प्रधानमन्त्री चढेको हेलिकोप्टर आधा घन्टा राप्ती किनारमा

नेपालगन्ज, ३१ भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितको टोली लिएर राजधानीबाट जुम्लाका लागि उडेको नेपाली सेनाको हेलिकोप्टरलाई शनिबार आकस्मिक अवतरण गराइएको छ ।
मौसममा खराबी आएपछि नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरलाई शनिबार दिउँसो बाँकेको कचनापुर–५ स्थित राप्ती किनारमा आकस्मिक अवतरण गराइएको हो । काठमाडौंबाट सुर्खेत हुँदै जुम्लातर्फ जानुपर्ने हेलिकोप्टरलाई भैरहवा–तुल्सीपुर–सल्यानतिर डाइभर्ट गरिएको थियो । उक्त रुटमा पनि भीषण बर्षा भई मौसम अनुकूल नभएपछि चालकले हेलिकोप्टर राप्ती किनारमा अवतरण गराएका थिए ।
रुट परिवर्तन गर्दा पनि हेलिकोप्टर अगाडि जान नसकेपछि दिउँसो करिब १२ बजेर २१ मिनेटमा कचनापुर–५ स्थित राप्ती किनारमा सुरक्षित अवतरण गराइएको नेपालगन्ज विमानस्थल टावरका प्रबन्धक श्याम किशोर शाहले बताए । प्रबन्धक शाहका अनुसार हेलिकोप्टर करिब ३७ मिनेट राप्ती किनारमा राखिएको र त्यसपछि मौसम अनुकूल बन्दै गएपछि १२ बजेर ५६ मिनेटमा नेपालगन्जका लागि उडाई १ बजेर ४ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गराइएको थियो ।
प्रधानमन्त्रीसहितको टोली नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूमा दिउँसोको खाना खाएर ३:१५ मा पुन: जुम्लाका लागि उडेको थियो ।
हरेक महिना जनताको घरमा बस्ने योजनाअन्तर्गत प्रधानमन्त्री टोली लिएर शनिबार जुम्ला जाँदै थिए । प्रधानमन्त्रीले शनिबारको रात तातोपानी–१ राका गाउँका मानसिंह सार्कीको घरमा बिताउँदै छन् । मौसम खराबीले हेलिकोप्टरलाई आकस्मिक अवतरण गराउनुपर्दा केही बेर अन्योल छाएको टोलीमा रहेका प्रेस काउन्सिल सदस्य मनऋषि धितालले बताए ।
टोलीमा मुख्यसचिव लीलामणि पौडेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठ, भौतिक योजनासचिव तुलसीप्रसाद सिटौला, कृषिसचिव गणेश जोशी, राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, गरिबी निवारण कोषका सदस्य महेन्द्र सापकोटा र प्रेस काउन्सिलका सदस्य धितालसहित १४ जना छन् ।

प्रतिक्रिया