‘पुन:स्थापना उपयुक्त विकल्प’

काठमाडैां : सत्तारूढ र प्रतिपक्षी दलका युवा नेताहरूले राजनीतिक तथा संवैधानिक गतिरोध अन्त्यका लागि संविधानसभा पुन:स्थापना उत्तम विकल्प भएको बताएका छन् । शीर्ष नेताहरूबाट फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला एमाओवादीका हेमन्तप्रकाश ओली, एमालेका गोकर्ण विष्ट र कांग्रेसका शोभाकर पराजुलीले संविधानसभा पुन:स्थापनाको पक्षमा अभिव्यक्ति दिएका हुन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा एमाओवादीका ओलीले नयाँ चुनावमा जान आवश्यक संविधान संशोधन गर्न संविधानसभा पुन:स्थापना गर्नुपर्ने बताए । कांग्रेसका पराजुलीले संविधान संशोधनविना नयाँ चुनाव हुन नसक्ने र संसद्विना संविधान संशोधन हुन नसक्ने तर्क गर्दै संविधानसभा पुन:स्थापना गरेर निकास निकाल्नु निर्विकल्प उपाय भएको बताए ।
उनले राष्ट्रपतिलाई उकास्ने दलहरूको गतिविधिले फेरि मुलुकमा ज्ञानेन्द्र जन्माउने खेल भइरहेको संकेत गरेको दाबी गर्दै तत्काल संविधानसभा पुन:स्थापना गरेर चुनावमा गए मात्र प्रजातन्त्र सुरक्षित रहन सक्ने धारणा राखे । पुन:स्थापना विरोधीहरू प्रतिगमनका मतियार भएको उनको आरोप थियो ।
एमालेका विष्टले संविधानका विवादित विषयमा सहमति जुटाएर छोटो समयका लागि संविधानसभा पुन:स्थापना गर्नु कम जोखिमपूर्ण रहेको बताए । उनले अध्यादेशबाट शासन गर्न खोज्ने र राष्ट्रपति उचालेर अभीष्ट पूरा गर्न खोज्नेले मुलुकमा पुन: द्वन्द्व बढाउन खोजेको उल्लेख गर्दै सरकार र संविधानका विवादित विषयलाई सँगसँगै अगाडि बढाएर सहमति जुटाउनुपर्ने धारणा व्यक्त गरे । (सौस)

प्रतिक्रिया