प्रहरी महानिरीक्षकमा राना नियुक्त

काठमाडौं, २८ भदौ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई बढुवा गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले रानालाई वरिष्ठता र कार्यकुशलताका आधारमा महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । उनले भदौ–२९ गते शुक्रबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
अनिवार्य अवकास पाएका महानिरीक्षक रविन्द्रप्रताप शाहलाई सरकारले विदाई गर्ने निर्णय पनि गरेको छ ।
महानिरीक्षकमा बढुवा भएका राना महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यरत थिए ।
उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री विजय गच्छेदारको प्रस्तावमा रानालाई महानिरीक्षक बनाएको मन्त्री यादवले बताए ।
यस अघि महानिरीक्षक बनाउने विषयमा एमाओवादी, प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरुवीच वार्ता समेत भएको थियो ।
महानिरीक्षक नियुक्तिलाई लिएर प्रधानमन्त्री भट्टराई र गृहमन्त्री गच्छेदारवीच असन्तुष्टि बढेको थियो । गच्छेदारले तेस्रो वरीयताका अतिरिक्त महानिरीक्षक नवराज ढकाललाई महानिरीक्षक बनाउने पक्षमा अडान राख्दै आएका थिए ।

यसैवीच सरकारले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–४ विजेता नेपाली क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको छ । उनीहरुलाई जनही ३/३ लाख रुपियाँका दरले पुरस्कृत गरिने मन्त्री यादवले बताए ।
सरकारी विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीलाई सरकारले खाना पकाउने ग्याँस र मट्टितेलमा छुट दिने निर्णय पनि गरेको छ । विद्यार्थीले वर्षमा चार वटा ग्याँसमा प्रतिसिलिण्डर २ सय ५० रुपियाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपियाँ छुट पाउने छन् ।

प्रतिक्रिया