१३ वर्षमा पनि बिजुली बलेन

ताप्लेजुङ, २८ भदौ । पूर्वी ताप्लेजुङको सुरुम्खिम गाविसमा तेह्र वर्षअघि निर्माण सुरु भएको लघुजलविधुत् आयोजनाबाट अझै बिजुली बलेको छैन ।
गाविसमा रहेको याम्फा खोलाबाट निकालिएको २० किलोवाट क्षमताको सो आयोजनाको पावर हाउस भित्रको सामान परीक्षण प्रसारणमै बिग्रिएपछि बिजुली बल्न नसकेको हो । स्थानीय विकास मन्त्रालयअन्तर्गत दुर्गम क्षेत्र विकास समितिले ताप्लेजुङको सुरुम्खिम गाविसमा २९ लाख खर्च गरेर सो आयोजना निर्माण गरेको थियो । ०५६ मा विद्युत् निर्माणको ठेक्का पाएको राधा स्ट्रक्चर प्रालि सिनामंगल काठमाडांैले काम नसक्दै गएका कारण बिजुली नबलेको स्थानीय बताउँछन् । तार टाँग्न प्रयोग भएका काठका पोल मकाएर लडेकाले हिँडडुल गर्न तथा खेतबारीमा काम गर्नसमेत असहज भएको छ । गत वर्ष गाविस अनुदान कोषको सात लाख रुपियाँले कतिपय ठाउँमा फलामे पोल गाडिएको पनि ठाउँठाउँमा काठ तथा बाँस प्रयोग गरिएको छ । विद्युत्गृह पनि संरक्षण अभावमा लड्न थालेको छ ।
बत्ती नबलेपछि स्थानीय उपभोक्ताले मर्मत–सम्भारमा चासो देखाएका छैनन् । दुर्गम क्षेत्र विकास समितिको कार्यालय र राधा स्ट्रक्चर एन्ड प्रालिको लापरबाहीले बिजुली बल्न नसकेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद इम्बुङले बताए । दुई सयभन्दा बढी सुरुम्खिमबासी बस्तीले करिब १० लाखभन्दा बढी जनश्रमदान गरे पनि अहिले बिजुली बाल्न नपाउनु आफूहरूको दुर्भाग्य भएको इम्बुङको भनाइ छ । ‘ठूलै लगानी गरेर हेलिकोप्टरमा बिजुलीको समान ल्याउँदा आफूहरूमा पलाएको आशा निराशामा बदलियो,’ इम्बुङले भने, ‘न त सरकारले नै चासो देखाउँछ न ठेक्का कम्पनीले, समान लिएर आउँछु भनेर हिँडेका प्राविधिक अहिलेसम्म देखापरेको छैनन्,’ स्थानीय लक्ष्मी राईले भनिन् । दुई सय ५० घरधुरीका लागि निर्माण गरिएको आयोजनमा स्थानीयबासीले कुलो खन्ने, खम्बा गाड्ने, तार टाँग्ने र विद्युत्गृह बनाउने लगायत करिब १० लाख रुपियाँ बराबरको जनश्रमदान गरेको स्थानीय धनबहादुर राईले बताए ।
जिविसले सो योजना पूरा गर्न पटकपटक दुर्गम क्षेत्र विकास समितिमा ताकेता गरिरहेको र बर्सेनि गाउँ परिषद्बाट बजेट विनियोजन गरिहेको जनाएको छ । त्यसपछि निर्माण सुरु भएका जिल्लाका २० वटा लघु जलविद्युत् आयोजना सम्पन्न भई बिजुली बलिरहेको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।
तल्लो मोदीको परीक्षणमा ढिलाइ

पर्वत : पर्वतको चुवा गाविसमा निर्माण भइरहेको १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनमा एक महिना ढिलो हुने भएको छ ।
आयोजना र एक जग्गाधनीबीचमा मुआब्जा र क्षतिपूर्ति विषयमा विवाद हुँदा आयोजनाका काम अवरुद्ध भएपछि परीक्षण उत्पादनमा ढिलाइ भएको हो । निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर प्रालिले निर्माण गरेको आयोजनालाई २४ साउनमा परीक्षण उत्पादन गर्न ऊर्जा मन्त्रालयले अनुमति दिए पनि विवाद र अवरोधपछि एक महिना ढिला हुने भएको हो । आयोजनाले यही २८ भदौमा परीक्षण उत्पादन गर्ने तयारी गरेको थियो । त्यसका लागि ऊर्जा मन्त्रलाय र विद्युत् प्राधिकरणको टोली पर्वत आउने कार्यक्रम थियो । अहिले नहरमा पानी हालेर विद्युत् उत्पादन गरी विद्युत्गृह, टर्वाइनलगायत परीक्षण भइरहेको छ भने प्रसारण लाइनलगायत अन्य संरचनाको पनि परीक्षण भइरहेको छ ।
चीनीयाँ प्राविधिक टोलीले पनि परीक्षणको काम गरिरहेको छ । परीक्षण उत्पादनमा ढिलाइ भएपछि व्यावसायिक उत्पादनको मितिसमेत एक महिना पर सरेको छ । आयोजनाले असोजको दोस्रो सातामा व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारणमा आबद्ध गर्ने तयारी गरेको छ । ‘ढिलोमा १८ असोजभित्रै व्यावसायिक उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा विद्युत् आपूर्ति गर्छौं,’ आयोजना निर्देशक उपेन्द्र गौतमले भने, ‘अदालतमा मुद्दा र नहरमा माटो राख्ने काम नभएको भए यो काम एक महिनापहिले नै सकिन्थ्यो ।’
आयोजनाले जग्गाधनी चुवा गाविस–५ का भानु सुवेदीले उचित मुआब्जा र क्षतिपूर्ति नपाएको भन्दै १६ साउनमा नहरमा माटो हालेर अवरोध गरेका थिए भने जिल्ला अदालत पर्वतमा समेत काम रोक्न र जग्गा खिचला मुद्दा दायर गरेका थिए । अहिले प्रशासनको पहलमा आयोजना र जग्गाधनीबीच विवाद समाधान भइसकेको छ । आयोजनाले उचित मुआब्जा दिने र जग्गाधनीले काममा अवरोध नगर्ने सहमतिपछि आयोजनाको काम सुचारु भएको हो ।

प्रतिक्रिया