सेयर कारोवार रोक्का


काठमाडौं, २८ भदौ । सार्वजनिक कम्पनीका रूपमा कारोबार गरिरहेको एभरेस्ट इन्स्योरेन्सले एकाएक कारोबार बन्द गर्ने निर्णय गरेपछि सर्वसाधारण लगानीकर्ता अलमलमा परेका छन् ।
बिमा समितिको पछिल्लो निर्देशनले काम गर्न असजिलो बनाएको आरोप लगाउँदै एभरेस्ट इन्स्योरेन्सले बिमासम्बन्धी सम्पूर्ण कारोबार बन्द गरेको छ । नियामक निकाय बिमा समितिको गलत निर्देशन र कर्मचारी युनियनका अनावश्यक हस्तक्षेपका कारण बिमा व्यवासय गर्न कठिन भएको आरोप लगाउँदै कम्पनीले कारोबार बन्द गराउने निर्णय गरेको हो । सर्वसाधारण लगानीकर्ताको समेत सेयर लगानी रहेको कम्पनीको कारोबार साधारणसभामा नै नलगी बन्द गराउने निर्णय गर्नाले कम्पनी निजी हो कि सार्वजनिक हो छुट्याउनै नसकिएको एक सेयरधनीले बताए ।
सार्वजनिक कम्पनीले बन्द गर्दा पनि नियामक निकायमा निवेदन दिएर मात्र कारोबार बन्द गर्न पाउँछ तर एभरेस्टले एकतर्फी रूपमा बिमा कम्पनीको नियामक निकाय बिमा समितिलाई समेत जानकारी नदिई कारोबार बन्द गर्ने समाचार सार्वजनिक भएपछि नियामक निकाय बिमा समिति समेत अचम्ममा परेको समितिका एक उच्च अधिकारीले बताए । एभरेस्टले कारोबार नगर्ने सूचना सार्वजनिक भएपछि नेपाल स्टक एक्सचेन्जले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
कम्पनी सञ्चालक समिति अध्यक्षमा राजेन्द्ररकुमार खेतान छन् । सदस्यहरूमा रतनलाल संघाई, विरेन्द्ररकुमार शाह, मधुसूदन अग्ररवाल, निरन्जन टिवडेवाला, ओमप्रकाश सिकारिया, प्रेमप्रकास खेतान, प्रसाद ज्ञवाली र रविकुमार टिवडेवाला छन् ।
बिमा समितिका एक उच्च अधिकारीले भने बिमा समितिको कारबाहीलाई फितालो पार्न यस्तो हथकन्डा अपनाएको हुनसक्ने बताए । ‘सार्वजनिक कम्पनीले सञ्चालक समितिको निर्णयकै आधारमा मुख्य व्यवसाय बन्द गर्न पाउँदैन ।’ उनले बिहीबार कम्पनीमा पत्राचार गरेर कम्पनीको नीतिबारे बुझ्ने बताए । समितिले दुई साताअघि निर्देशन जारी गर्दै एकाघरको बिमा व्यवसाय गर्न नपाउने, सञ्चालक समितिमा एकाघरको एकभन्दा बढी सदस्य हुन नपाउनेलगायत व्यवस्था गरेको थियो ।
गत साउनमा मात्र कम्पनीले सवा १३ करोडको नयाँ बिमा गरेको थियो । चुक्ता पुँजी १० करोड १२ लाख रुपियाँ रहेको कम्पनीले गत वर्ष चार करोड ९८ लाख रुपियाँ खुद नाफा कमाएको थियो । कम्पनीले ७२ करोड ३२ लाख रुपियाँ बिमाशुल्क आर्जन गरेको गरेको थियो । कम्पनीले गत वर्ष २१ हजार नौ सय १८ मा बिमालेख बिक्री गरेको छ । कम्पनीको दाबी भुक्तानी रुकम ५३ करोड ८० लाख रुपियाँ पुगेको छ ।

प्रतिक्रिया