तत्काल प्रधानमन्त्री पद छाड्दैनौं

काठमाडौं, ३० भदौ । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले राष्ट्रपतिलाई उचालेर कांग्रेस/एमालेले सत्ता हत्याउन खोजेको आरोप लगाएका छन् ।
पार्टी मुख्यलय कोटेश्वरमा आज आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस/एमालेले राष्ट्रपतिलाई उचालेर सत्ता हत्याउने प्रयासमा छन् ।’ राष्ट्रपतिले सरकार विस्थापित गर्न कुनै कदम चाले एमाओवादीले जनदवाव सिर्जना गर्ने उनको चेतावनी थियो ।
प्रवक्ता सापकोटाले कांग्रेस/एमालेले सत्तालाई केन्द्र विन्दुमा राखेकाले सहमति हुन नसकेको आरोप लगाए । ‘संविधानका विवादित विषयमा भन्दा विपक्षी दलहरु सत्ता केन्द्रित कुरा मात्रै गर्छन्,’ उनले भने ।
उनले संविधानका अन्तर्वस्तुमा सहमति भए प्रधानमन्त्री बाबुराम भट्टराईले पद छाड्ने अन्यथा नछाड्ने दोहराए । यथास्थितिमा प्रधानमन्त्रीले पद त्याग गर्दा मुलुकमा संकट आउने सापकोटाको दाबी थियो ।

प्रतिक्रिया