भाइरलबाट उदयपुरमा दुईको मृत्यु

राजविराज, ३१ भदौ । भाइरल ज्वरोका कारण उदयपुरमा दुई जनाको मृत्यु भएको छ । बेलटार—३ स्थित सिर्वानीका एक बालकसहित दुई जनाको मृत्यु भएको हो । सोही वडामा सयाँै सर्वसाधारण बिरामी परेका छन् । ज्वरोले ग्रस्त भएका स्थानीय चन्द्रशेर राईका १२ वर्षीय छोरा सन्तोषको उपचारकै क्रममा विराटनगमा मृत्यु भएको स्थानीयले बताए ।

दुई साताअघि सोही वडाका कमल कार्कीका १६ वर्षीय छोरा मिलनको समेत मृत्यु भएको उनीहरूको भनाइ छ । भाइरल ज्वरोका कारण १५ दिनयता वडामा तीन सयभन्दा बढी बिरामी परेको स्थानीय कालिका माविका शिक्षक ऋषिराम खतिवडाले बताए ।
मौसममा देखिएको परिवर्तनसँगै भाइरलको प्रकोप देखिएपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरोसँगै टाइफाइड र जन्डिसका बिरामीसमेत बढेको उनीहरूको भनाइ छ । गाउँमा दैनिक ५० भन्दा बढी सर्वसाधारण भाइरल ज्वरोले पीडित हुने गरेको उनीहरूले जनाएका छन् । एक हजार आठ सय जनसंख्या रहेको ६ गाउँमा तीन सयभन्दा बढी बिरामी परेको पूर्ववडाध्यक्ष लक्ष्मीप्रसाद दाहालले बताए । बिरामीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि धरान र विराटनगरलगायतका अस्पतालमा लगेर उपचार भइरहेको उनले बताए ।
कालिका माविका शिक्षक खतिवडाले दिएको जानकारीअनुसार विद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थी बिरामी परेका छन् । आफ्नै विद्यालयको विद्यार्थीको ज्वरोका कारण मृत्यु भएको र अन्य विद्यार्थीसमेत बिरामी पर्ने क्रम बढिरहेकोले विद्यार्थी अभावमा विद्यालय बन्द हुने अवस्था आएको प्रअ राजबहादुर मगरले बताए । ‘यस्तै अवस्था रहयो भने दुई दिनपछि विद्यालय बन्द हुन्छ,’ उनले भने । सन्तोष कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको मगरको भनाइ छ ।
उदयपुरको बेलटार, कटारी, त्रियुगा नगरपालिका, रामपुरठोक्सिला, उदयपुरगढी, बसाहा, आमवासी हडियालगायतका स्थानमा समेत ज्वरोका बिरामी बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल उदयपुरमा मात्र दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको जनस्वास्थ प्रमुख डा. चुमनलाल दासले बताए ।

प्रतिक्रिया