दक्षिण अफ्रिकी सेना ‘हाइ एलर्ट’मा

जोहनसबर्ग : दक्षिण अफ्रिकाका सैन्य बेसलाई ‘हाइ एलर्ट’ अवस्थामा राखिएको छ । सन् १९९४ मा प्रजातन्त्र पुन:स्थापना भएयता राष्ट्रिय सेनालाई ‘हाइ एलर्ट’ अवस्थामा राखिएको यो पहिलोपटक हो । दक्षिण अफ्रिकाका ‘सन्काहा’ राजनीतिज्ञको छवि बनाएका नेता जुलियस मलेमाले जोसहनबर्ग छेउमा जम्मा भएका असन्तुष्ट सैनिकलाई सम्बोधन गर्ने भएपछि सैन्य बेसलाई ‘हाइ एलर्ट’ राखिएको हो ।
दक्षिण अफ्रिकी सरकारले नेता मलेमाले असन्तुष्ट सैनिकलाई राज्यविरुद्ध परिचालन गर्न खोजेको आरोप लगाएका छन् । हडतालाम उत्रिएका मजदुरलाई प्रहरीले गोली प्रहार गरी हत्या गरेपछि राष्ट्रपति जाकोब जुमाको राजीनामा माग गर्दै आयोजना गरेका दर्जनौँ र्‍यालीलाई नेता मलेमाले सम्बोधन गरिसकेका छन् । यस विषयलाई लिएर सेनाबीच पनि ध्रुवीकरणको संकेत देखिएपछि मलेमाले सरकारप्रति असन्तुष्ट सैनिकलाई सम्बोधन गर्न लागेका हुन् । प्रतिरक्षा मन्त्रालयका प्रवक्ता सन्वाबो बनन्गाले सैनिक बेसलाई ‘हाइ एलर्ट’मा राखिएको र सशस्त्र बलको गतिविधिप्रति निगरानी बढाइएको जानकारी दिएका छन् ।
नेता मलेमा सत्तारूढ अफ्रिकन नेसनल कंग्रेसबाट गत अप्रिलमा बर्खास्त गरिएका थिए । उनीमाथि लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान जारी छ ।
आर्थिक क्रान्ति माग गर्दै खानीमा काम गर्ने मजदुरले गत महिना हडताल गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपमा परी ३४ मजदुरको मृत्यु भएपछि नेता मलेमाले गरिबी जनताको सहानुभूतिमा टेकेर मुलुकमा राजनीतिक परिवर्तन ल्याउन खोजिरहेका छन् ।
मलेमाका प्रवक्ता फ्लोद सिभम्बुले जोहनसबर्गमा रहेको सैन्य बेसछेउमा उनले सैनिकसँग भेट्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् । ‘सैनिकहरूको आग्रहपछि सम्बोधन गर्ने तय भएको हो,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया