सत्यको बाटो

हाम्रो इच्छा हुन्छ उनीसित जोडिने, उनको साथमा बस्ने । यसमा कुनै लेनदेन हुँदैन, व्यापार हुँदैन, विनिमय हुँदैन । न गोपिनी र कृष्णका बीच कुनै व्यापार थियो, न ग्वाला र कृष्णका बीच कुनै व्यापारिक विनिमय थियो । त्यो त देवता र अवतारका बीच मिलनको एक क्रिया थियो । जो उनका कति थिए, जो वरिपरिका व्यक्ति थिए । तिनीहरू यसलाई राम्रो मान्दैनथे  । किनभने उनीहरूमा राक्षसी प्रवृत्ति थियो । यहाँ राक्षस पनि जन्म लिन्छन्, यहाँ देवता पनि जन्म लिन्छन् । दुवैको देह त मनुष्य रूपमै हुन्छ । एउटै गर्भबाट जन्म लिन्छन्, प्रवृत्ति दुवैको अलग अलग हुन्छ । तिनीहरूको प्रवृत्तिबाटै हामी चिन्न सक्छौँ– यो राक्षस हो, यो देवता हो भनेर । कहिलेकाहीँ दुर्भाग्यबस राक्षससित देवीको विवाह हुन जान्छ या कुनै राक्षसीसित देवताको विवाह हुन जान्छ । यस्तो भयो भने गृहस्थ जीवन नारकीय बन्न पुग्छ । तर, यस्तो अवस्थामा पनि यदि दुवैको मनमा एउटै भाव पैदा होस्, गुरुचरणमा आफू स्वयंलाई समर्पित गरुन्, समर्पण भयो भने पनि परिवर्तन हुन सक्दछ । तनबाट, मनबाट समर्पण हुन्छ भने अश्रुको माध्यमबाटै हुन्छ । शिष्य र गुरुका बीच जोडिने कडी यही हो । जहाँबाट तपाईंले क्रोध या कामलाई निकाल्नुभयो त्यो स्थल पवित्र भयो । किनभने आँसु बाहिर आयो, आँसु धोएर जुन स्थानबाट निक्ल्यो त्यही ठाउँमा गुरुलाई स्थापन गरियो, ती देवतालाई स्थापन गर्नुभयो जुन तपाईंका इष्टदेवता हुन्, उनी फेरि हृदयबाट निक्लँदैनन् । सुत्दा पनि तपाईंको आँखामा उनकै प्रतिविम्ब रहन्छ । तपाईं ब्युँझदा पनि लाग्छ साथमा कोही बसेको छ, काम गर्न थाल्नुहुन्छ, लाग्छ उनी नै काम गरिरहेका छन् । तपाईं जेजस्तो क्रिया गर्नुहुन्छ यस्तो लाग्दछ उनै गरिरहेका छन् म एक निमित्त मात्र हुँ । यस्तो स्थितिमा स्वयं दुई गुणा, चार गुणा, दश गुणा उत्साहका साथ काम गरिन्छ । बिलकुल प्रेम सम्बन्धमा जोडिन पुग्छ । तुच्छ व्यक्तिहरू त्यसलाई बासना मान्न थाल्छन् । उच्च कोटिका व्यक्ति स्वयंमा प्रसन्न हुन्छन्, किनभने एउटा जोडिने क्रिया बन्यो ।
यसैकारण शंकराचार्यले भनेका छन्– यस्तो अवस्था गुरु र शिष्य, देवता र भक्त भगवान्का बीच हुन्छ तर त्यसमा सारा संसार, उसको सारा परिवार बाधक बन्छ । प्रशंसा गर्दैनन् किनभने तिनको मनोवृत्ति राक्षसको हुन्छ । उनीहरू उत्साहित गर्दैनन्, प्रेरित गर्दैनन् । उल्टै राक्षसहरूका बीचमै खिच्ने कोसिस गर्छन् । यसो भएपछि संघर्षशील मानसमा मन्थन भइरन्छ– के गरुँ, के नगरुँ । शंकाराचार्यले ब्रह्म पुराणको चौथो लाइनमा भनेका छन्– जो ज्यादै उच्चकोटिका सौभाग्यशाली व्यक्तित्व छन्, तिनले मात्रै जीवित जाग्रत गुरुका चरणमा बस्न पाउँछन् । जुन क्षण गुरुका साथमा रहँदा आनन्द आउँछ त्यो उनको मूर्तिबाट आउन सक्दैन, चित्रबाट आउन सक्दैन, तस्बिरबाट आउन सक्दैन । जुन गोपिनीहरूले कृष्णका साथ यमुना किनारमा आनन्द लिए कृष्ण गएपछि त्यो आनन्द लिन सकेनन् । आँसु त बगाई नै रहे, आँसुको प्रतिविम्बमा कृष्णको दर्शन गरिरहे तर त्यो आनन्दको अतिरेकता समाप्त भयो ।
जब उच्चकोटिको शौभाग्य मिल्छ अनि मात्र व्यक्ति जीवित गुरुसित जोडिन पुग्छ । त्यस्ता गुरु जो तपाईंका साथमा छन्, तपाईंसित हाँस्छन्, रुन्छन्, उदास हुन्छन्, चिन्तित हुन्छन्, बिचलित हुन्छन् । गुरुले तपार्इंसित एकाकार हुने क्रिया यसकारण गर्छन् ताकि तपाईंलाई तानेर आफूमा मिलाउन सकियोस्, विस्तार–विस्तार आँसुले मनलाई, हृदयलाई पवित्र गर्दै आफूमा स्थापित गरोस् । जब हृदयमा गुरु स्थापित हुन्छन् त्यसपछि त्यो चित्र, त्यो विम्ब बाहिर निकल्दैन जबसम्म उसमा राक्षस हाबी हुँदैन ।
जब त्यो विम्ब, त्यो दृश्य, त्यो अवतार पूर्णरूपमा स्थापित गरियो व्यक्ति स्वत: सौभाग्यशाली बन्न जान्छ । उसको शरीरबाट आफैँ सुगन्ध प्रवाहित हुन थाल्दछ । यसको चिन्तन जब व्यक्तिले गर्न थाल्यो जान्नु उसको पहिलो पाइला अघि बढ्यो । एक, दुई, तीन कदम हुँदै पाँच कदम सारेपछि कुनै न कुनै विघ्न बाधा त पक्कै आउँछ । आफ्नो मनको संस्कारले तपाईंलाई बिचलित गर्ला । आफ्नै बुद्धिले भ्रमित गर्ने कोसिस गर्ला । तपाईंमा सञ्चारी भाव आउला । किनभने तपाईंका शरीरमा विकार छ । जबसम्म त्यो निस्किँदैन, तपाईं र अवतारी पुरुषका बीच, तपाईं र भगवान्का बीचमा बाधा आइरहन्छ ।
मीरा र कृष्णका बीचको भोजमा सैनिक बाधक बनिरहे । मीरा यति दु:खी भइन् कि उनले राजमहलबाट निस्कनुपर्‍यो, सडकमा आउनुपर्‍यो । किनभने ती सब विकार थिए, सब राक्षस प्रवृत्तिका थिए । तर, उनलाई आफ्नो लक्ष्यको ज्ञान थियो । उनको आँखामा सफा प्रतिविम्ब देखिइरहेको थियो । ‘मेरो त गिरधर गोपाल, दोस्रो कोही छैन’, यसकारण यो श्लोकको जीवनमा ठूलो महत्त्व छ । जीवनमा एक चिन्तन हुन्छ । व्यक्ति आफ्नो गृहस्थ कार्यमा लागिरहन्छ, बाध्यता छ, लागिरहनु पनि पर्छ । ती गोपिनी ग्वाला, उद्धव, ती अंक्रुर पनि आफ्नो कार्यमा लागिरहे । तर, त्यो कार्य कहिल्यै नगर्नु जसले असत्यको बाटोमा अग्रसर गराओस्, त्यही कार्य गर्नुपर्छ जसबाट ती व्यक्तित्वसित जोडेर राखिरहोस् ।

अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया