नवनियुक्त प्रहरी महानिरीक्षकका चुनौती

कुबेर सिंह रानाले प्रहरीको सर्वोच्च पदमा रहेर प्रहरी संगठनमा गिर्दो अनुशासन हिनता र प्रहरी संगठनप्रति गिर्दो आम जनविश्वासलाई केही हद भए पनि माथि उठाउन सकोस् भनेर कामना गर्दछु । यद्यपि यो कार्य त्यति सरल भने छैन । प्रहरी महानिरीक्षक हुनु, महानिरीक्षक प्राप्त गरेपछि त्यस पदमा अवधिभर अड्न सक्नु, अडेर केही राम्रा काम गर्न समर्थ हुनु र अवधि समाप्त भएपश्चात पनि भ्रष्टाचारको मुद्दाबाट बच्न सफल हुनु यी चारवटै कामहरू आज प्रहरीको सर्वोच्च पदमा पुग्न चाहने अधिकृतका लागि ज्यादै चुनौतीपूर्ण भएको छ । जे होस् रानाले जुन पहिलो खुड्किलो चढ्न सफल हुनुभएको छ यो नै कम उपलब्धि होइन ।
आजको दिनमा कुनै अधिकृतलाई महानिरीक्षक हुनका लागि घरघरमा धाउनेदेखि पार्टीपार्टीको भलाइमा काम गर्ने वचनबद्धता जाहेर गर्दै प्रशस्त प्रेस प्रोपोगान्डाको सहयोग लिएर प्रहरीभित्रका भनिएका गुटउपगुट परिचालित गर्दै दृश्य अदृश्य रूपले पैसाको चलखेलसमेत गर्नुपर्ने अवस्था रहेको छ । यी कार्यहरू गर्ने क्रममा कुनै प्रहरी महानिरीक्षकले पद प्राप्त गरी पदभार सम्हाल्नुअघि नै उसको संगठनभित्र र बाहिर प्रशस्त विरोधीहरू जन्मिसकेका हुन्छन् भने राजनीतिक आस्थाका कारण सत्ताधारी पार्टीका विरोधी राजनीतिक दलहरूले पनि त्यसै केही नगरीकनै त्यस महानिरीक्षकलाई खास पार्टीको व्यक्ति भनेर आरोप लगाइसक्छन् । कुबेर सिंह रानाको हकमा पनि माहानिरीक्षक पद प्राप्त गर्ने क्रममा जुन लामो समय संघर्ष गर्नुपर्‍यो त्यसले संगठनभित्र र बाहिर दुवै स्थानमा अदृश्य विरोधी शक्तिहरू जन्माइसकेको हुन्छ जुन शक्तिले उहाँलाई पूरा अवधि त्यो पदमा टिक्न नदिन निश्चित रूपमा खेल खेल्न सुरु गर्दछ ।
प्रहरी महानिरीक्षक हुनेबित्तिकै आफ्नो कार्यकालसम्म सेवा गर्ने सबैको रहर हुन्छ नै तर विगतमा धेरै प्रहरी प्रमुखहरूले व्यावसायिक रूपमा काबिल हुँदा हुँदै पनि पूरा समय जागिर खान पाएनन् । यो अवस्था एउटा राजनीतिक परिर्वतनले ल्याउन सक्छ भने अर्को प्रहरीभित्रकै प्रतिद्वन्द्वीको कारणले आउन सक्छ । नेपालको राजनीतिक अस्थिरताले हरेक दिन के नयाँ घटना घट्छ थाहा हुँदैन । प्रत्येक घटनालाई कुर्दै मौकाको ताक खोजेर राजनीतिक दल र प्रहरीभित्रकै प्रतिद्वन्द्वीहरू बसिदिने हो भने पूरा अवधि जागिर खान एउटा आइजिपीलाई हम्मेहम्मे पर्नेछ । एउटा पहिलो सरुवा र बढुवा निकाल्ने बित्तिकै सयौँ संख्याका असन्तुष्ट अधिकृतहरू त्यसै निर्णयले प्रहरीभित्र र बाहिर जन्माउने गर्दछ । उनीहरू त्यसै दिनदेखि आइजिपीलाई मक्याउन सक्रिय हुन थाल्छन् । त्यसैले कुबेर साहबका सामु पनि विगतका आइजिपीजस्तै आफ्नो अवधिभर अडिरहन गाह्रै हुनेछ ।
जब कुनै प्रहरी महानिरीक्षक आफ्नो अवधिभरि सेवामा रहने निश्चित हुन्छ तब मात्र उसले सेवा दिने योजना गर्न सक्दछ । राजनीतिक परिर्वतनसँगै महानिरीक्षकहरू असुरक्षित हुने स्थितिबाट जोगिन महानिरीक्षकहरूले आफ्ना प्रहरी कर्मचारीहरूलाई विभिन्न शक्तिकेन्द्रमा आफ्नो पक्षमा लबिङ गराउन, प्रेस प्रोपोगान्डा गराउन खटाउन सक्छन् तर विगतमा के देखिएको छ भने यस्तै क्रममा फटाहा प्रवृत्तिका अधिकृतहरू महानिरीक्षकले च्याप्न पुग्दा उनीहरूलाई जेल नै जानुपर्ने अवस्थासमेत आएको छ । अत: यो धमिलो राजनीतिक महोल र एआइजीको भ्रमणमा डिआइजी अनुपस्थित हुनसक्ने अनुशासनहीन अवस्थामा यदि गृहमन्त्रीसमेत सकारात्मक भैदिएनन् भने कुबेर रानाले आफूलाई पदावधिभर सुरक्षित राख्न गाह्रो हुनेछ । त्यसमाथि सर्वोच्चले मानवअधिकारसँग समन्वय गरेर मात्र उहाँको हकमा निर्णय गर्नुपर्ने विवाद चर्किए, त्यसले पनि उहाँलाई क्षति पुर्‍याउनेछ । रानालाई अब दोस्रो बाधा पार गर्न पनि फलामको च्युरा चपाएझँै कडा कसरत गर्नुपर्ने निश्चित छ ।
आज जुन लामो संघर्षपछि रानालाई योग्य, इमानदार, व्यवसायिक भन्दै विभिन्न अलंकारसहित समाजमा मिडिया र शुभचिन्तकहरूले चिनाउने काम गरेका छन्, अस्तव्यस्त र असुरक्षित समाजका आम नागरिकहरूले रानाबाट सुरक्षा क्षेत्रमा अब जादु हुने विश्वास राखेका हुन सक्छन् । यस संक्रमणकालीन अवस्थामा बहुसंख्यक आमजनतालाई साथ लिएर प्रहरी अघि बढ्न नसके साधारण सुधार पनि कठिन छ । त्यसमाथि प्रहरीको संगठनात्मक सुधार गर्न र ठीक मानिस ठीक ठाउँमा राख्न उहाँलाई गृहमन्त्रालयको सहयोग आवश्यक हुनेछ । त्यसको सम्भावना पनि न्यून छ । कतिपय महत्त्वाकांक्षी अधिकृतहरूले उनलाई हामीले भनेअनुसार काम गरे सुरक्षाको क्षेत्रमा जादुमय परिवर्तन हुन सक्ने भ्रम छर्दै कुबेर रानाको समयमा फाइदा लिन र फुत्त माथि उक्लन पनि प्रयास गर्नेछन् र तिनलाई साथ दिँदा रानालाई ठूलो संख्याका अधिकृतहरूको साथ मिल्ने छैन । सत्तामा रहेका दलकै ठूला नेताहरूले अपराधमा सजाय पाएका अवस्थामा तिनलाई कानुनी कठघरामा उभ्याउन रानालाई त्यो पार्टीको गुनले गाह्रै पार्नेछ । अत: समाजमा बढ्दो अराजक माहोल र अपराध नियन्त्रण गर्न तेह्र महिनाका लागि महानिरीक्षक भएका रानाले गृहमन्त्रीसहित आफ्नै प्रतिद्वन्द्वीहरूको विश्वास प्राप्त गरी काम गर्न नसके यो लक्ष्य प्राप्त गर्न उहाँलाई कठिन हुने निश्चित छ । अत: महानिरीक्षक हुने क्रममा जुन प्रकारले उनलाई व्यवसायीक भनी चिनाइएको छ त्यसअनुरूप काम गरेर जनतालाई देखाउन पनि हालको प्रहरीहरूको मानसिकतालाई अध्ययन गर्दा उनलाई फलामको च्युरा चपाएझैँ हुने निश्चित छ ।
आज धेरै असल मानिएका महानिरीक्षकहरू सत्ताधारी पार्टीका स्वार्थपूर्ति गर्ने क्रममा भ्रष्टाचारी र खलनायक बन्न विवश भई अवकासपश्चात पनि मुद्दा बोकेर हिँड्न बाध्य भएका छन् । जुन माओवादी पार्टीले कुबेर रानालाई आइजिपी बनाएको छ त्यो पार्टीलाई अहिले आन्तरिक हिनामिनाको भयो भनिएका रकमहरूको जोगाड गर्नदेखि ठूलो पार्टी सञ्चालन गर्न र चुनाव भएको खण्डमा चुनाव जित्न प्रशस्त रकम जुटाउनुपर्ने अवस्था छ । रकम जुटाउने एक उपाय प्रहरी संगठन पनि उनीहरूले देख्न सक्छन् । प्रहरीमा सुडानकाण्डदेखि नै सक्रिय हुँदै आएका भारती, भट्ट र खनाल थरका खेलाडीहरूले सधैँ आइजिपी बनाउन विभिन्न शक्तिकेन्द्रमा पैसा बोकेर हिँड्ने गरेको चर्चा बाहिर त्यसै आउँदैन र यदि उनीहरूले कसैलाई आइजिपी बनाउन लगानी गर्दछन् भने त्यस आइजिपीबाट आफ्नो लगानी उठाउने नै उनीहरूको प्रमुख लक्ष्य हुने गर्दछ  । मलाई यो कुरा थाहा छैन कि रानालाई केवल योग्यताको आधारमा मात्र पदोन्नति दिइएको छ वा रानाबाट यो गुनको बदलामा कसैले केही आशा पनि गरेका छन् ? अत: गुन लगाएको आधारमा रानालाई प्रयोग गरी धेरैको धन कमाउने अभिप्राय राखेका पनि हुन सक्दछ तर त्यसको सजाय भने अन्तमा रानाले मात्र भोग्नुपर्ने स्थिति आउन सक्छ । पदमा बस्दा खरिद गर्नै पर्दछ र त्यही खरिद नै उनका लागि गलपासो बन्न सक्दछ । अत: सम्भावित अरूका लागि काम गर्दा अवकाशपश्चात पनि आफू बलि चढ्नुपर्ने स्थितिबाट जोगिन रानालाई फलामको च्युरा चपाएझैँ गाह्रो हुने निश्चित छ ।
कुबेर सिंह रानाले उहाँका अगाडि रहेका चारवटा बाधामध्ये पहिलो बाधा पार गर्नुभएको छ । अब उहाँले बाँकी बाधाहरू पनि सहज ढंगले पार गर्न केही गम्भीर गृहकार्यहरू गर्न जरुरी छ । मेरो लामो अनुभवले सल्लाह दिनुपर्दा म छोटकरीमा के भन्न चाहन्छु भने सबैभन्दा पहिला तपाईं आफू स्वयं दक्ष र सिनियर भएकै कारणले त्यो पदमा पुगेको विश्वास राख्नुहोस् । यदि यस्तो विश्वास राख्न सक्नुभएन भने तपाईं अरूका अगाडि आफूलाई कमजोर ठान्न थाल्नुहुनेछ र गलत कार्यमा पनि सम्झौता गर्न विवश हुनुहुनेछ जसले तपाईंलाई समस्यामा पार्नेछ । दोस्रो कुरा प्रहरीका एआइजीहरूसँग ज्यादै घनिष्ट सम्बन्ध राखी उनीहरूलाई साथ लिएर तलको प्रशासन चलाउनुहोस्, जसले गर्दा उनीहरूले तपाईंमाथि आउने समस्याहरूलाई ‘सक एभजरबर’ भएर रोकिदिनेछन् । अधिकांश पूर्वप्रहरी प्रमुखहरूले एआइजीहरूलाई साथ लिन नसकेकै कारण उनीहरू समस्यामा परेका छन् । तेस्रो कुरा प्रहरीभित्र बढ्दो अनुसाशनहीनता र गुटउपगुट खत्तम गर्न देशव्यापी रूपमा प्रशिक्षण गोष्ठीहरू चलाई तपाईंको दृष्टिकोण स्पष्ट पार्नुहोस् र आमजनतासँग मिलेर प्रहरी कार्यलाई अघि बढाउनुहोस् । गृह मन्त्रालयलगायत सम्बन्धित विभाग, मन्त्रालय, व्यक्ति, संस्था, प्रेससँग सुमधुर सम्बन्ध बनाउने विशेष प्रणाली विकास गर्नुहोस्  । प्रहरी कल्याणको क्षेत्रमा केही उल्लेखनीय योगदान दिनुहोस् । अहिलेको संक्रमणकालीन अवस्थामा एउटा आइजिपीले सुरक्षामा जादुमय काम गर्न सक्दैन तापनि उल्लेखनीय सुधार गर्न सक्दछ । कसैलाई खोसेर, बिगारेर, दु:ख दिएर प्रहरी कर्मचारी र प्रहरी संगठन सुध्रन्छ भन्ने विश्वास गलत हो । प्रहरी आत्मा हो र आत्मा ज्ञानले परिर्वतन हुन्छ अत: आफ्ना प्रहरीहरूलाई प्रशस्त ज्ञान प्रदान गर्नुहोस् । कुबेर सा’बलाई यी सबै बाधाहरू पार गर्न सफलता मिलोस् ।

प्रतिक्रिया