जिल्ला प्रमुखहरू दुर्घटनामा

भैरहवा, २ असोज । सोमबार दिउँसो नवलपरासीको दुम्कीवासमा सरकारी अधिकृतहरू सवार जिप र मालवाहक ट्रक एकापसमा ठोक्किँदा जिपमा सवार नवलपरासीका जिल्ला प्रमुखहरू घाइते भएका छन् ।

दिउँसो साढे ३ बजे पश्चिमबाट पूर्व गइरहेको सरकारी अधिकृत चढेको जिल्ला प्रशासन कार्यालय नवलपरासीको लु १ ज २३६ नम्बरको जिप र पश्चिमतर्फ आइरहेको ना २ ख ३२८७ को ट्रक दुम्कीवासमा ठोक्किएको हो ।
दुर्घटनामा नवलपरासीका निमित्त सिडिओ ओमप्रकाश पाण्डे, एसपी ज्ञानविक्रम शाह, निमित्त एलडिओ मानबहादुर खड्का घाइते भएका छन् । त्यस्तै, सवारीचालक बुद्धिबहादुर सिंह, एसपीका बडीगार्ड हवल्दार श्रीराम श्रेष्ठ, निमित्त सिडिओका बडीगार्ड चतुर्धन उपाध्याय पनि घाइते भएका छन् ।
घाइतेहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ । घाइतेमध्ये निमित्त सिडिओ पाण्डे र निमित्त एलडिओ खड्काको अवस्था चिन्ताजनक रहेको छ ।
अस्पतालका सिनियर डाक्टर प्रा. जिपी सिंहको नेतृत्वमा डा. आलोक पाण्डे, डा. सलामद खानसहितको चिकित्सकको टोलीले उपचार गरिरहेका छन् । प्रा. डा. सिंहका अनुसार घाइतेमध्ये निमित्त सिडिओ र एलडिओको टाउकोमा चोट लागेको छ यद्यपि सिटी स्क्यानमा कुनै समस्या देखिएको छैन । एसपीको अवस्था सामान्य रहेको छ भने अन्यको अवस्था पनि खतरामुक्त छ ।
घाइतेलाई भेट्न अस्पताल पुगेका रूपन्देहीका सिडिओ हरिकृष्ण पौडेलले निमित्त सिडिओ र निमित्त एलडिओको अवस्था अलि जटिल भएको बताउँदै काठमाडौं पठाउने तयारी भइरहेको बताए । उनले भने, ‘दुई जनाको अवस्था खतरापूर्ण छ । काठमाडौंबाट हेलिकोप्टर पनि मगाएका थियौँ तर मौसमका कारण पठाउन सकिएन । भोलि उहाँहरूलाई काठमाडौंमा थप उपचारका लागि पठाउनेछाँै ।’
एसपी शाहले भत्किएको पुल निरीक्षणका लागि जाने क्रममा जिपलाई ट्रकले ठक्कर दिएको बताए । उनीहरूलाई सँगै रहेको सशस्त्रका डिएसपीको नेतृत्वमा रहेका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
प्रगतिनगरस्थित पूर्वपश्चिम राजमार्गलाई जोड्ने लोकापुल भत्किएपछि सवारी आगमन ठप्प भएकाले पुलको स्थलगत निरीक्षण गर्न हिँडेको सरकारी अधिकृत सवार जिप दिउँसो दुम्कीवासमा दुर्घटनाग्रस्त भएको हो । पुल भत्किँदा सोमबार बिहानैदेखि पूर्वपश्चिमको आगमन ठप्प थियो भने साँझ ६ बजे वैकल्पिक डा्रइभर्सन बनाएर बाटो खुलाइएको थियो ।

प्रतिक्रिया