कौमायालाई सहयोग जुट्दै

काठमाडौं, २८ भदौ । लामो समयदेखि मुटुको समस्याबाट पीडित २२ वर्षीया कौमाया तामाङको उपचारका लागि काठमाडौ ज्ञानेश्वर निवासी जीवनकृष्ण राय र विजयकुमार सैनीले ६१ हजार रुपियाँ प्रदान गरेका छन् ।

काठमाडौंको मेरो एफएमसहित देशका विभिन्न स्टेसनमा प्रसारणमा रहेको रेडियो कार्यक्रम ‘सहयोगी हातहरू’ मार्फत तामाङका बारेमा सामग्री प्रसारण भएपछि सहयोग जुटेको हो ।
राय र सैनीले बुधबार रेडियो स्टेसन पुगेर कौमायाका पति दलबहादुर गोलेलाई रकम हस्तान्तरण गरेका हुन् । गलैँचा कारखानामा काम गर्दै आएकी कौमायाको मुटुको दुइवटै भल्ब फेर्नुपर्ने भएपछि रकमको अभावमा जीवन संकटमा परेको छ । यसअघि उनको सहयोगका लागि रेडियो स्टेसनले ५५ हजार रुपियाँ संकलन गरिसकेको छ ।
मुटुको भल्बसहित गंगालाल अस्पतालले नि:शुल्क उपचार उपलब्ध गराउने भएपछि शल्यक्रिया तथा औषधि खर्चबापत करिब एक लाख ५० हजार रुपियाँ लाग्ने बताइएको छ ।

प्रतिक्रिया