६० हजार सैनिकको सामूहिक काजकिरिया गरिने

काठमाडौं, ३१ भदौ । बेलायती साम्राज्य विस्तारको पक्षमा लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकको सामूहिक काजकिरिया गरिने भएको छ । आफ्नो देश बचाइदिने ६० हजारभन्दा बढी गोरखा सैनिकलाई बेलायत सरकारले बेवास्ता गरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले उनीहरूको सम्मानमा सात दिन सामूहिक काजकिरिया गर्न लागेको हो ।

गेसोले तेस्रो चरणको आन्दोलनअन्तर्गत बनाउन लागेको ‘गोरखा स्मारक’ शिलान्यासअघि मंसिर पहिलो साता दिवंगत सैनिकको सामूहिक काजकिरिया गर्न लागिएको गेसो सभापति पदमबहादुर गुरुङले बताए । गेसोले स्याङ्जाको फेदीखोला–८ स्थित साल्मेडाँडामा ३ सय रोपनी जग्गामा स्मारक बनाउन लागेको छ । दुई शताब्दीदेखि नेपाली युवाले गोरखाका रूपमा ब्रिटिस सेनामा काम गर्दै आएका छन् । त्यही क्रममा मारिएका ६० हजारभन्दा बढीलाई बेलायत सरकारले बेवास्ता मात्र होइन, अपमान गरेको सभापति गुरुङको भनाइ छ ।
‘दुईवटा विश्वयुद्ध र विभिन्न क्षेत्रीय युद्धमा गरी ६० हजारभन्दा बढी गोरखा सैनिक मारिएका छन् तर ब्रिटिस साम्राज्यले न तिनका परिवारलाई राहत दियो न त उनीहरूको सम्मानमा केही कामै गर्‍यो,’ गुरुङले भने, ‘तिनै गोरखा सैनिकको भड्किरहेको आत्मालाई स्वर्ग तार्न सामूहिक काजकिरिया गर्न लागेका हौँ ।’ गेसोले सामूहिक काजकिरियाको तयारीस्वरूप एक साताअघि धर्मगुरुको राष्ट्रिय भेला बोलाएको थियो । गेसोका अनुसार बेलायतको पक्षबाट लड्दा गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, शेर्पा, नेवार, तामाङ, बाहुन, क्षत्री, दलित, याक्खा, भुजेल, ठकुरी, दुरा गरी १५ जातका नेपाली मारिएका छन् । ती सबै जातिका धर्मगुरुसँगको सामूहिक छलफलपछि गेसोले सामूहिक काजकिरियाको तयारी गरेको हो ।
सामूहिक काजकिरिया बेलायती शासकको ‘नैतिक पराजय’को सन्देश हुने पनि गुरुङको भनाइ छ । ‘आफूलाई मानवअधिकारको जननी ठान्ने बेलायती शासकले मुलुक बचाइदिने सैनिकको कसरी अमानवीयकरण गरेको रहेछ भन्ने सन्देश जानेछ,’ उनले भने, ‘यसले ब्रिटिस शासकको असली अनुहार उदांगो हुनेछ ।’ काजकिरियामा विश्वकै अधिकारकर्मी पनि सहभागी हुने गेसोले जनाएको छ । बेलायतको मानवअधिकारविरोधी कार्यको विरोध र न्यायको पक्षमा ऐक्यबद्धता जाहेर गर्न विश्वभरबाट अधिकारकर्मी आउने जानकारी गेसो सल्लाहकार डा.चन्द्रबहादुर गुरुङले गराए । ‘हामी संसारभरका मान्छेलाई ल्याएर ब्रिटिसको मानवअधिकार देखाउँछाँै,’ बेलायतमा रहेका डा. गुरुङले टेलिफोनमा भने ।
गेसोले सामूहिक काजकिरिया सकिएलगत्तै १२ मंसिरमा गोरखा स्मारकको शिलान्यास गर्ने भएको छ । स्मारकमा बेलायती शासकले गोरखा सैनिकमाथि गरेको अत्याचारको सटीक र दुरुस्त इतिहास लेखिने गेसोले जनाएको छ । ‘जहाँ–जहाँ गोरखा सैनिक मारिए, जहाँ उनीहरूले युद्ध लडे, जहाँ–जहाँ उनीहरूका सामूहिक चिहान छन् ती ठाउँबाट एकएक मुठी माटो अस्तुका रूपमा ल्याएर स्मारकमा राखिनेछ,’ गेसो उपसभापति कृष्णकुमार राईले भने, ‘स्तम्भमा ब्रिटिस साम्राज्यको नस्लवाद र अत्याचारको कथा पनि लेखिनेछ जसले गर्दा ब्रिटिस साम्राज्य नैतिक रूपमा झुक्न बाध्य हुनेछ ।’ यो समाधिको मुख्य उद्देश्य बेलायती शासक र राणाशासक नेपाल र नेपालीको बर्बादीको कारण हुन् भनेर देखाउनु रहेको उनको भनाइ छ । स्मारक निर्माणमा तीन अर्ब लाग्ने अनुमान गरेको गेसोले बेलायत र नेपाल सरकारबाट एक पैसा नलिने जनाएको छ ।

प्रतिक्रिया