‘चोरबाटो’बाट फेसबुक चलाउँछन् सिंहदरबारका कर्मचारी

काठमाडौं, २ असोज । सरकारले सिंहदरबारभित्रका सम्पूर्ण कार्यालयमा फेसबुक प्रयोगमा प्रतिबन्ध लगाएको डेढ महिना पुग्न लागेको छ । तर, कर्मचारी भने ‘चोरबाटो’बाट फेसबुक चलाइरहेका नै भेटिन्छन् ।
कर्मचारीहरू कामभन्दा अरूतिर व्यस्त भएको भन्दै प्रधानमन्त्री र मुख्यसचिवको सक्रियतामा साउन अन्तिम सातादेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाइएको थियो । तर, कर्मचारी भने चोरबाटो प्रयोग गर्दै फेसबुकबाट आफन्तसँग गफिरहेका भेटिन्छन् ।
पर्यटन, परराष्ट्र, शान्ति तथा पुनर्निर्माण, सहरी विकास, भौतिक योजना, निर्माण तथा यातायात, कृषि, वातावरण तथा विज्ञान प्रविधि, श्रम तथा रोजगारलगायत मन्त्रालयका कर्मचारी ‘चोरबाटो’ प्रयोग गरी फेसबुक चलाइरहेका छन् । ती मन्त्रालयमा पुगियो भने कर्मचारी फेसबुकमै झुम्मिएका भेटिन्छन् ।
स्रोतका अनुसार कर्मचारीले चोरबाटोबाट फेसबुक चलाउने गरेको पाइएपछि गोप्य रूपमा सबै मन्त्रालयमा अनुगमन गरिने भएको छ । अनुगमनका क्रममा फेसबुक वा अन्य इन्टरनेटका माध्यमबाट हुने अन्य कुनै काममा संलग्न रहेको पाइए पहिलोपटक चेतावनी दिने, दोस्रोपटक नाम सार्वजनिक गर्ने, त्यति गर्दा पनि कर्मचारी सोही कार्यमा व्यस्त रहे ती कर्मचारीलाई इन्टरनेट सुविधा नै बन्द गर्ने तयारी छ । सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाहेकका इन्टरनेट सुविधा मात्र लिन कर्मचारीलाई निर्देशन दिइसकेको छ ।
कार्यालय समयमा फेसबुकमार्फत साथीसँग च्याट गरिरहेका भौतिक योजना मन्त्रालयका एक अधिकृत भने, ‘यसैमा भुल्न हुँदैन तर फुर्सदका बेला साथीसँग कुरा गर्न र फोटो अपलोड गर्दा फरक पर्दैन ।’ उनले फेसबुक सिधै खोल्न नसकिने उल्लेख गर्दै अन्य तरिकाबाट खोल्न सकिने बताए । उनले भने, ‘मलाई यहाँकै कम्प्युटरसम्बन्धी काम गर्ने साथीहरूले सिकाएका हुन् ।’
परराष्ट्र मन्त्रालयका एक कर्मचारीले पनि कम्प्युटरसम्बन्धी काम गर्ने कर्मचारीले फेसबुक खोल्न नयाँ तरिका सिकाएको उल्लेख गरे । ‘फेसबुकबाट धेरै खाले जानकारी पाइने भएकाले कहिलेकाहीँ चलाइन्छ,’ फेसबुकमा फोटो अपलोड गर्दै गरेका एक अधिकृतले भने, ‘काम नभएका बेला सूचना तथा मनोरञ्जन एकैपटक पाइने सामाजिक सञ्जाल चलाउँदा फरक पर्दैन ।’
सरकारी काम चुस्त बनाउन सरकारले सिंहदरबारभित्रका कार्यालयमा कार्यरत कर्मचारीका लागि इन्टरनेट सुविधासहित कम्प्युटरको व्यवस्था गरेको छ । तर, खरिदारदेखि सचिवसम्मका अधिकांश कर्मचारी काम छाडेर फेसबुकमै रमाउन थालेपछि सरकारले सुरुमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म फेसबुक बन्द गरेको थियो । पछि प्रतिबन्धको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको छ ।
‘कर्मचारीहरू कार्यालय आएदेखि फेसबुकमा अल्झिन थालेपछि काममा चुस्तता ल्याउन फेसबुक बन्द गरिएको हो,’ सिंहदरबारभित्रको इन्टरनेट सेवा हेर्दै आएको अर्थका उपसचिव दुर्गेशकुमार प्रधानले भने, ‘अब चोरका लागि हरेक बाटो हुन्छ, ती बाटोको प्रयोग गरेर सिंहदरबारका कर्मचारीले फेसबुक चलाउँछन् भन्ने जानकारी पाइएको छ ।’ यो प्राविधिक कार्य भएकाले त्यसमा आबद्ध कर्मचारीलाई यसबारे जानकारी हुने गरेको तिनै कर्मचारीबाट चोरबाटो प्रयोग गरी फेसबुक चलाउने गरेको प्रधानको
भनाइ थियो ।
‘पहिलेजस्तो भने सिंहदरबारभित्र फेसबुक सबैको पहँुचमा छैन,’ उपसचिव प्रधानले भने, ‘कर्मचारीहरू फेसबुकमै भुल्न थालेपछि बन्द गर्ने निर्णय भएको हो ।’
फेसबुक, टुइटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा कर्मचारी मात्र होइन, जो–कोही पनि व्यस्त हुने भएकाले कार्यालय समयमा प्रयोग नगर्दा राम्रो हुने उनले बताए ।
परराष्ट्रका प्रवक्ता अर्जुन थापाले सरकारको नियमबाहिर कुनै पनि कर्मचारी जान नहुने बताए । ‘कर्मचारीहरू चोरबाटोबाट फेसबुक चलाउनु कर्मचारी आचारसंहिताविपरीत हुन्छ, त्यो रोक्नुपर्छ सरकारले नै फेसबुक नचलाउनू भनेपछि कार्यालय समयमा कुनै पनि कर्मचारी फेसबुक चलाउन मिल्दैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता जगदीश रेग्मीले फेसबुक बन्द गर्दा धेरै कर्मचारी काममा लागिपरेको पाइएको बताए । उनले भने, ‘तर, चोरबाटोबाट फेसबुक चलाउन सकिने भएकाले केहीले चलाएका पनि हुन सक्छन् ।’

प्रतिक्रिया