खोजखबर

यिनका पति दीर्घायु बनुन्

सौर्य अनलाइन २०६९ भदौ ३० गते २:३३ मा प्रकाशित

संसारमा अति गरिब मानिस बढी अन्धविश्वासी छन् । नाइजेरियाजस्तो गरिब मुलुकका जनता धर्ममा अति नै विश्वास गर्छन् । उता अमेरिकाजस्तो समृद्ध मुलुकका जनता पनि धर्मप्रति हुरुक्कै छन् । यसबाट बुझिन्छ, धनीहरूमा पनि आत्मविश्वास छैन, ती अर्कै कुनै अदृश्य शक्तिको आड भरोसामा छन् । हामी नेपालीमा, अझ महिला, जसको न सामाजिक न कानुनी हैसियत माथि छ, न त सम्पत्तिको अधिकार छ, न आफ्नो शरीरमाथि आफ्नै नियन्त्रण छ, धर्ममा लिप्त रहेको पाइन्छ । मिलेको केही छैन परन्तु मानिस केही पाउने आशामा अलौकिक चमत्कारका पछाडि कुदेको कुद्यै छन् । जतिबेला पनि भन्छन्– ‘हे भगवान् †’  म भन्छु – ‘हे भगवान् † यी महिला घरमा पनि र आस्थामा पनि लिंगपूजनमा किन यति बढी लग्गू † यिनलाई केही दिन मिल्छ भने दिइहाल भगवान् : यिनका पति दीर्घायु बनुन् ।’
‘आत्मन: प्रतिकूलानि परेषां न समाचरेत्’ अर्थात् ‘आफूलाई मन नपर्ने कुरा अरूलाई नगर्नू नै धर्म हो ।’ भगवान् र सत्य एउटै भएको भनिन्छ र धर्मलाई आ–आफ्नै ढंगमा व्याख्या गर्ने गरेको पाइन्छ । भगवान् एउटै छन् तर कसैले ईश्वर भन्लान्, कसैले क्राइस्ट र अल्लाह । सबै आठ सिद्धि, सबै आठ ऐश्वर्य, सबै तीन शक्तितत्त्वलाई भव: भनिन्छ । ती सबै गुण जोसँग हुन्छ, उही भगवान् † सायद, यही गुण भएर हो, तिजमा भगवान् शिवको नाममा मन्दिरहरूमा, पाटीहरूमा र बाटोघाटोमा व्रत बस्ने, रातो सारी लगाएका र गहनाले झपक्कै पुरिएका महिलाहरूको लामो लाइन हुन्छ र उनीहरूको एउटै लक्ष्य हुन्छ– शिव आराधना ।
चाडबाडमा मन्दिरतिर यसो टहल्ने हो भने मात्रै पनि मान्छे र तिनका चाहनाबारे सामान्य अड्कल काट्न सकिन्छ । बितेका वर्षहरूमा नेपाली महिलाहरू तिजमा रमाइरहेका बेला पशुपतिनाथतिर घुमीहेर्दा आफैँलाई प्रश्न गर्थें– यो गर्मीमा यति लामो लाइन बसेर दर्शन गर्ने को हुन् तिनका भगवान्, जसबाट मानिस यति धेरै र विविध अपेक्षा गरिरहेका छन् ? मानिस कहिल्यै नभेटिएका र नदेखिएका भगवान्को किन यति चर्को विश्वास गर्छन् ? के भगवान् अस्तित्वमा छन् ?
मेरो अन्तिम प्रश्न ‘के भगवान् अस्तित्वमा छन् ?’ का थुपै्र खाले उत्तरहरू हुन्छन्, मुख्यत: विभाजित उत्तरहरू । एक दिन दारुमहलमा चर्काचर्की बहस हुँदा कथाकार कुमार नगरकोटीले भनेका थिए, ‘यसबारे छलफल गर्नु समय खेरफाल्नुजत्तिकै हो । न अहिलेसम्म कसैले भगवान् छ भन्ने पुष्टि गर्न सकेको छ, न छैन भन्ने ।’ तर, तिजमा, कृष्ण जन्माष्टमीमा वा अन्य ठूला चाडबाडमा मन्दिरतिर मानिसको लामो लाइन देखेर भन्न सकिन्छ, एउटा ‘विश्वास’ र ‘आस्था’कै लामो लाइनमा उभिएर मानिस जिन्दगीको यात्रा गर्छ । धर्मकै नाममा विश्वभरि युद्ध, काटमार भएका छन्, जसबाट थुप्रैको ज्यान गएका दृष्टान्तहरू इतिहासका पानाहरूमा सुरक्षित छन् । एउटाले अर्काको धर्म नस्विकार्ने र आफ्नैलाई मात्र ‘भगवान्’ मान्ने चलन नयाँ होइन । त्यसैले त थुपै्र धार्मिक पाखण्डीहरू पनि ‘भगवान्’ पुकारिएका छन् । तर, केही मानिस ठान्छन्, जे नामले पुकारिए पनि सारमा धर्म एउटै छ । मानिसलाई जन्मदैदेखि आफ्नो पुर्खादेखि चलिआएको ‘विश्वास’प्रति प्रश्न नगर्न सिकाइएको हुन्छ र आँखा चिम्लेर त्यसलाई पछ्याउन प्रेरित गरिएको हुन्छ । विश्वका हरेक कुनाका मानिस कुनै न कुनै धार्मिक परिवेशमा जन्मिएका हुन्छन् । उनीहरू हिन्दू, मुस्लिम, बौद्धमार्गी या क्याथोलिकका रूपमा हुर्किन्छन् ।
विश्वभरिका मानिस अनेक धर्मका नाममा विभाजित छन् । युवामाझ अति प्रिय सामाजिक सञ्जाल फेसबुक, ट्विटरको प्रोफाइल या युनिभर्सिटी, राष्ट्रिय जनगणनाको फारम, तिनमा ‘धर्मबारेको दृष्टिकोण के हो’ भन्ने प्रश्न राखिएका हुन्छन्, जसमा मानिसले एकभन्दा बढी धर्म या त्यसबारे बहुविचार राख्छन् भन्ने अपेक्षा गरिन्छ । धार्मिक पर्वहरू सामाजिक उत्सव र माहोल मनाउन जम्मा भएका एउटै छतमुनिका मानिसहरूले आपसमा सञ्चार गर्ने फोरम हुन् । घरबाट निस्केर कृष्णमन्दिर वा पशुपतिनाथमा जम्मा भएका र तुलनात्मक रूपमा अरू दिनमा भन्दा केही स्वतन्त्रता महसुस गरेका महिलाहरूले तिजलाई त्यस्तै अवसर या फोरमका रूपमा उपयोग गर्छन् ।
०००
यसपटकको कृष्ण जन्माष्टमीमा म बनेपाको कृष्ण मन्दिरमा थिएँ । रातको अन्धकारमा डुब्दै गरेको मन्दिरका टुँडालबाट सदियौँ पुरानो यौनविम्ब ओझेल पर्दै थियो । मन्दिरको कुनापट्टिको चर्को लाइटमुनि भक्तजन थिए, कृष्ण महिमामा डुबिरहेका । कृष्णका भक्तहरू दुई समूहमा बाँडिएका थिए, बूढाहरूको समूह कृष्णभजन गाउँदै थिए । यता ठिटा–ठिटीको समूहचाहिँ आफ्नै सुरका आधुनिक गीतमा नाच्दै थिए र मादक देखिन्थे । रातको १० बज्नै लाग्दा (द्वापरयुगमा कृष्ण जन्मिएको समय नजिकिँदै गर्दा) कृष्ण मन्दिर परिसर गुलजार बन्दै थियो, ‘भक्तजन’ ठिटा–ठिटीको आगमन बाक्लिँदै थियो । हरिया पोते, राता सारी र नङपालिस लाएका महिला झुरुप्प एकठाउँमा जम्मा हुन्थे, बेलाबेला गाउँथे, ठूलो स्वरले चिच्याउँथे, ताली बजाउँथे, हाँस्थे र नाच्थे ।
छिनभरमै महिलाको साइडमा उभिएका अधबैँसेहरूको एक हुल महिलासँग दोहोरी खेल्न तयार भए–
लाज मानेर नसोच्नु अर्को
हजूरजस्तै म पनि यो गाउँको…
तत्कालै पुरुषलाई जवाफ फर्काइहाल्ने मुडमा प्रस्तुत भए महिला–
तिम्रो–हाम्रो भेट भा’को आजै हो
पहिलो पाला बोल्नलाई लाजै भो
नेपालको कुनै सुदूर गाउँ या नदी किनारका मन्दिरनजिक भएको भए यो दोहोरीले बिहानको पहिलो प्रहरसम्मै निरन्तरता पाउँथ्यो कि † तर यो रात्रिकालमा माहोल अश्लील बन्ने र केटाकटीको मन बिग्रिने चिन्ताले तनाबमा बसेका प्रहरीले पुरुषलाई हल्का क्रोधपूर्वक त्यहाँबाट धकेलेपछि महिला पूजाको लाइनमा फर्किए । लामो लाइन उछिनेर ‘भगवान्’को छेउमै पुगेकी, हरियो सारी लगाएकी एउटी महिलाको शब्दमा उनी ‘कृष्ण भगवान्को बर्थ डे मनाउन’ त्यहाँ पुगेकी थिइन् । उनले ‘बर्थ डे’को अर्थ दिने नेपाली शब्दावली ‘जन्मदिन’को उच्चारण गर्दै भनिन् ‘म कृष्णको फ्यान हुँ ।’
शंकै छैन, धर्म गर्न मन्दिर पुगेका यी महिलाहरू भगवान्लाई भरपुर खुसी पार्न चाहन्थे, ताकि ‘जिन्दगीमा केही होस् †’ नेपाली महिलाहरू भाग्यवादी हुन्छन्, जो आफ्नो भाग्यको निर्माता नै पुरुषलाई ठान्छन्, तिजमा पनि तिनीहरू मन्दिर परिसर र बाटाघाटामा यसैगरी नाचिरहेका हुन्छन् । फरक यत्ति छ, कृष्ण जन्माष्टमीमा ‘भगवान्’कृष्णको नाममा नाच्छन् र तिजमा भगवान् शिवको नाममा । नाच्नचाहिँ पुरुषकै नाममा नाच्छन् ।
यति राति हुँदो मन्दिर किन आएको ? ‘केही धर्म होला कि भनेर’, ३० वर्षे उमा शर्माले भनिन्– ‘केही न केही होला, श्रीमान्, छोराछोरीलाई केही मिल्ला भनेर ।’ तिजमा पनि उनीहरूको कोड यही हुनेछ, ‘श्रीमान्को दीर्घायू र स्वाथ्यका लागि…।’
‘पतिका लागि’, ती भन्दै थिइन्, ‘मरेपछि नर्क जानु नपरोस्, स्वर्ग पुगियोस् । त्यसैका लागि शिवको व्रत बस्ने हो,’ तिजमा चाहिँ किन व्रत बस्नुहुन्छ भन्ने मेरो प्रश्नमा उनको जवाफ थियो ।
तिजमा दर खानेदेखि लिएर किनमेलसम्ममा विशेष रमझम हुन्छ । महिना दिन नाघिसक्यो, महिलाहरूको भिडभाड बाक्लिँदै छ । असन, इन्द्रचोक, मखनतिर डुलिहिँड्दा देखिन्छ साडी, कुर्तादेखि चुरा, पोते, धागो, टीका, सिन्दूर किन्ने महिलाहरूको भिड । अहिले तिजले पुरातन मान्यता भत्काउँदै छ । मीठो दर त मीठोकै लागि मात्रै खाइन्छ, आजकाल महिला दर खाएर भोलिपल्ट पानी पनि नखाई श्रीमान्को दीर्घायूका लागि व्रत बस्दैनन्, त्यसैले तिजकै अघिल्लो दिन दरखाने चलन हटेर अचेल तिज आउनुभन्दा एक महिनापहिलेबाटै दर खाइन्छ त्यो पनि टोलटोलमा विवाह, व्रतबन्ध वा कुनै भव्य पार्टीको भतेरजसरी ।
कति सुसज्जित देखिन्छिन् एउटी सुन्दरी महिला, जब उनी माथमा लामो धर्को सिन्दूर लगाउँछिन् । टीकाले महिलाको अनुहार उज्यालो बनाउँछ । टीका सौभाग्य हो, यसले नारी सौन्दर्यलाई उजागर गर्छ । म सोच्छु– दुई आँखीभौँका बीच लगाइने टीका महिलाको तेस्रो आँखा हुन् । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ ।
यो चाडैले मात्र रातो चुरा, सिउँदोभरि सिन्दूर, रातो साडी, धागोले बाँधेको केश र चुराको सम्झना गराउँछ । महिना दिनअघिदेखि दर खाने र ‘सुख–दु:ख’ साटासाट गर्ने तिज एउटा सहरी महिलाका लागि रमाइलो उत्सव । तर, कुनै गरिब श्रीमान्का लागि त्यही तिज चर्को पीडाबाहेक अरू केही होइन ।
०००
तिजको किंवदन्ती यस्तो छ–
राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन दिए । पार्वतीलाई यो कुरा मन परेन । उनी भगवान् शिवजीलाई चाहन्थिन् । त्यसैले ‘शिवजी पति पाऊँ’ भन्ने कामना बोकेर उनी जंगल छिरिन् र घोर तपस्यामा लिन भइन् । तपस्या गरेको एक सय वर्षमा पनि फल पूरा नभएपछि एक दिन उनले शिवलिंगको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिव प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव/पार्वतीको विवाह भयो । त्यो भाद्रशुक्ल तृतीयाको दिन थियो । त्यही तिथिदेखि हिन्दू महिलाहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले । तिज मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
०००
विश्वका थुप्रै ‘विश्वास’ र ‘आस्था’ बोक्ने मानिसहरूले जन्मिँदै आफूलाई निश्चित धार्मिक परिवेशमा पाएका हुन्छन् र त्यसैअनुरूप आफूलाई ढाल्दै ईश्वरप्रतिको आस्थालाई निरन्तरता दिएका हुन्छन् । त्यस्तै धार्मिक प्रवृत्ति बोक्नेमध्येकी एक हुन्– बिएस्सी नर्सिङकी विद्यार्थी सरिना श्रेष्ठ । जो आफ्नै मेहनतले बिएस्सी परीक्षा पास भएर प्राक्टिसका लागि योग्य भएपछि भगवान्लाई ‘धन्यवाद’ भन्न हालैको एक बिहान पशुपतिनाथ पुगेकी थिइन् । सायद, अब सुरु हुने तिजका व्रतालुहरूका लाइनमा उनी पनि उभिइएकी हुनेछिन् । ‘एक्जामअघि राम्रो होस् भनी प्रार्थना गरेकी थिएँ’, साथीसँग मन्दिर पुगेकी यी २४ वर्षेले भनिन्– ‘राम्रो भयो, फेरि आएकी । आफूले मेहनत गरेँ तर कहिलेकाहीँ लक चाहिन्छ । शिक्षकले कपी जाँच्दा उसको सानो गल्तीले नम्बर तलमाथि पर्न सक्छ, कपी हराउन सक्छ । आफूले मेहनत गरेर मात्रै के गर्ने, भाग्य नभए केही पाइँदैन ।’ अनि भगवान्सँग मागेर परीक्षामा नम्बर पाइन्छ त ? सरिनाको जवाफ थियो– ‘रूखको पात हल्लिन त हावा चाहिन्छ भने मान्छेको यत्रो जिन्दगी चलाउन पक्कै डिभाइन पावर चाहिन्छ हैन र ?’
०००
काठमाडौंका माइक्रोबस, टेम्पो चढ्दा नजिकै मन्दिर देखिए दाहिने हातलाई हतार–हतार निधार र छातीबीच तीनपटकजति हल्लाउने अनि मन्दिरको लाममा भेटिएका सहरी युवाहरूलाई हेरे पुग्छ, नेपाली समाज गहिरो रूपमा धार्मिक छ तर अति धार्मिक वा धर्मभीरुचाहिँ होइन । ‘अहिलेका युवाले कहाँ धर्म मान्छन् र ?’ भन्ने पुराना बूढाबूढीलाई यो नै गहिरो उत्तर हो ।
मानवसागर किन भगवान्का सामु व्यक्तिगत चाहना र समस्या लिएर जान्छ ? देवता वा ईश्वरमा त्यस्तो के छ जसले भक्तजनलाई जतिसुकै सफलता मिले पनि मन्दिर जान उत्प्रेरित गरिरहन्छ ? विश्वका अर्बौंं मानिस दैनिक कुनै न कुनै बहानामा फुर्सद निकालेर किन मस्जिद, मन्दिर या चर्च धाउँछन् ? यी प्रश्नको जवाफमा निकै मत मतान्तर हुन्छन् । आफूसँग नभएको वस्तु प्राप्त गर्न ऊ भगवान्को शरणमा पुग्छ ।
२००४ जनवरीमा बिबिसीले १० मुलुकमा गरेको सर्वेक्षणले विश्वमै नाइजेरिया सबैभन्दा धार्मिक भएको देखाएको थियो । लेबनान र अमेरिकामा ७१ प्रतिशतले भगवान् या आस्थाका लागि मर्न तयार रहेको बताए । अफ्रिकी मुलुकका ९० प्रतिशतभन्दा बढीले भगवान्मा आस्था भएको, नियमित प्रार्थना गर्ने बताएका थिए । धेरैजसो देशमा औसतमा ८० प्रतिशतभन्दा बढी मानिस भगवान् र कुनै त्यस्तो उच्च शक्तिप्रतिको विश्वासले आफूलाई राम्रो मान्छे बनाएकामा ढुक्क देखिएका थिए ।
तिजमा गहनाले ढाकिएका महिलाहरूलाई सोधे थाहा लाग्छ, मान्छे यस्तो बन्न सकियोस् भन्दै ईश्वरको प्रार्थना गर्छन् र बनेपछि त्यो टिकिरहोस् भनेर प्रार्थना गर्छन्, मन्दिर धाउँछन्, बोका काट्छन्, सपना सुनाउँछन् । हे ईश्वर † हे भगवान् † मलाई त्यो देऊ, मलाई यो देऊ † कृष्ण जन्माष्टमीमा र पशुपतिमा भेटिएका केही महिलाले मन्दिर आउनासाथ ‘सन्तुष्ट महसुस’ हुने तर भगवान् ‘नदेखेको’ बताए ।
मन्दिर पुग्नुलाई ‘ईश्वरअगाडि पुग्नु’ भन्ने तन्नेरी त्यहाँ पुग्दा ‘दिमागी शान्ति’ र ‘जिन्दगीका अप्ठ्याराहरूबाट मुक्ति’ मिल्ने ठान्छन् जसै विपश्यना वा ओशो तपोवन पुग्दा उनीहरू भनिरहेका हुन्छन्– ‘मैले साँच्चै आत्मिक शान्ति पाएँ ।’ सत्यमार्गको प्रतिनिधि नै भगवान् हो भन्ने पुस्ता तिजमा होस् या दसैँमा, भनिरहेकै हुन्छ– ‘हे ईश्वर † मलाई बाटो देखाइदेऊ, आत्मविश्वास देऊ, म आफैँ पहिल्याउँछु जिन्दगीको गोरेटो ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय