नेप्सेको गल्तीले लगानीकर्ता मारमा

काठमाडौं, २७ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को लापरबाहीका कारण प्रभु फाइनन्सका लगानीकर्ता सोमबार नोक्सानीमा परेका छन् । सोमबार नेप्सेले प्रभु फाइनान्सले घोषणा गरेको बोनस सेयरको सट्टा नगद लाभांंश घोषणा गरेको थियो । हरेक वर्ष बोनस सेयर दिइरहेको कम्पनीले नगद लाभांश घोषणा गरेको सूचना आएपछि प्रभु फाइनान्सको सेयर एकाएक घट्न थाल्यो । सूचना राखेको डेढ घन्टा जति पछि पुन: सो सूचना सच्याएर १७ प्रतिशत बोनस सेयर घोषणा गरेको सूचना सार्वजनिक गरियो । पुन: एकाएक प्रभु फाइनान्सको सेयर मूल्य बढ्यो । एकाएक पहिला नगद लांभांश र पछि सच्याएर बोनस सेयर जारी गर्ने सूचना जारी गरेपछि प्रभुको सेयर बेच्ने लगानीकर्ता नोक्सानीमा परेका छन् ।
नेप्सेको ७ नम्बर सेयर दलालबाट कारोबार गरेका रामचन्द्र पौडेलले हरेक वर्ष बोनस दिइरहेको प्रभुले चालु वर्ष पनि दिने आशामा सेयर किने पनि नगद लाभांश घोषणा भएपछि बेचेको बताए । ‘पछि बोनस सेयर घोषणा गरेको सूचना आएपछि पुन: किने,’ उनले भने । आधिकारिक निकायबाटै यसरी गलत सूचना आउँदा लगानीकर्तालाई चर्को मार परेको उनले बताए । ‘कम मूल्यको सेयर हुँदा त्यति धेरै नोक्सानी नभए पनि उच्चमूल्यको स्टयान्डर्ड चार्टर्ड र नबिलको सेयरमा यस्तो लापरबाही भएको भए के हुन्थ्यो ?,’ उनले प्रतिप्रश्न गरे ।
नेप्सेका एक अधिकारीका अनुसार बोनस सेयर हुनुपर्ने ठाउँमा नगद लाभांशको सूचना प्रकाशित भएपछि तुरुन्तै हटाइएको बताए । नेप्सेकै कारण प्रभु फाइनान्सको सेयर उच्च दरमा घटने र बढ्ने भएपछि मंगलबार भने कम्पनीको कारोबार स्थगित गरिएको छ । ती अधिकारीका अनुसार महाप्रबन्धक शंकरमान सिंह बिदामा रहेका कारण सोमबार भएको कारोबार के गर्ने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन ।
सेयर विश्लेषक रवीन्द्र भट्टराईले भने गलत सूचना प्रसारण गर्ने नेप्सेले लगानीकर्तालाई घाटाको क्षतिपूर्ति दिनुपर्ने बताए । ‘फेसबुकको सेयर नास्दाकमा आधा घन्टा ढिलो कारोबार हुँदा करोडौँ डलर क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो । नेप्सेले पनि लगानीकर्तालाई क्षतिपूर्ति दिनैपर्छ,’ उनले भने । सोमबार प्रभुको ७१ कारोबारबाट १६ लाख ७ हजार बराबर १० हजार पाँच सय पाँच कित्ता सेयर खरिदबिक्री भएको थियो । फाइनान्सको पहिलो कारोबार एक सय ५१ प्रतिकित्तामा भए पनि बीचमा घटेर एक सय ४६ र अन्तिममा एक सय ६० मा कारोबार भएको थियो । नेप्सेले सूचना दिँदा गल्ती गरेपछि बिक्री नगर्ने लगानीकर्ताले सेयर बिक्री गरे भने नगद लाभांश भनेर सेयर किनेका लगानीकर्ताले सोचेभन्दा धेरै फाइदा कमाएका छन् ।
सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सचेत गराउनुपर्ने आवाज लगानीकर्ताले उठाएका छन् । नेप्सेको गल्तीको विषयमा बोर्डको प्रतिक्रिया माग्न खोज्दा बोर्डका अधिकारी उपलब्ध हुने सकेन । ‘नेप्सेले कहिले सफ्टवेयर ह्याङ भएको बहानामा कारोबार रोक्का गर्छ त कहिले गलत सूचना प्रवाह गर्छ, नेप्सेलाई नियामक निकाय धितोपत्र बोर्डले नसिहत दिनुपर्ने भट्टराई बताउँछन् ।

प्रतिक्रिया