चोरी कि प्रभाव ?

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीकृत ‘प्रलय प्रारम्भ’ उपन्यासको प्रकाशनसँगै साहित्यमा ‘चोरी या प्रभाव’को विवाद पुन: सतहमा आएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटोको ‘घँसिया गीत’ विलियम वर्डस्वर्थको ‘द सलिटरि रिपर’को नक्कल हो या प्रभाव, यससम्बन्धी विवाद अद्यापि समाधान हुन सकेको छैन । नेपाली निबन्ध विधाका महारथी शंकर लामिछाने स्वयंले आफूले ‘बौद्धिक चोरी’ गरेको स्विकारेको सन्दर्भले साहित्यका मूर्धन्य स्रष्टा पनि चोरी या प्रभावको विवादबाट मुक्त नरहेको देखाउँछ । ‘प्रलय  प्रारम्भ’ पत्रकार स्वागत नेपालको उपन्यास ‘मातृ सम्भोग’सँग मिल्दोजुल्दो रहेको प्रसंगले नेपाली साहित्यमा सुस्ताएको ‘चोरी भर्सेज प्रभाव’ को विवादलाई पुन: सतहमा ल्याए पनि यसले अघिल्ला घटनाको स्तरमा बृहत् तरंग सिर्जना गर्न सक्ने सम्भावना भने देखिँदैन ।
नेपाल भर्सेज त्रिपाठी
करिब १० वर्षअघि प्रकाशित नेपालको उपन्यास ‘मातृ सम्भोग’ पुन: चर्चामा छाउनुका मूलत: दुई कारण छन्– यसको दोस्रो संस्करण हालै प्रकाशित हुनु र देवप्रकाश त्रिपाठीको ‘प्रलय प्रारम्भ’ बजारमा आउनु । असारमा दोस्रो संस्करण बजारमा आएको ‘मातृ सम्भोग’को तेस्रो संस्करण हिजो शुक्रबार मात्रै आएको छ । त्रिपाठीको उपन्यासलाई ‘मातृ सम्भोग’ को ‘फोटोकपी’ का रूपमा चित्रण गर्दै ‘प्रलय प्रारम्भ’ को बजार धुलिसात पार्न उपन्यासकार नेपाल स्वयं र उनीनिकटका समालोचक लागिपरेका छन् । के साँच्चिकै ‘प्रलय प्रारम्भ’ ‘मातृ सम्भोग’ को फोटोकपी हो ? अथवा त्रिपाठीलाई ‘बलिको बोको’ बनाउने सुनियोजित षड्यन्त्र रचिँदै छ ? यसै विषयलाई छर्लङ्ग्याउनु नै यो लेखको मुख्य उद्देश्य हो ।
संयोग भनौँ या अरू नै केही, ‘प्रलय प्रारम्भ’ र ‘मातृ सम्भोग’ दुवैका कथावस्तु र केन्द्रीय भाव हुबहु नभए पनि यी दुईबीच प्रशस्तै समानता छन् । मानव मात्रका लोभ, लालसा र स्वार्थबाट निसृत: क्रियाकलापबाट सृष्टिको सम्भावित संहार नजिकिँदै गरेको यथार्थ (?) प्रति सजग गराउन दुवैले आमा र छोराबीचको समागमजस्तो अकल्पनीय परिदृश्यलाई किताबमा उतारेका छन् । र अर्को संयोग, दुवैले सृष्टिको निरन्तरताका लागि आमा र छोराबीचको समागमलाई वैध मात्रै ठहर्‍याएका छैनन्, यसलाई ‘आवश्यकताले जन्माएको जिम्मेवारी’ ठहर गर्दै सृष्टिको कहालीलाग्दो कालखण्डमा यस्तो जिम्मेवारीबाट च्युत हुनेलाई ‘धर्म विमुख’ को संज्ञा दिलाउन पनि पछि परेका छैनन् । दुवै उपन्यासबीचका यिनै  समानताले ‘प्रलय प्रारम्भ’ को वजन घटाउने र ‘मातृ सम्भोग’ को हैसियत अस्वाभाविक रूपमा बढाउने काम गरिरहेको छ ।
दुवै किताब पढ्नेलाई लाग्छ– पत्रकारितामा नेपाललाई त्रिपाठीले डोहोर्‍याएका होलान् । तर, उपन्यास विधामा त्रिपाठीले ‘मातृ सम्भोग’लाई ‘अग्रज’ मान्नैपर्ने अवस्था सिर्जना भएको छ । त्रिपाठीको उपन्यासमा हरितगृह ग्यास उत्सर्जनबाट निसृत: विश्व तापमानले सम्पूर्ण विश्वलाई विनाशको दुष्चक्रमा हुँडलेको प्रसंग छ भने नेपालको उपन्यासमा परमाणु युद्धको उच्चतम् विकासबाट सम्पूर्ण विश्व खरानी भएको क्षणको भयावह कल्पना गरिएको छ । प्रलयको समय ओडारमा लुकेर आमा र छोराले ‘प्रलय प्रारम्भ’मा ज्यान जोगाउँछन् । ‘मातृ सम्भोग’मा ‘बंकर’मा लुकेर ‘हाइ टेक वार’ को नरसंहारबाट एउटा देशकी महारानीले आफूलाई जोगाएकी छिन् । संसारमा विध्वंश मच्चिँदै गर्दा हवाइयात्रा गरिरहेका राजकुमार जब धर्तीमा ओर्लिन्छन्, तब मानवविहीन संसारमा आफ्नी आमालाई एक्लै पाउँछन् । सृष्टि विनाश हुनुको कारण बेग्लाबेग्लै भए पनि दुवै उपन्यासको सन्देश एउटै छ । ‘मातृ सम्भोग’ प्रकाशित भएको करिब दस वर्षपछि त्रिपाठीको उपन्यास निस्किएकाले ‘प्रलय प्रारम्भ’ ‘मातृ सम्भोग’ को प्रभावबाट अछूतो छ भनेर दाबी गर्नु जायज छैन ।
त्रिपाठीमाथि ‘प्लेजरिजम’ (साहित्यिक चोरी) को आरोप लगाउने हो भने उपन्यासकार नेपाल पनि यो आरोपबाट मुक्त हुनसक्ने ठाउँ भने छैन । त्रिपाठी स्वयं भन्छन्, ‘विश्वमा धेरै रचना यो (अर्थात् आमा र छोराबीचको सम्भोग) थिममा लेखिएका छन् । क्रिस्चियन धर्मशास्त्रमा पनि यस्ता प्रसंग छन् । हजारौँ वर्षदेखि चिन्तन भइआएको विषय हो, यो ।’ बाइबलमा आमा र छोराबीचको सम्भोगको प्रसंग रहेको बताइन्छ । (तर, उपन्यासकार नेपाल यसलाई बाइबल नपढेका मानिसले गरेको क्रन्दन सम्झन्छन् ।) त्यसैगरी ग्रिक नाटककार सोफोक्लिजको नाटक ‘ओडिपस रेक्स’ मा पनि आमा र छोराबीचको समागमको त्रासद प्रसंग उल्लेख छ ।
(ओडिपस रेक्ससँग ‘मातृ सम्भोग’ को तुलना गर्नेलाई पनि नेपाल नपढेका स्वाँठले गर्ने तर्क मान्छन् ।) ‘ओडिपस रेक्स’ मा छोरोले आमासँग सम्भोग गरेपछि आफ्नै आँखा फुटाउँछन् । ‘मातृ सम्भोग’ को छोरोले समेत आँखा फुटाएको प्रसंग उपन्यासमा उल्लेख छ । यसबाहेक पूर्वीय मिथकीय भण्डारमा पनि आमा–छोरा सम्भोगका प्रसंग यत्रतत्र पाइन्छन् ।
उपन्यासकार नेपाल भने आफ्नो उपन्यास सर्वथा मौलिक रहेको बताउँछन् । १० वर्षअघि ‘मेट्रो एफएम’ को साहित्यिक कार्यक्रममा आफूले ‘मातृ सम्भोग’ को ‘प्लट’ सुनाएको र त्यही सुनेर त्रिपाठीले ‘प्रलय  प्रारम्भ’ लेख्न थालेको उनको दाबी छ । उसो त ‘प्रलय प्रारम्भ’ लाई मौलिक उपन्यास दाबी गर्न त्रिपाठी पनि पछि परेका छैनन् । स्वागत नेपालको नामै नलिई उनी ‘आफ्नो बजार बढाउन कसैले गलत हल्ला फिँजाइरहेको’ आरोप लगाउँछन् । ‘हल्ला गर्ने’ सँग अरूले चोर्नुपर्ने खालका विषय उत्पादन गर्ने ल्याकत छैन भन्न पनि उनी पछि पर्दैनन् ।
गुण भर्सेज दोष
नेपाली सन्दर्भमा ‘प्रलय प्रारम्भ’ र ‘मातृ सम्भोग’ दुवै दुस्साहसवादी उपन्यास हुन् । दुवैमा वैचारिक अराजकता पाइन्छन् । तर, चरम अराजकता प्रदर्शन गर्ने र दुस्साहसी काममा हात हाल्ने सवालमा नेपालले त्रिपाठीलाई उछिनेका छन् । ‘मातृ सम्भोग’ मा आमा–छोराबीच सम्भोग गराएर नेपालले दिदी र भाइबीचको ‘अवश्यम्भावी’ सम्भोगलाई पनि भविष्यको गर्तमा छोडिदिएका छन् । छोरासँगको सम्भोगबाट जन्मिएका जुम्लाहा बच्चा केटो र केटी भएको थाहा पाएपछि आमाले मुसुक्क हाँसेको प्रसंग उल्लेख गरेर उनले दिदीभाइबीचको समागमलाई पनि स्विकारेका छन् । यस्ता ‘दूषित’  कल्पना गर्ने र फ्रायडवादको ‘छाडा’ प्रयोग गर्ने सवालमा नेपालले त्रिपाठीलाई माथ गरेका छन् ।
सामाजिक तथा मनोवैज्ञानिक परिबन्धले यो सवालमा नरम बन्न त्रिपाठीलाई बाध्य पारेको देखिन्छ । आमा–छोरा सम्भोगको त्रासद बयान गर्नुपर्ने अवस्थालाई उनले पन्छाएका छन् । ‘पाप र धर्मको फैसला कसले गर्ने ? कानुनले, समाजले या परमेश्वरले ? कानुन र समाज यहाँ छैन । परमेश्वर छन् भने उनी मानिसको सम्पूर्ण अस्तित्व नाश होस् भन्ने चाहँदैनन् होला, यदि चाहन्छन् भने उनी मानिसप्रति पूर्वाग्रही छन्,’ यस्ता कुरा आमाबाट बकाउन लगाए पनि उनले किताबमा आमा र छोराबीच सम्भोग भने गराएका छैनन् । पुरुषजस्तो देखिने प्राणीलाई अकस्मात् ‘सिन’मा उतारेर उनले आमाको जोडी खोज्नमा दुवैलाई अलमल्याउँदै उपन्यास टुंग्याएर पाठकलाई त्राण दिएका छन् । दुस्साहसी काम गर्न उनले खुट्टा उचाले पनि फड्को मार्न भने सकेका छैनन् ।
‘सम्भावनाहरूलाई आँखा चिम्लिएर बेवास्ता गर्नु हुन्न’ जस्ता एकाध वाक्य राखेर नेपालले ‘मातृ सम्भोग’ लाई दार्शनिक पुट दिन खोजेका छन् । यद्यपि, उनको लेखाइमा यदाकदा अप्रासंगिक बौद्धिकता प्रस्तुत भएको पाइन्छ । उपन्यासलाई दार्शनिक कलेवर दिने सवालमा त्रिपाठीले नेपाललाई ‘लिलिपुट’ साबित गरिदिएका छन् । साहित्यमा भावना र मनका कुण्ठा पोखिनुपर्ने हो । तर, डा. गोविन्दराज भट्टराईकै शैलीमा उपन्यासमा दार्शनिक कुण्ठा पोखेर त्रिपाठीले ‘प्रलय प्रारम्भ’लाई भद्दा एवं रुखो बनाएका छन् । भाषिक उडानमा त्रिपाठी नेपालभन्दा निकै अगाडि देखिन्छन् । ‘प्रलय प्रारम्भ’को भाषा मीठो, स्तरीय र ग्राह्य छ । ‘मातृ सम्भोग’को भाषा स्वच्छन्द रूपमा बग्न सकेको छैन । परिवेश चित्रणको सम्भावना खोतल्ने सवालमा भने ‘मातृ सम्भोग’ अगाडि छ । उपन्यासमा मरुभूमि, युद्धभूमिलगायत विभिन्न स्थान र परिवेशको प्रसंग उप्काएर यसलाई सदुपयोग गर्ने कोसिस नेपालले गरे पनि उनको प्रयास निम्छरो बन्न पुगेको छ ।
आमा र छोराबीचको समागमलाई वैध ठहर्‍याउन दुवै लेखकले आ–आफ्ना तार्किक क्षमता प्रयोग गरेका छन् । तर, लिविस हेनरी मोर्गन र फ्रेडरिक एंगल्सको संस्कृति विकास तथा ‘प्रमिस्क्युटी’ (स्वच्छन्द सम्भोग) सम्बन्धी किताकको गहिरो अध्ययन गरेको भए यसले त्रिपाठी र नेपाल दुवैको तार्किक क्षमता तिखार्ने निश्चित थियो । गुण, दोष, चोरी र प्रभाव– यी सब चिजबाट अलग्गै रहेर भन्नुपर्दा ‘प्रलय प्रारम्भ’ र ‘मातृ सम्भोग’ दुवैले औसत नेपाली उपन्यासको चौघेरो नाघ्न सकेका छैनन् । यद्यपि, मौलिकता र औपन्यासिकताका दृष्टिले ‘मातृ सम्भोग’ ‘प्रलय प्रारम्भ’ भन्दा अगाडि रहेको भने स्विकार्नै पर्छ ।

प्रतिक्रिया