निर्देशकसहित ३० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं, ३० भदौ ।  नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले गुणस्तरहीन ट्रान्सफर्मरकाण्डमा मुछिएका ३० भन्दा बढी कर्मचारीसँग स्पष्टीकरण लिने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका वर्तमान कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठसहित सबै कर्मचारीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्राधिकरण स्रोतका अनुसार श्रेष्ठसँग ऊर्जा मन्त्रालय तथा अन्य कर्मचारीसँग कामु निर्देशक श्रेष्ठले स्पष्टीकरण लिने निर्णय भएको छ । स्पष्टीकरण चित्त नबुझेमा कामु कार्यकारी निर्देशकलगायतलाई हटाउनुपर्ने आवाजसमेत बैठकमा उठेको थियो । बैठकमा बसिरहेका सञ्चालक समितिका सदस्य–सचिवसमेत रहेका  कामु श्रेष्ठलाई केहीबेर बाहिर निकालेर उनीसँग समेत स्पष्टीकरण लिने निर्णय बैठकले गरेको थियो । कामु कार्यकारी निर्देशकलाई नै स्पष्टीकरण सोधेपछि उनलाई राजीनामा दिनका लागि दबाब परेको छ । उनले आफूले आवश्यक परे राजीनामा दिनेसमेत बताइसकेका छन् । ‘गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएर सञ्चालक समितिले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अब नैतिकताका आधारमा समेत कामु निर्देशकले राजीनामा दिनुपर्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘आफँै विवादमा तानिएका कामु निर्देशकलाई अन्य त्यही प्रकरणमा मुछिएका कर्मचारीसँग स्पष्टीकरण लिने नैतिक हैसियत हुँदैन ।’ उनका अनुसार आइतबार कामु निर्देशक श्रेष्ठले राजीनामा दिने सम्भावना छ ।
गुणस्तरहीन ट्रान्सफर्मर आयातमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न प्राधिकरण सञ्चालक समितिका सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले मंगलबारको प्राधिकरण सञ्चालक बैठकमा प्रस्तुत प्रतिवेदनमा ३० भन्दा बढीलाई दोषी देखाइएको थियो । ट्रान्सफर्मर निरीक्षणका लागि गएका कर्मचारीलाई प्रत्यक्ष दोषी र फाइल मूल्यांकन सदरलगायत गर्नेलाई अप्रत्यक्ष दोषी देखाइएको छ । प्रतिवेदन अनुसार प्राधिकरणका पूर्वकार्यकारी निर्देशक अर्जुन कार्की, दीपेन्द्रनाथ शर्मा, रामेश्वर यादव, टीकाराम विसी र डा. जीवेन्द्र झा तथा पूर्वमहाप्रबन्धक दीपक उपाध्याय र युगोलकिशोर शाहलाई दोषी देखाइएको छ । त्यसैगरी, यस प्रकरण मुछिएका प्राधिकरण वितरण तथा ग्राहक पूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मा र पश्चिमका महाप्रबन्धक उपेन्द्रदेव भट्ट, ग्रिड विकासका महाप्रबन्धक गणेशप्रसाद राज, नेपाल–भारत क्रस बोर्डर प्रसारण लाइनका निर्देशक पुष्पराज खड्कालगायतसँग समेत स्पष्टीकरण सोधिने भएको छ ।
यस्तै, कर्मचारीहरू मनोज बराल, सुरेन्द्र पनेरु, कैलाश अटल, सिन्धु यादव, शेखर दत्त, प्रज्वल पाण्डे, विजय चौधरी, विद्युत् पौडेल विजयराज चौधरी, सतिशकुमार कर्ण, विकासबहादुर रघुवंशी, राधेशरण महत, निमेष पोखरेल, विनोदकुमार स्वर्णकार, रामबिजुल मण्डल, सुरेन्द्रराज जोशी, अभिषेक अधिकारी, मदन चापागार्इं, वसन्त ओझा, बोधराज ढकाललगायतसँग पनि स्पष्टीकरण सोधिने भएको छ ।

प्रतिक्रिया