अयोग्य लडाकु जुर्मुराउन थाले

काठमाडौं, २८ भदौ । माओवादीका अयोग्य लडाकुले सरकारले आफूहरुका मागप्रति ध्यान नदिएको भन्दै दबावका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले विभिन्न निकायमा ज्ञापनपत्र बुझाउनेसहितका कार्यक्रम सार्वजनिक गरेका हुन् । ‘बहिर्गमित जनमुक्ति सेना नेपाल’ केन्द्रीय संघर्ष समितिका संयोजक सागर लिम्वुले माग पुरा गराउन भदौ–३० गते संयुक्त राष्ट्रसंघको कार्यालयमा ज्ञापनपत्र बुझाउने बताए ।
‘भदौ–३१ गते राष्ट्रिय मानवअधिकार आयोगमा र असोज–१ गते सेना समायोजन विशेष समिति सचिवालय समक्ष ज्ञापन पत्र बुझाउ छौं,’ उनले भने, ‘माग पुरा नभए बन्दसम्मका कार्यक्रम पनि गर्ने छौं ।’
उनीहरुले आफूलाई राज्यले लगाउँदै आएको ‘अयोग्य लडाकुको विल्ला’ हटाउनु पर्ने माग समेत गरेका छन् ।
‘बहिर्गमित लडाकुहरु’ विरुद्ध राज्य स्वयं लागेको अध्यक्ष लिम्वको आरोप थियो ।
यसैवीच, लिम्वु नेतृत्वको समितिले उपाध्यक्ष लेनिन विष्टलगायतका पदाधिकारी र सदस्यलाई कारबाही गरेको छ । संगठनको हित विपरित काम गरेकाले उनीहरुलाई कारवाही गरिएको लिम्बुले बताए ।
संयुक्त राष्ट्र संघले ४ हजार ८ जना लडाकुलाई अयोग्य ठहर गरेर पुनःस्थापनामा पठाएको थियो । फाईल तस्विर

प्रतिक्रिया