सदस्यता विस्तार अभियानमा सहकारी संघ

काठमाडौं, २८ भदौ । सहकारी संघमा सदस्यआबद्धता कम भएको भन्दै विभिन्न संघले सूचना निकालेर सदस्यता विस्तारमा लागेका छन् । प्रारम्भिक सहकारी संस्थाले सदस्याता लिन चासो नदेखाएका कारण सदस्यता लिन आग्रह गरेका हुन् । सदस्यता विस्तार कतिपय संघको मापदण्डमा तोकिएभन्दा पनि कम रहेको छ ।
मापदण्ड जारी भएको डेढ वर्ष भइसक्दा पनि सदस्यता विस्तार गर्न नसकेको सहकारी विभागको भनाइ छ । मापदण्डअनुसार सदस्यता विस्तार नगरेमा खारेज हुनेसम्म व्यवस्था रहेकाले उनीहरू सदस्यता विस्तारमा लागेका हुन् । सदस्य विस्तारमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौंले सूचना जारी गरी सदस्यता आव्हान गरेको छ । सूचना अभावका कारण सदस्यता कम भन्दै सूचना जारी गरेको संघको भनाइ छ । काठमाडौंमा करिब चार हजार प्रारम्भिक सहकारी दर्ता भएको भए पनि जिल्ला संघमा करिब दुई सय मात्र सदस्यता लिएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा हाल ४२ वटा जिल्ला संघ र एक हजार दुई सय प्रारम्भिक सहकारी संस्था गरी करिब एक हजार तीन सय मात्र सदस्य छन् । देशभर बचत तथा ऋणको कारोबार गर्ने सहकारी १२ हजारभन्दा बढी रहेको छ ।
विषयगत जिल्ला संघमा समान प्रकृतिका प्रारम्भिक सहकारी संस्थामध्येबाट कम्तीमा २५ प्रतिशत र जिल्ला सहकारी संघमा सम्बन्धित जिल्लामा दर्ता भएका सबै प्रारम्भिक संस्थामध्ये कम्तीमा २० प्रतिशतभन्दा कम सदस्य भएका संघहरू खारेज गरी अर्को संघ गठन प्रक्रिया अघि बढाउने काम सम्बन्धित कार्यालयले गर्नसक्ने मापदण्डले भनेको छ । नयाँ दर्ता हुने संघ/संस्थाले प्रारम्भिक साधारणसभा सम्पन्न भएको मितिले ६ महिनाभित्र र विगतमा दर्ता भई सञ्चालनमा रहेका सहकारी संघ संस्थाले मापदण्ड जारी भएपछि हुने साधारणसभा सम्पन्न भएको मितिले ६ महिनाभित्र सहकारी ऐन ०४८ को दफा ३ मा उल्लेखित संघमा सदस्यता लिन आवेदन पेस गर्नुपर्ने व्यवस्था मापदण्डमा रहेको छ ।
‘जिल्लाभित्र रहेका सञ्चालनमा रहेका कुल संस्थामध्ये कम्तीमा २० प्रतिशतले सदस्यता नलिएका जिल्ला सहकारी संघलाई पनि निस्क्रिय संघका रूपमा अभिलेख राखिनेछ ।’ ‘सहकारी ऐन तथा मापदण्डले जिल्लाका २५ वटा सहकारीले जिल्ला संघ, विषयगत संघ र केन्द्रमा केन्द्रीय संघ तथा राष्ट्रिय संघ गठन गर्न सकिने व्यवस्था गरिएको छ ।’ जसअनुसार सदस्यता विस्तार नगर्दा कतिपय संघको दर्ता खारेज हुने अवस्थामा पुगेका छन् ।
नेफ्स्कुनले २५औँ वर्षमा प्रवेश गरेका अवसरमा भदौभर आफ्नो संस्थामा आबद्ध हुने सहकारी संघ/संस्थालाई सदस्यता शुल्क मिनाहा गर्ने घोषणासमेत गरेको संघले जनाएको छ । ‘सदस्य विस्तारका लागि सूचना तथा सदस्य शुल्क मिनाह गरेको हौँ,’ नेफ्स्कुन अध्यक्ष मीनराज कँडेलले भने, ‘यस अवधिमा उल्लेख्य रूपमा प्रारम्भिक सहकारी आबद्ध भएका छन् ।’ अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने अभियानमा सदस्यता विस्तार पनि रहेको नेफ्स्कुनले जनाएको छ ।
‘सबै सहकारीलाई संघमा आबद्ध हुनुपर्छ भन्ने थाह नहुन सक्छ,’ जिल्ला सहकारी संघका अध्यक्ष केवी उप्रेतीले भने, ‘त्यसैले सूचना जारी गरी सदस्यता विस्तार गर्न लागेका हौँ ।’ सूचना जारी गरेपछि सदस्यता लिने संख्या बढेको उनको भनाइ छ । ‘हाल करिब दुई सय सहकारी सदस्य बनेका छन्,’ उनले भने, ‘यस वर्षमा करिब दुई हजार सदस्य बनाउने हाम्रो योजना छ ।’ शिक्षा र सूचनाको कमीले पनि सदस्यता विस्तारमा कमी आएको उप्रेतीको भनाइ छ । देशभर दुई सय २५ वटा जिल्ला संघ, १४ वटा केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघ रहेका छन् ।

प्रतिक्रिया