प्रहरी–तस्कर भिडन्त

सिन्धुपाल्चोक, १ असोज । सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा शनिबार तस्कर र प्रहरीबीच भिडन्त हुँदा एकजना तस्करको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर हगाम–५ का २५ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीको गस्ती टोलीमाथि करिब ५० जनाको समूहमा रहेको तस्कर टोलीले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको गोली लागेर श्रेष्ठको मृत्यु भएपछि तस्कर र भरियाको भागभाग भएको थियो । प्रहरीले फुल्पिङकोट–८ धुस्कोटका बिर्ख श्रेष्ठ र फुल्पिङकट्टी खोकुण्डोलका प्रताप तामाङलाई नियन्त्रणमा लिएको डिएसपी प्रताप गुरुङले जानकारी दिए । यस्तै, प्रहरीले सो समूहले लैजाँदै गरेको करिब दुई टन रक्तचन्दन पनि बरामद गरेको छ । राजमार्गमा प्रहरीले चेकजाँचमा कडाइ गरेपछि तस्करहरूले भरियालाई बोकाएर गाउँको बाटो हुँदै चन्दन चीन पुर्‍याउने गरेका थिए । तस्कर सक्रिय भएपछि पछिल्लो समयमा अभियानकै रूपमा सर्च थालिएको सीमा प्रहरी कार्यालय लार्चाका इन्स्पेक्टर विश्व कार्कीले बताए ।
भरियालाई बोकाएर चन्दन खासा निकासी गर्न लागेको तस्कर समूह र प्रहरीबीच शुक्रबार बिहान पनि सोही स्थानमा झडप भएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरेको थियो । अभियानकै क्रममा आइतबार बिहान प्रहरी र तस्कर समूहबीच जम्काभेट भएको इन्स्पेक्टर कार्कीले बताए । ‘तस्करी गतिविधि बढेको शंका भएपछि हामीले अहिले अभियानकै रूपमा सर्च गर्न थालेका छौँ,’ कार्कीले भने, ‘यो घटनालाई हामीले हाम्रो सफलताको हिसाबमा बुझेका छौँ ।’ उनका अनुसार राति करिब एक बजे सेलाङकट्टीको जंगलमा प्रहरी र तस्करको जम्काभेट भएको थियो । प्रहरी थोरै संख्यामा देखेपछि तस्कर समूहले नै आक्रमण सुरु गरेका थिए । प्रहरी चौकी नारायणस्थानबाट असई राजन कार्कीको नेतृत्वमा पाँचजनाको टोली सर्चमा गएको थियो ।
तस्कर समूहले प्रहरी देख्नेबित्तिकै दुई राउन्ड हवाई फायर गरेपछि प्रहरीले पनि हवाई फायर गरेको कार्कीले बताए । ‘आत्मरक्षाका लागि पनि गोली चलाउन बाध्य भयौँ,’ उनले भने । जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सुजन राजभण्डारीसहितको टोली राति नै घटनास्थल पुगेको थियो । पक्राउ परेकाहरूले प्रहरीलाई दिएको जानकारी अनुसार चन्दन फुल्पिङकट्टीका नारायण पौडेल र उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य विष्णु खत्रीको भएको खुल्न आएको छ । पक्रउ परेका बिर्खबहादुरका अनुसार फुल्पिङकट्टी खोकुण्डोलका निमा लामा, प्रकाश कार्की र सुनील पौडेलले चन्दन क्यारिङको जिम्मा लिएका थिए । पौडलले यसअघि डलर अपचलनको मुद्दामा दुई वर्ष जेल सजाय भोगिसकेका छन् । पौडेल पहिलादेखि नै उक्त ‘रुट’मा अवैध धन्दा गर्ने व्यापारीका रूपमा चिनिएका छन् । पौडलले प्रतिकिलो दुई सय रुपियाँ दिने सर्तमा आफूहरूले चन्दन बोकेको बिर्खको भनाइ उद्धृत गर्दै इन्स्पेक्टर कार्कीले जानकारी दिए ।
शुक्रबार पनि प्रहरीले चन्दनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले बा २ ख ८८६७ नम्बरको ट्याक्सी, बा ३७ प २०७५ नम्बरको अपाची मोटरसाइकलसहित फुल्पिङकट्टी–४ का संजोग भण्डारी र गणेशबहादुर खड्कालाई नियन्त्रणमा लिएको थियो । राजमार्गमा प्रहरीले कडाइ गरेपछि ग्रामीण सडक हुँदै वा भरियालाई बोकाएर चन्दन चीन पुर्‍याउने गरेका छन् । फुल्पिङकट्टी र तातोपानीका स्थानीय युवाले भने प्रहरीको गोलीबाट निर्दोष व्यक्तिको ज्यान गएको भन्दै आइतबार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा चीनबाट हुने आयातनिर्यात कारोबार प्रभावित भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया