पुलिस विजयी, हिमालयन स्तब्ध

काठमाडौं, ३१ भदौ । तीन वर्षपछि मैदानमा फर्किएका चेतन घिमिरेसहितको नेपाल पुलिस क्लबले सरस्वती क्लबलाई ६–२ ले पराजित गर्दै एनसेल फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । अर्कोतिर हिमालयन शेर्पा भने संकटासँग १–० ले स्तब्ध हुन पुगेको छ ।
जुमानु राईको गोलमा पहिलो मिनेटमै अग्रता लिएको पुलिस खेलभर हाबी देखियो । विजयी टोलीका लागि जुमानु राईले दुई तथा भोला सिलवाल, भरत शाह, रमेश कटुवाल र पर्वत पाण्डेले एक–एक गोल गरे ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा सुरुआतदेखि नै आक्रामक बनेको पुलिसका लागि जुमानुले पहिलो मिनेटमै आकर्षक गोल गरे । उनले गोलकिपर अशोक बरालबाट रिवान्उड भएको आफ्नो प्रहारमा पुन: अगाडि बढ्दै गोल गरेर पुलिसलाई अग्रता दिलाएका हुन् ।
१९आँ मिनेटमा फ्री–किकमा सिधै गोल गरी फ्री–किक प्रहारमा निकै प्रभावशाली मानिने राष्ट्रिय टोलीका पूर्वसदस्य पर्वतले पुलिसको अग्रता दोब्बर बनाएका थिए । खेलमा २–० ले पछि परेको एक मिनेट पनि बित्न नपाउँदै संकटाले योना एलिआसको गोलमा गोलअन्तर घटाएको थियो । कृष्णगोपाल श्रेष्ठको पासमा अफ्रिकन एलिआसले राष्ट्रिय टोलीका गोलकिपर रीतेश थापा र कमै गोल खाने छवि बनाएको उनको टोली पुलिसलाई क्षणिक भए पनि निराश बनाएका थिए । त्यसपछि केही जोसिएको संकटाले ३४आँै मिनेटमा थप गोल व्यहोर्‍यो । योगेश श्रेष्ठको पासमा गोल गरी भोलाले पुलिसको अग्रता पुन: दोब्बर बनाए ।
पहिलो हाफमा ३–१ ले अघि रहेको पुलिसले दोस्रो हाफमा पनि थप ३–१ को नतिजा निकाल्यो । ६२औँ मिनेटमा पुलिसले चौथो गोल थप्यो । पुलिसले त्यसपछि चार मिनेटको अन्तरमा दुई गोल गर्‍यो । ८१आँै मिनेटमा योगेश श्रेष्ठको प्रहारलाई सरस्वतीका गोलकिपर अशोक बरालले क्लियर गर्न नसक्दा रिवाउन्डमा गोल गरे । त्यसको चार मिनेटपछि विपक्षी डिफेन्डरको कमजोरीका कारण बल विनाअवरोध अगाडि बढाउँदै कप्तान जुमानुले गोल थपे । ९०आँै मिनेटमा सरस्वतीका एलिआसले थप गोल गरे पनि सरस्वतीलाई जोगाउन निकै ढिलो भइसकेको थियो ।
भरत खवासले छाडेयता पहिलोपटक पुलिस मैदानमा उत्रिएको थियो । लामो समयपछि खेलमा फर्किएका चेतनले भने लय समाउन सकेनन् ।
शनिबार नै भएको अर्को खेलमा युवा खेलाडीले भरिपूर्ण हिमालयनले पेनाल्टी गोलमा संकटालाई नतिजा सुम्पियो । संकटाका कप्तान सल्यान खड्गीले ६०आँै मिनेटमा उक्त गोल गरेका हुन् । हिमालयनका डिफेन्डर सोमबहादुर मल्लले संकटाका विदेशी खेलाडी मेम्बोलाई डी–बक्सभित्र लडाएपछि रेफ्री विकास महतले पेनाल्टी दिएका थिए । संकटाको जितमा विदेशी गोलकिपर पायरको भूमिका पनि विशिष्ट रहयो । खेलमा सुरुआतदेखि गतिलो प्रदर्शन गरेको हिमालयनको लगातार प्रहार पायरले उत्कृष्ट तरिकाले बारम्बार रोकेका थिए ।
२७आँै मिनेटमा हिमालयनका गणेश खड्काले डी–बक्स ‘इज’ बाट गरेको प्रहार गोलकिपर पायरले राम्रोसँग बचाए । ७९आँै मिनेटमा पायरले अर्को उत्कृष्ट बचाउ गरे । एकेडेमी प्लेयर हेमन गुरुङको कर्नर प्रहारमा रूपेश केसीले आकर्षक हेड प्रहार गरे पनि पायरले डाइभ गर्दै सुन्दर बचाउ गरे । साताँै मिनेटमा डिफेन्डर सचिन्द्र धिमाल घाइते भएर मैदानबाट बाहिरिएपछि संकटमा पर्ने अनुमान गरिएको हिमालयनको डिफेन्स लाइन–अपले सजिलै विपक्षी आक्रमणलाई रोक्यो । काँधको जोर्नी ‘डिस लोकेट’ भएपछि सचिन्द्र केही साता मैदानबाहिर रहनुपर्ने भएको बताइएको छ ।

प्रतिक्रिया