भीर खालका अपराध भइरहेका छन् र अपराधीहरू निर्धक्क हिँडिरहेका छन् । मुलुकमा बढेको दण्डहीनताको सबैभन्दा बढी शिकार बालिका र महिलाहरू भइरहेका छन् । अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा उनीहरूको मनोबल बढेको देखिन्छ । महिलाहरू कुटिँदा, पिटिँदा र मारिँदा पनि सरकारका विभिन्न निकायमा किटानी जाहेरी दर्ता गर्नसमेत सहज नभएको आममहिलाले अनुभव गरेका छन् । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ कार्यान्वयनमा प्रभावकारी नभएको स्थिति छ । सरकार स्वयंले महिला हिंसाविरुद्ध कार्यक्रम र अभियान घोषणा गरे पनि महिलामाथि हुने हिंसाका कतिपय घटनामा किटानी जाहेरी दर्ता गर्नसमेत कठिन भएको छ । देशमा व्याप्त अराजकता र दण्डहीनताबीच बाँच्नु र सुरक्षित रहनु अहिले चुनौतीपूर्ण बनेको छ । यहीबीच आएको तिज गहना र सारीको प्रदर्शनमा सीमित होइन कि महिला हिंसा र हत्याको विरोधमा आवाज उठाउनु समसामयिक हुनेछ । तिज मनाउँदा हामीले दण्डहीनताको अन्त र महिलाका ज्यान सुरक्षा र पूर्ण जीवनको कामना गरी मनाएमा सार्थक हुने देखिएको छ ।

प्रतिक्रिया