बेलायती युवराज्ञीको टपलेस फोटोले तहल्का

लन्डन, ३० भदौ । फ्रान्सबाट प्रकाशन हुने एउटा पत्रिकाले शुक्रबार बेलायतकी युवराज्ञी केट मिडिलटनको अर्धनग्न (टपलेस) तस्बिर प्रकाशन गरेपछि सनसनी उत्पन्न भएको छ । केही साताअघि मात्र राजकुमार ह्यारीको नग्न तस्बिरले सिर्जना गरेको तनाव शान्त हुन नपाउँदै उनकी भाउजू सञ्चारमाध्यमको सिकार भएकी हुन् ।
बेलायती युवराज विलियमकी पत्नी तथा बेलायती महारानी एलिजाबेथकी नातिनी–बुहारी युवराज्ञी केट मिडिलटनको गोप्य तस्बिर छापिएकामा बेलायती राजपरिवारले गहिरो दु:ख व्यक्त गरेको छ । ‘ड्युक र डचेज अफ क्याम्ब्रिज’ विलियम र केटले त्यसरी निजी क्षणका तस्बिर छाप्नु निजत्वको घोर उल्लंघन भएको बताउँदै त्यो असंगत एवं अनुचित भएको ठहर गरेका छन् ।

फ्रान्सको गसिप पत्रिका क्लोजरले छापेको उक्त तस्बिर केटले दक्षिणी फ्रान्सस्थित एक निजी आवासबाहिर टपलेस अवस्थामा ‘सन् बाथ’ गरिरहेको अवस्थामा खिचिएको थियो । उक्त आलिसान भवन महारानीका भतिजा लर्ड लिन्लेको महल हो । केट र विलियम साताव्यापी बिदा मनाउन गत साता त्यहाँ पुगेका थिए ।
यो घटनाले स्वर्गीय युवराज्ञी डायना र पापाराजीहरूले उनलाई हैरान–परेसान पारेको विगत फेरि एकपटक स्मरण हुन थालेको छ । फ्रान्सेली राजधानी पेरिसमा पापाराजी (गुप्त तस्बिर खिच्ने फोटोग्राफर) हरूको हुलबाट बचेर भाग्न बेतोड गाडी हाँकिरहेका बेला डायना सहयात्री साथी डड फायदसँगै गाडी दुर्घटनामा परी दिवंगत भएकी थिइन् । डायनाको इहलीला असमयमै समाप्त हुनुमा उनको निजत्वको हनन गर्ने पत्रकारहरू नै थिए ।
पत्रिकामा छापिएका तस्बिर धमिलो देखिएको छ तर लामो र शक्तिशाली लेन्स प्रयोग गरिएको हुँदा ती तस्बिर बेलायती शाही दम्पतीकै हुन् भन्ने प्रस्ट थाहा पाउन सकिन्छ । लन्डनस्थित प्रिन्स अफ वेल्सको कार्यालय ‘क्लियरेन्स हाउस’का एक प्रवक्ताले भनेका छन्, ‘ड्युक र डचेज एउटा फ्रान्सेली पत्रिका र फोटोग्राफरले उनीहरूको निजत्व अधिकारको उल्लंघन गरेको थाहा पाएर अत्यन्त दु:खी भएका छन् । यस्तो उल्लंघन पूर्णत: अनुचित हो ।’
विलियम र केटका तस्बिर चार पानाभरि छन् । थुप्रै तस्बिरमा डचेज अफ क्याम्ब्रिज केट अर्धनग्न अवस्थामा देखिन्छिन् । हाल एसियाका केही देशको भ्रमणमा रहेको शाही जोडीले मलेसियाको राजधानी क्वालालम्पुरमा बिहानको खाजा खाइरहेका बेला ती तस्बिरबारे जानकारी पाएका थिए । आफ्नो निजत्वको उल्लंघन गरिएको थाहा पाएपछि उनीहरू निकै दु:खी एवं निराश भएको बताइएको छ ।
बेलायती अधिकारीहरूले जनाएअनुसार ती तस्बिर केही बेलायती पत्रिकालाई पनि उपलब्ध गराइएको थियो तर उनीहरूले बेलायतमा तिनलाई छाप्न अस्वीकार गरिदिएका थिए । क्लोजर पत्रिकाका सम्पादक लरेन्स प्याओले ‘हामीले केवल आफ्नो जिम्मेवारी निर्वाह गरेका हौँ’ भन्दै त्यसरी लामो लेन्स प्रयोग गरी खिचिएका तस्बिरको प्रकाशन गर्ने निर्णयको बचाउ गरेका छन् । यो पत्रिकाका सञ्चालक भने एकजना इटालियन नागरिक मोन्डाडोरी हुन् ।
बेलायती राजपरिवारका एक प्रवक्ताले शाही दम्पतीसित उक्त पत्रिका प्रकाशनगृहविरुद्ध के–कसरी कानुनी प्रक्रिया बढाउन सकिन्छ भन्नेबारे गम्भीर छलफल भइरहेको बताएका छन् । राजकुमार विलियम र ह्यारी खासगरी उनीहरूकी आमा डायना १५ वर्षपहिले कार दुर्घटनामा दिवंगत भएपछि ‘निजत्वको उल्लंघन मामिला’ बारे अत्यन्त संवेदनशील बन्दै आएका छन् ।
उक्त तस्बिर प्रकरणपछि पनि शाही दम्पतीको दक्षिण–पूर्वी एसियाली देशको नौ दिवसीय भ्रमण यथावत् जारी छ । उनीहरू महारानीको प्रतिनिधिका रूपमा राष्ट्रमण्डल देशको भ्रमणमा छन् । बिहीबार मात्रै केटले क्वालालम्पुरस्थित एउटा आश्रमको भ्रमण गरेकी थिइन् र बेलायतबाहिर पहिलोपटक औपचारिक भ्रमण पनि गरेकी थिइन् । उनले त्यहाँ शाही दम्पती सिंगापुरको भ्रमण सकेर मलेसिया पुग्न निकै उत्सुक रहेको पनि बताएकी थिइन् ।
डचेज केटका अर्धनग्न तस्बिर त्यस्तो समयमा सार्वजनिक भएका छन्, जतिबेला उनका देवर राजकुमार ह्यारीका नांगा तस्बिर छापिएको विषयलाई लिएर बेलायतमा निकै विवाद उठेको थियो । प्रिन्स ह्यारीका तस्बिर गत अगस्तमा अमेरिकी मनोरञ्जन राजधानी लस भेगासमा खिचिएका थिए । ती तस्बिर सबैभन्दा पहिले मनोरञ्जन एवं गसिप प्रकाशन गर्ने एक अमेरिकी वेबसाइटमा छापिएका थिए । ‘सन्’ त्यस्तो एक्लो बेलायती अखबार थियो जसले छाप्न नहुने चेतावनी जारी गरिएको भए पनि शाही परिवारसित सम्बन्धित (ह्यारीका) उक्त तस्बिर छापेको थियो ।

 

प्रतिक्रिया